विदेशमा रहेका ४२ हजार ९ सय नेपालीले पाए सोपानको सेयर, सर्वसाधारणलाई वैशाख २ गतेदेखि बिक्री गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि चैत १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर जारी गरेको थियो । कम्पनीले उक्त सेयर चैत १७ गतेका दिन बाँडफाँट गरेको जनाएको छ । रितपूर्वक आवेदन दिने ४२ हजार ९ सय जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।
भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, विद्युत २.३ प्रतिशत
काठमाडौं । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत्रमा ६ प्रतिशत वृद्धि भएको छ, जसले उद्योग तथा कारखानाहरूमा उत्पादन विस्तार भइरहेको देखाउँछ । त्यसैगरी, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि कच्चा पदार्थको उपलब्धता र ऊर्जा स्रोतको उत्पादनसँग सम्बन्धित रहेको मानिन्छ । विद्युत् उत्पादन क्षेत्रमा पनि २.३ प्रतिशत वृद्धि देखिएको छ, जसले औद्योगिक तथा घरेलु ऊर्जाको माग बढ्दै गएको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार औद्योगिक उत्पादनमा आएको यो समग्र वृद्धि भारतको आर्थिक गतिविधि विस्तारको सकारात्मक सङ्केत हो । उत्पादन क्षेत्रमा सुधार आउनुले रोजगारी सिर्जना, लगानी वृद्धि तथा निर्यात विस्तारमा पनि सहयोग पुर्याउन सक्छ । यद्यपि, केही चुनौतीहरू अझै कायम छन् । कच्चा पदार्थको मूल्य, आपूर्ति शृङ्खला व्यवस्थापन र विश्वव्यापी आर्थिक अवस्थाले भविष्यको औद्योगिक वृद्धिमा प्रभाव पार्न सक्ने बताइएको छ । सरकारले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ । विशेषज्ञहरूले दीर्घकालीन स्थिर वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, प्रविधि प्रयोग र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
काठमाडौं । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार हाल साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढीले वृद्धि भएको हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो । विभिन्न राज्यहरूमा मूल्य फरक-फरक रहेको छ, जसका कारण आपूर्ति, कर दर र स्थानीय अवस्था हुन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो । पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन् । दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर रूपमा चिन्तित रहेका छन् । इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ । डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूमा थप भार परेको छ । विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ । मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ । अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ । युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै, गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५८२ रोपनी क्षेत्रमा शैक्षिक र आवासीय भवन बनाउँदै
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले चन्दननाथ नगरपालिका-३ स्थित चेरेचौर क्षेत्रमा ठूलो शैक्षिक तथा आवासीय भवन निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अनुसार करिब ५८२ रोपनी (२ लाख ९६ हजार ७८ वर्गमिटर) क्षेत्रफलमा फैलिने परियोजना अन्तर्गत करिब १६ हजार ७३९.६९ वर्गमिटर भुइँ क्षेत्रफल ओगट्ने विभिन्न संरचनाहरू निर्माण गरिनेछ । प्रस्तावित संरचनामा प्रशासनिक भवन, इन्डोर खेलकुद हल, एनिमल हाउस, आवास गृह, छात्रावास, सङ्ग्रहालय तथा खेल मैदान लगायतका संरचनाहरू समावेश छन् । साथै भवन, पार्किङ स्थल, प्रवेशद्वार तथा बगैँचा निर्माणको योजना पनि रहेको छ । हाल चन्दननाथ नगरपालिका-२ को खोलीकोट क्षेत्रमा प्रतिष्ठानअन्तर्गत ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । नयाँ संरचना निर्माणसँगै स्वास्थ्य तथा शैक्षिक सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ । यस परियोजनाले स्थानीय प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पार्ने सम्भावित प्रभाव मूल्याङ्कन गर्न आवश्यक भएकाले सरोकारवालाबाट सुझाव संकलन प्रक्रिया सुरु गरिएको हो । प्रतिष्ठानले चन्दननाथ नगरपालिका-२ र ३ का स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सम्बन्धित व्यक्ति वा संस्थालाई ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । स्थानीय सहभागितामार्फत वातावरणीय असरलाई न्यून गर्दै दिगो विकास सुनिश्चित गर्ने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ ।
