लक्ष्मी सनराइज बैंक : नम्बरको दौडमा नलाग्ने, सस्टेनेबल ग्रोथमा जोड
काठमाडौं । लक्ष्मी सनराइज बैंकसँग नेपालको कर्पोरेट इतिहासमा पहिलोपटक एचआईएसईएफ फाइनान्सलाई सफलतापूर्वक गाभेको अनुभव छ । वि.सं. २०५८ चैत ८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको बैंकले चैत १९ गतेदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको थियो । १६औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले दोस्रो वर्षमै एचआईएसईएफ फाइनान्सलाई गाभेको थियो । त्यसपछि बैंकले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरी वि.सं. २०७३ माघ २ गते एकीकृत कारोबार सुरु गरेको थियो । पछिल्लो पटक सनराइज बैंकसँग मर्ज भई वि.सं. २०८० असार २४ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो । विभिन्न उतार-चढाव पार गर्दै लक्ष्मी सनराइज बैंकले आज २४औँ वार्षिकोत्सव मनाइरहेको छ । व्यावसायिकता र सेवामा आधारित सफल वाणिज्य बैंकका रूपमा आफूलाई स्थापित गर्दै आएको बैंकले ग्राहककेन्द्रित सेवा र सरल बैंकिङ प्रणालीमार्फत पृथक् पहिचान बनाउन सफल भएको छ । हाल बैंकको अध्यक्षका रूपमा रमण नेपाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा अजय विक्रम शाहले नेतृत्व गरिरहेका छन् । हाल बैंकको ५९ जिल्लामा २५४ शाखा, २८ एक्सटेन्सन काउन्टर, १३१ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ९ बिलिङ काउन्टर सञ्चालनमा छन् । सेवा विस्तार र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । साथै, ३२८ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार २५ लाख निक्षेप ग्राहक रहेका छन् । संघीय संरचनाअनुसार सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्ने सरकारी नीतिअनुसार बैंकले ३६ स्थानीय तहमा शाखा सञ्चालन गरी स्थानीय सरकारको बैंकिङ कारोबार गर्दै आएको छ । यसले ग्रामीण विकास तथा सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याएको छ । वित्तीय समावेशितालाई प्राथमिकता दिँदै बैंकले विपन्न वर्ग लक्षित कर्जा विस्तारका लागि समावेशी वित्त तथा कृषि सेवा इकाई सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कूल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्थाअनुसार बैंकले २०८२ असार मसान्तसम्म ५.०८ प्रतिशत र २०८२ असोज मसान्तसम्म ५.१० प्रतिशत कर्जा प्रवाह गरेको जनाएको छ । यस्तै, कृषि, ऊर्जा तथा लघु, घरेलु एवं साना उद्योग क्षेत्रमा कर्जा प्रवाह गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने सरकारी नीतिमा बैंकले सहयोग गरिरहेको छ । २०८२ असार मसान्तसम्म यी क्षेत्रमा बैंकको कर्जा प्रवाह २९.६५ प्रतिशत पुगेको छ, जुन तोकिएको न्यूनतम सीमाभन्दा माथि हो । बैंकको पूर्ण स्वामित्वमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र सनराइज सेक्युरिटिज लिमिटेड सञ्चालनमा छन् भने ७० प्रतिशत स्वामित्व रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंकको कुल सम्पत्ति ४ खर्ब ६२ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकले ३ खर्ब ८९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २ हजार ८०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकका कम्पनी सचिव तथा चिफ फाइनान्स अफिसर पियुसराज अर्यालले बैंकको समग्र अवस्था सुदृढ रहेको बताए । क्यापिटल एडेक्वेसी, लिक्विडिटी लगायत सूचकहरूमा बैंक बलियो रहेको उनको भनाइ छ । अर्यालका अनुसार विगतको तुलनामा खराब कर्जा बढ्नु स्वाभाविक भए पनि त्यसलाई