विकासन्युज

पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा हुने, कुन प्रदेशको कस्तो छ मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा आंशिक बदली भएको छ । गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहने छ भने पहाडी तथा तराई भू-भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही  तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू-भागमा आंशिक बदली हुनेछ । पहाडी तथा तराई भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना  छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही  तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी स्थितिबारे जानकारी लिन  तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

हवाई इन्धनमा उच्च मूल्यवृद्धि, पेट्रोल डिजेलमा यथावत

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाइको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन । यो नयाँ मूल्य समायोजन बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । यद्यपि  आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा ५ अर्ब  रुपैयाँ घाटा भएको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ ।   

पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि ओली चिकित्सकको निगरानीमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहेका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए ।  उनका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको हो । प्रवक्ता डा. सेढाईंले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताए । अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।   

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौं ।  प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो ।  घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।   

रोशी खोलाको बाढी जोखिमले बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द

काठमाडौं । बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे-नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो ।  सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो । शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा-नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

पोखरामा मध्यराति ‘ट्रान्स पार्टी’मा छापा: लागूऔषधसहित ३८ जना नियन्त्रणमा

पोखरा । पोखरामा सञ्चालन भइरहेको एक ‘ट्रान्स पार्टी’मा प्रहरीले मध्यराति छापा मार्दै विदेशी नागरिकसहित ३८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार (आज) राति करिब १:३० बजे पोखरा महानगरपालिका-१८ स्थित एक स्थानमा गोप्य सूचनाको आधारमा छापा मारिएको हो ।  उक्त पार्टी बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छापाका क्रममा ८ जनाको साथबाट एमडीएमए, चरेशजस्तो देखिने पदार्थ, कोकिन, बरफ (एम्फेटामिन), म्याजिक मशरूम, एलएसडीलगायतका विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले लागूऔषध मुद्दामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ भने ४ जनामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको छ । अन्य २६ जनालाई भने सोधपुछपछि आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरूमा ब्राजिल, भारत लगायत विभिन्न देशका नागरिकसमेत रहेका छन्, जसले घटनालाई थप संवेदनशील बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रमा यस्ता अवैध पार्टीहरूको गतिविधि बढ्दै गएको गुनासो आएपछि निगरानी कडा पारिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

काठमाडौं ।  सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ । यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन् । मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।' मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ । अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले दियो प्रभावितलाई १८ करोड मुआब्जा, ९३ अर्बको मेगा आयोजना तीव्र गतिमा

काठमाडौं ।  किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड रुपैयाँ बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको  जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताए । हालसम्म आयोजना प्रभावित क्षेत्रका २६  जना जग्गाधनीले १८ करोड रुपैयाँ मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए । प्रभावित स्थानीयलाई करिब ४५ करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउने छन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो ।  आयोजना निर्माणस्थल क्षेत्रमा साविक भोटखोला-१,३,४ र ६ नम्बर वडामा पर्ने ७०० रोपनी क्षेत्रका १५० घरधुरी प्रभावितले मुआब्जा पाउने छन् । किमाथाङ्का अरुण जलविद्युत् आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडले निर्माणको जिम्मा लिएको छ । भोटखोला-२ चेपुवामा अरुण नदीको पानी ६ किलोमिटर सुरुङ मार्ग निर्माण गरेर विद्युत् गृहस्थल लिङ्गमा लगिने छ । उक्त आयोजनाको लागत करिब ९३ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ । आयोजनाले निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।