कर्णालीमा हुलाक महत्त्वपूर्ण छ, कुरियरमा रुपान्तरण गरी घरमै सेवा दिन सकिने
काठमाडौं । कर्णाली जस्तो विकट भू-गोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौंद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा/खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले हुलाक सेवालाई परिष्कृत एवं प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने बताए । प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई उपेक्षित गरिएको अवस्थामा नवगठित सरकारले एक सय बुँदे कार्यसूचीमा राखेर नयाँ ढङ्गले अगाडि बढाउने नीति लिएको बताए । उनले चैत १४ गते सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरेको बताए । ‘सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत कागजात/सामग्री घरमै पुर्याउने लक्ष्य राखेकाले यसको उपादेयता बढेको छ,’ प्रशिक्षक आचार्यले भने । उनले कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनै पनि देशले हुलाकको उपादेयतालाई कम हाक्न नसकेको बरु परिष्कृत बनाउँदै लगेको बताए । जापानमा सरकारलाई सबैभन्दा बढी राजस्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाक सेवालाई पनि थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए । ६ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण तथा प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायब सुब्बा र खरिदार तहका कर्मचारीको सहभागिता रहेको छ ।
पुँजी बजारका एजेण्डासहित ढकालको उम्मेदवारी घोषणा, नीतिगत सुधारका लागि पैरवी गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष ढकालले वस्तुगततर्फको उपाध्यक्ष नरेश लाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायी मैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफूले वस्तुगततर्फको सदस्य पदमा उम्मेदवारी दिएको बताए । ‘अहिले विभिन्न वस्तुगत सदस्यहरूको थुप्रै कानूनी तथा व्यवहारिक समस्या रहेको छ,’ उम्मेदवारी घोषणासँगै उनले भने, ‘महासंघ भित्र रहेर वस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’ नेपालको पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउन आफूले पहलकदमी लिने समेत उनले जानकारी दिए । ‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजार मात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ।’ करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजी बजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । यसैगरी उनले धितोपत्र ऐन २०६३ र यस अन्तर्गतको नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने उनको भनाई छ । यस्तै नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग विशेष समन्वय गरिएको समेत उनको भनाई छ । साथै कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरूबीच पुलको रूपमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए । साना तथा मझौला व्यवसायहरूलाई पुँजी जुटाउन सहज मार्ग प्रशस्त गर्न एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने समेत उनले बताए । साथै अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैर-आवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पुँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई दबाब दिइने समेत उनको उद्घोष छ ।
५६.८० करोड लागतमा बबई लिफ्टिङ आयोजना, आएन डिपबोरिङमा पानी