क्रमशः सुधार गर्ने प्रयास भइरहेको छ । ‘खराब कर्जा घटाउन ठूलै योजना आवश्यक पर्दैन, हामी ‘वन टु वन’ आधारमा कर्जाका फाइलहरूको अध्ययन गर्दै हरेक खातालाई व्यवस्थापन गरिरहेका छौं,’ उनले भने । उनले कर्जाको प्रकृति र धितोका आधारमा जोखिम फरक हुने उल्लेख गर्दै घरजग्गा धितो भएका कर्जामा हालको बजारस्थितिका कारण लिक्विडिटीको प्रभाव देखिएको बताए । ‘अहिले घरजग्गा बजारमा तरलता कम छ । बजारमा सुधार आएसँगै रिकभरी पनि तीव्र हुने अपेक्षा छ,’ उनले भने । उनका अनुसार धेरै बैंकहरूमा गैर–बैंकिङ सम्पत्ति बढ्दो क्रममा रहेको छ । तर, ती सम्पत्ति अझै पूर्ण रूपमा तरल भइसकेका छैनन् । समग्र अर्थतन्त्रको अवस्थाले बैंकिङ क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने उनले बताए । ‘समग्र बैंकिङ क्षेत्रमा खराब कर्जाको अवस्था उच्च देखिए पनि हाम्रो बैंकमा भने अवस्था सामान्य छ,’ उनले भने, ‘तेस्रो त्रैमासमा थप सुधार हुने अपेक्षा गरेका छौं ।’ यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही विशेष कारणले बैंक घाटामा गए पनि चैतसम्म सुधार गर्नेगरी काम भइरहेको उनले जानकारी दिए । ‘प्रोभिजनिङ बढेका कारण दोस्रो त्रैमासमा घाटा देखिएको हो,’ उनले स्पष्ट पारे । बैंकका अध्यक्ष रमण नेपालले बैंक सन्तोषजनक रूपमा सञ्चालन भइरहेको बताए् । बजारको बदलिँदो परिस्थितिमा अनिश्चितता रहे पनि बैंकले सन्तुलित र दिगो रणनीतिका साथ अघि बढिरहेको उनको भनाइ छ । ‘हामी एक नम्बर वा दुई नम्बरको दौडमा लाग्दैनौँ,’ उनले भने, ‘हाम्रो प्राथमिकता गुणस्तरीय व्यवसाय र गुणस्तरीय सेवा दिनु हो ।’ उनका अनुसार बैंकले आक्रामक विस्तारभन्दा दिगो वृद्धि (सस्टेनेबल ग्रोथ) लाई प्राथमिकता दिएको छ । ‘ग्रोथ नगर्ने भन्ने होइन, तर गुणस्तरीयता कायम गर्दै सन्तुलित रूपमा अघि बढिरहेका छौं,’ उनले स्पष्ट पारे । अध्यक्ष नेपालले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रही दीर्घकालीन वृद्धि कायम गर्ने रणनीति लिएको बताए । साथै, सरकारले ल्याएका नीतिहरू कार्यान्वयन गर्दै ग्रीन फाइनान्सिङमा पनि बैंकले जोड दिएको उनले जानकारी दिए । ‘जोखिम धेरै नलिई सन्तुलित रूपमा अघि बढ्ने हाम्रो नीति हो,’ उनले भने । लाभांशका विषयमा उनले गत वर्षको नाफाबाट १० प्रतिशत वितरण गरिएको उल्लेख गर्दै चालु वर्षमा पनि नेपाल राष्ट्र बैंकको नीतिअनुसार प्रोभिजनिङ गरेर बाँकी नाफाबाट लाभांश वितरण गरिने बताए । ‘कति दिने भन्ने विषय भने पछि टुंगिन्छ, अवस्था अनुसार केही तलमाथि हुन सक्छ,’ उनले भने । ऋणी व्यवस्थापनका विषयमा उनले बैंकले संवेदनशील दृष्टिकोण अपनाउने गरेको बताए । उनका अनुसार बैंकले ग्राहकलाई अनावश्यक दबाब दिनेभन्दा समाधानमुखी ढंगले काम गर्ने नीति अपनाएको छ । ‘ऋणी समस्यामा परेमा सिधै कडा कदम चाल्नेभन्दा पहिला ग्राहकलाई संरक्षण गर्ने पक्षमा सोचिन्छ । परिस्थिति हेरेर मात्रै थप कदम चालिन्छ,’ उनले भने, ‘हामी क्लाइन्ट सर्भिसमा बढी केन्द्रित छौं । अनावश्यक खर्च नियन्त्रण गर्नु नै नाफा बढाउनु हो ।’
रुसी सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु
