विकासन्युज

शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेको आरोप लगाएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार (आज) बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग  महासचिव शंकर पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘हाम्रो पार्टी र जनसंगठनका तर्फबाट भएका विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी उत्तेजित बनाउने सरकारको कामप्रति बैठकले गम्भीर आपत्ति जनाएको छ ।’ यस्तै, सरकार गठनलगत्तै भएको धरपकडले सरकार राज्यआतंकतर्फ उन्मुख भएको बैठकको ठहर छ । सचिवालय बैठकले बुधबार (भोलि) दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । एमालेले विरोध प्रदर्शनका कार्यक्रम पनि तय गरेको छ ।  यी हुन् एमाले सचिवालय बैठकका निर्णय : पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भत्र्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ– १. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने । २. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने । ३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।  ४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने । ५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने । ६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषय समेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने ।  साथै भोलि ९चैत १८० बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने । ७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही लाई जिम्मेवारी दिइयो । ८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । साथै भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने । ९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

अर्थमन्त्री वाग्लेलाई सीएनआईको सुझाव– ‘पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माण गरौं’

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ अर्थतन्त्रका विद्यमान समस्या एवं समाधानका उपायका विषयमा छलफल गरेको हो ।  परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक बृद्धिको अपेक्षा हासिल गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिए । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पूराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट रुपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गरे ।  उनले रोजगारी सिर्जना, उच्च अंकको आर्थिक बृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने सुझाए । उनले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कानुनी रुपमा सम्पत्ति आर्जन गर्नु, पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माणका लागि सरकारले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले बजार माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा पनि जोड दिए ।    उनले परिसंघले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र कसरी १०० अर्ब डलरको बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई उपलब्ध गराउने जानकारी गराए ।  अर्थमन्त्री वाग्लेले ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताए । उनले नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमुलक उद्योगहरूलाई सरकारले फरक रुपमा हेर्ने बताए । लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिने उनले बताए । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने अग्रसर हुने उनले बताए । उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने तर उदारताको नाममा छाडा हुन भने नदिइने बताए । मन्त्री वाग्लेले बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह समेत गरे । अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनहरुका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गरे । सो छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, शशिकान्त अग्रवाल, उपाध्यक्षहरु हेम राज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्यद्धय विदूषी राणा, सन्दीप शारडा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायतले सरकारले आर्थिक सुधार तथा उच्च अंकको आर्थिक बृद्धि हासिल गर्न केन्द्रित गर्नुपर्ने विषयमा सुझाव दिए ।       

वैदेशिक रोजगारमा जाने नेपालीको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा हुने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्न पाउने व्यवस्था गरेको हो । यसअघि निजी क्षेत्रका सीमित संस्थामार्फत मात्रै सेवा उपलब्ध हुँदै आएको थियो ।  मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरेको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ ।  मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनलाई थप व्यवस्थित बनाउन स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया अगाडि बढाएको छ ।

५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ११ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २८५१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको हो । ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन । मंगलबार ३३९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एपीआई पावर कम्पनीको ४० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३७ करोड ८७ करोड, एसवाई प्यानलको ३७ करोड ४६ करोड र कुमारी बैंकको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो, रिडिज लाइन र होटल फोरेस्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।  

नेपाल–दिल्ली हवाई उडान विस्तार, अब हप्तामा १० उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ ।  यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मंगलबारदेखि काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरेको हो । यसभन्दा पहिला काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान हुँदै आएको थियो। अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको हो ।

अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार उनको कार्यकाल चैत १७ गतेदेखि लागू हुनेगरी सुरु भएको छ ।

१६ लाख ३० हजार ठगीको अभियोगमा रिजेन नगरकोटी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।      काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।      अभियुक्तलार्ई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखबीच भेटवार्ता, विपद् पूर्वतयारी र सीमा सुरक्षा मुख्य एजेन्डा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच मंगलबार गृह मन्त्रालयमा छलफल भएको छ ।  उक्त बैठकमा विशेष गरी मनसुनजन्य तथा अन्य सम्भावित विपद् व्यवस्थापन र सीमा सुरक्षाको सुदृढीकरणका विषयमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको थियो । बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।  सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति तय गर्ने, उपलब्ध स्रोत-साधनको समुचित व्यवस्थापन गर्ने र सुरक्षा निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।  नागरिकको जीउधनको रक्षाका लागि प्रतिकार्य योजनालाई चुस्त राख्न गृहमन्त्री गुरुङले निर्देशन दिए । यसैगरी, सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सीमा गस्तीलाई थप कडा बनाउने निर्णय भएको छ । सीमानाकाबाट हुने चोरी-पैठारी र आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन र सम्झौता नगरी कार्यसम्पादन गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।