काठमाडौं । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गर्नुपर्ने थियो । योजनाअनुसार पानी आएन । एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा २ लिटर प्रतिसेकेन्ड पानी नआएपछि ती स्थानका डिपबोरिङ अन्यत्र सारिएका छन् । पढ्ढामा ३ र बबई नदीको किनारमा २ डिपबोरिङ स्थानान्तरण गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताए । ‘हामीलाई १० लिटर प्रतिसेकेन्ड भन्दा बढी पानी चाहिने हो । तर डिजाइन अनुसारका बोरिङमा २ लिटर प्रति सेकेन्डसम्म नआउने भयो । त्यसैले हामीले पढ्ढा र बबइ नदीमा डिपबोरिङ खन्यौँ,’ उनले भने । अबको केही समयमा त्यहाँको पानी तुलसीपुर ल्याउन तयारी छ । बबईमा डिपबोरिङ खनेसँगै डिजाइन परिवर्तन गरी पम्पिङबाट पानी ल्याउनुपर्ने छ । त्यसका लागि अहिले पम्प खरिद गरेर ल्याउँदा करिब ३/४ महिना लाग्न सक्ने उनको भनाइ छ । त्यहाँबाट ९० लिटर प्रति सेकेन्डभन्दा बढी पानी ल्याउने तयारी छ । ३ सम्वेलनसहितबाट बबईको पानी तुलसीपुर ल्याइने छ । अन्य संरचना तयार भइसकेका छन् । पढ्ढामा निर्माण भएका ३ बोरिङबाट भने नयाँ वर्षभित्रै पानी ल्याउने तयारी रहेको आयोजनाका प्रोजेक्ट म्यानेजर हरेन्द्र भट्टले बताए। जहाबाट २४ लिटर प्रतिसेकेन्ड पानी ल्याउने तयारी छ । त्यहाँबाट ल्याएको पानी डुम्रीगाउँको ट्याङ्कीबाट वितरण गरिनेछ । खानेपानीका पाइप विस्तारको काम लगभग अन्तिम चरणमा छ । रक्षाचौर क्षेत्रमा स्थानीयले विवाद गरेकाले मात्रै त्यहाँ विस्तार हुन सकेको छैन । त्यो बाहेक सबै क्षेत्रमा विस्तार भइसकेको छ । पानी शुद्धीकरणका लागि बबईमा र्यापिड स्यान्ड फिल्टर, डिप बोरिङ भएका स्थानमा मल्टि ग्रेड प्रेसर फिल्टर निर्माण भएका छन् । सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्ने, झुमरेमा ५०० घनमिटर र डुम्रीगाउँमा ६०० घनमेटिरका ट्याङ्की बनेका छन् । शिखर कोलेनीमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की निर्माण भएका छन् । डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण भएका छन् । प्रशारण पाइप लाइन २८.३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाइप १२५.७५२ किलोमिटर रहेको छ । त्यस्तै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस निर्माण भएका छन् । एक वर्षअघि सक्नुपर्ने उक्त आयोजनाको काम पूरा नभएपछि पुनः २०८३ असारसम्म म्याद थप गरी काम अगाडि बढाइएको थियो । तुलसीपुर खानेपानीका अहिलेसम्म १० हजार बढी धारा रहेका छन् । अहिले खानेपानीको हाहाकार हुनेगर्छ । पानी पुर्याउनै समस्या हुने गर्छ । त्यसले गर्दा बबईको पानी आएमा त्यो समस्या हल हुने संस्थाका कोषाध्यक्ष थापाले बताए । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी ८ वटा ग्राभेटी मुहान छन् । कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । ५६ करोड ८० लाख २४ हजार ६३० रुपैयाँ लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो । यसमा सरकारले ३८ करोड ८३ लाख रुपैयाँ र उपभोक्ताको १७ करोड ७ लाख रुपैयाँ लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख रुपैयाँ ऋण लिएको र बाँकी २ करोड ८४ लाख रुपैयाँ उपभोक्ताले तिरेका छन् ।
कालिका भगवतीमा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन, एकै दिन साढे १० लाख रूपैयाँ
काठमाडौं । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्षको भेटी ५ लाख रुपैयाँले कमी आएको हो । गत वर्षको चैते दसैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यसवर्ष आएका ७ लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते १ लाख १७ हजार रुपैयाँ, चैत ६ गते १ लाख ५३ हजार रुपैयाँ, चैत ७ गते ४ लाख ३८ हजार रुपैयाँ, चैत ८ गते १ लाख ७० हजार रुपैयाँ, चैत ९ गते १ लाख ७१ हजार रुपैयाँ र चैत १० गते ४ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो । यस्तै चैत ११ गते ३ लाख रुपैयाँ, चैते दसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन ४ लाख ८० हजार रुपैयाँ र दशमीको दिन ३ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ । ‘चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरै भेटी सङ्कलन भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष ५ लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो,’ अध्यक्ष खड्काले भने, ‘अष्टमीमा एकै दिन ४ लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे पर्यो ।’ बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । वि.सं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।