काठमाडौं । रुसको रक्षा मन्त्रालयले क्राइमियामा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीका अनुसार प्राविधिक खराबीका कारण ‘एएन–२६’ विमान पहाडमा ठोक्किएको थियो । विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्री सवार रहेका थिए, जसमध्ये कोही पनि जीवित बचेनन् । स्थानीय समयअनुसार मंगलबार बेलुका ६ बजे विमानसँगको सम्पर्क टुटेपछि खोज तथा उद्धार कार्य सुरु गरिएको थियो, जस क्रममा विमानको भग्नावशेष फेला परेको हो । सन् १९६० को दशकको अन्त्यतिरदेखि प्रयोगमा आएका यी एएन-२६ विमानहरू यसअघि पनि धेरै पटक घातक दुर्घटनामा परेका छन् । यसअघि सन् २०२० मा युक्रेनको खार्किभमा भएको विमान दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने सन् २०२१ मा रुसको सुदूर पूर्वी क्षेत्रमा भएको अर्को दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।
सुहाङ नेम्वाङले भने : संसदीय दलको नेता म बन्नुपर्छ
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता आफू बन्नुपर्ने धारणा राखेका छन् । एमालेको संसदीय दलको बैठकमा उनले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गर्दै आफू नेता बन्नुपर्ने धारणा राखेका हुन् । केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले निर्वाचनको विधिबाट दलको नेता चयन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयन गर्ने प्रस्तावमा छलफल भइरहेको छ । बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत पार्टीका पदाधिकारीहरु सहभागी छन् ।
बालेन सरकार आएपछि लचक बन्यो अमेरिका, ट्राभल एड्भाइजरी’मा कटौती
काठमाडौं । नेपालको सुरक्षा अवस्थामा आएको सकारात्मक सुधारलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि प्रदान गर्दै आएको आफ्नो यात्रा परामर्श (ट्राभल एड्भाइजरी) को स्तरमा कटौती गरेको छ । मन्त्रालयले नेपालको विद्यमान सुरक्षा व्यवस्था पहिलेभन्दा सुदृढ र सुरक्षित भएको निष्कर्ष निकाल्दै जोखिमको स्तरलाई घटाएर ‘स्तर २’ मा झारेको हो । अमेरिकी सरकारको यो निर्णयले नेपालमा शान्ति सुरक्षाको स्थिति राम्रो रहेको र विदेशी पर्यटकका लागि वातावरण अनुकूल बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गरेको छ । यद्यपि स्तर २ मा झारिए पनि अमेरिकी नागरिकहरूलाई नेपाल भ्रमणका क्रममा सामान्य सतर्कता भने अपनाउन भनिएको छ । अमेरिकाको यस कदमले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र आगामी दिनमा अमेरिकी पर्यटकहरूको आगमनमा वृद्धि हुने विश्वास लिइएको छ ।
टीभीएसले ल्यायो नयाँ वर्ष अफर, ५ वर्षसम्म पेट्रोल फ्री र ५ लाखसम्मको छुट
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८३ को अवसरमा ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा नामक आकर्षक उत्सव योजना सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले दैनिक रूपमा विशेष उपहार र नगद लाभ प्राप्त गर्न सक्नेछन् । योजनाको मुख्य आकर्षणका रूपमा प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले ५ वर्षसम्मका लागि निःशुल्क पेट्रोल जित्ने मौका पाउनेछन् । यसका साथै ग्राहकले खरिदमा दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको नगद छुट समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकको सहजता र सुलभतालाई ध्यानमा राख्दै कम्पनीले स्वामित्व अनुभवलाई अझ सरल बनाउन न्यूनतम २ हजार ९६७ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । यो योजना नगद खरिद, एक्सचेन्ज र फाइनान्स गरी तीनै माध्यमबाट लिने ग्राहकहरूका लागि लागू हुनेछ । एक्सचेन्जको हकमा कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरमा उत्कृष्ट मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता समेत जगदम्बा मोटर्सले व्यक्त गरेको छ । नयाँ वर्षको यस विशेष अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र उपाध्यक्ष दिपक रौनियारले ग्राहकहरूलाई दीर्घकालीन सन्तुष्टि र सुलभ यात्राको अनुभूति गराउन यो योजना ल्याइएको बताए ।
नेपाल बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ सम्पन्न
काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले विश्वभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिने अन्तर्राष्ट्रिय अभियान ‘ग्लोबल मनी वीक २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ बैंकले सातै प्रदेशका आफ्ना शाखाहरूमार्फत यो सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको हो । यस विशेष सप्ताहअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजना सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यस अभियानका क्रममा बैंकले स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू र बैंकिङ सेवाबारे जनचेतना कार्यक्रमहरू आयोजना गरेको थियो । कार्यक्रमको मुख्य गतिविधिहरूमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता सम्बन्धी विशेष कार्यक्रमहरू समावेश थिए । यसका साथै प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता र प्यानल डिस्कसन जस्ता विविध कार्यक्रमहरूले समुदायमा वित्तीय सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नेपाल बैंक लिमिटेडले आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरताका अभियानहरूलाई निरन्तरता दिँदै आम नागरिकको वित्तीय सचेतनाको क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
फोटोन मोटर्सको नयाँ शोरुम इटहरीमा
काठमाडौं । फोटोन मोटर्स नेपालले इटहरीमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ। प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीस्थित यो नयाँ शोरुमले सुनसरी, मोरङ तथा आसपासका जिल्लाका ग्राहकहरूलाई सेवा प्रदान गर्ने जनाइएको छ। यो विस्तार कम्पनीको नेपालभर आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने र पूर्वी क्षेत्रका ग्राहकहरूसम्म आफ्ना उत्पादन तथा सेवाहरू सहज रूपमा पुर्याउने निरन्तर प्रयासको एक हिस्सा हो । फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि हो । नयाँ शोरुमलाई पूर्ण थ्रीएस सुविधासहित डिजाइन गरिएको छ, जसबाट ग्राहकहरूले एकै स्थानमा सेल्स, आफ्टर सेल्स सर्भिस तथा जेनुइन स्पेयर पाट्र्स सजिलै प्राप्त गर्न सक्नेछन् । शोरुम उद्घाटनसँगै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले विशेष ‘कस्टमर मिट कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा हालका तथा सम्भावित फोटोन ग्राहकहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू राखेका थिए । देशभर १६६ भन्दा बढी स्थानमा सीसीएसटु टाइप डीसी फास्ट चार्जिङ नेटवर्क विस्तार भइसकेको छ र यो विस्तार अझै जारी छ । यसले इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई थप सहज र भरपर्दो बनाउँदै रेन्ज सम्बन्धी चिन्ता घटाउने र देशव्यापी पहुँच वृद्धि गर्ने अपेक्षा गरिएको छ । एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो।
ललितपुर जिल्ला अदालतले खाजा खाने समयमा सेवा दिने
काठमाडौं । ललितपुर जिल्ला अदालतमा खाजा खाने समयमा सेवाग्राहीले सेवा पाउने भएका छन् । अदालतले सूचना जारी गर्दै अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो । ‘कर्मचारीहरूको लागि दिउँसोको खाजा समय प्रत्येक आइतबारदेखि बिहिबारसम्म १: ३० बजेदेखि २ : ३० सम्म र शुक्रबारका दिन १ देखि २ बजेसम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेको छ,’ सूचनामा उल्लेख छ ।