व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा, सम्पत्ति छानबिनमा लाग्यो सरकार
काठमाडौं । व्यवसायी दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । सम्पत्ति शुद्धीकरण विभागबाट आएको पत्रका आधारमा उनलाई कालोसूचीमा राखिएको अध्यामगनका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए । सरकारले उनको सम्पत्तिमाथि छानबिन सुरु गरेको बुझिएको छ । विगतमा विभिन्न नियुक्ति तथा व्यावसायिट सेटिङमा भट्टको सक्रियता व्यापा थियो । उनले बिचौलिया व्यवसायीको परिचय बनाएका छन् ।
पैदलयात्रीलाई अभद्र व्यवहार गर्ने एमाले कार्यकर्ता बजगाईं पक्राउ
काठमाडौं । पैदलयात्री ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमालेका कार्यकर्ता पक्राउ परेका छन् । आइतबार लगनखेलस्थित सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने ३० वर्षीय रामशरण शर्मा बजगाईंलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १० बाट बजगाईंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनको समूहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए ।
फ्यूचर अफ डिजिटल बैंकिङ : ग्लोबल आइएमई बैंकको दोस्रो ह्याकथनमा आफ्नो कौशल देखाउने मौका
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकथन आयोजना गर्ने भएको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकथन पहिलो संस्करण आयोजना गरेको थियो । कृतिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामि मे महिनाको २९–३१ मा आयोजना गरिने बैंकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूका लागि आवेदन खुल्ला गरिएको छ । प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेवसाइटमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोश्रो संस्करण आयोजना गर्न लागेको हो । ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्न समेत सहयोग पुग्नेछ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ । प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवर्द्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै नवीनतम् अवधारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
कांग्रेसले सातै प्रदेशमा निर्वाचन समीक्षा गर्ने, उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गरिने
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको रणनीति तय गर्न र विगतको निर्वाचनको वस्तुगत मूल्यांकन गर्न सातै प्रदेशमा बृहत समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ । चैत्र १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल र क्षेत्रगत अध्ययन गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने यो अभियानले ‘कांग्रेसको अबको बाटो’ तय गर्ने मुख्य उद्देश्य राखेको छ । नेपाली कांग्रेसले विभिन्न प्रदेशका लागि संयोजक र मितिसमेत तोकिसकेको छ ।
पाठ्यक्रममा ‘विपद् उद्धार’ समेट्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । बालबालिकालाई सानै उमेरदेखि नै जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरिएको छ । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका प्रमुख आइजीपी राजु अर्यालसँगको छलफलको क्रममा यस‍मा आवश्यक तयारी गरी अगाडि बढाउन निर्देशन दिए । मन्त्री गुरुङले शिक्षा मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजनासमेत अघि सारेका छन् । बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ । यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहित आपतकालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गृह मन्त्रालयको छ । सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।
भारतमा ३० लाख कर्मचारीका साथ विश्वकै ठूलो जनगणना सुरु
काठमाडौं । तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ । करिब ३० लाखभन्दा बढी कर्मचारी परिचालन गरिने यस अभ्यासलाई सरकारले ‘राष्ट्रिय महत्त्वको विशाल अभियान’ का रूपमा चित्रण गरेको छ, जसले समावेशी शासन र प्रमाणमा आधारित नीति निर्माणलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक भारत अहिले आधारभूत आवश्यकताहरू बिजुली, खाद्यान्न र आवास—व्यवस्थापनमा बढ्दो चुनौतीसँग जुधिरहेको छ। देशका ठूला महानगरहरू पानी अभाव, वायु तथा पानी प्रदूषण र अत्यधिक भीडभाडयुक्त बस्तीका समस्याले ग्रस्त छन्, जसले जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको महत्त्व झन् बढाएको छ । यसपटकको जनगणनामा सबैभन्दा संवेदनशील मानिएको ‘जात सम्बन्धी विवरण पनि समेटिनेछ । हिन्दू समाजमा हजारौं वर्षदेखि कायम सामाजिक पदानुक्रमका आधारमा मानिसहरूको पेशा र सामाजिक स्थिति निर्धारण हुने भएकाले यस विषयलाई राजनीतिक रूपमा पनि जटिल मानिन्छ । सन् २०११ मा गरिएको जाति सर्वेक्षण सार्वजनिक नगरिएको इतिहास छ भने औपचारिक रूपमा विस्तृत जातीय तथ्याङ्क अन्तिम पटक सन् १९३१ मा ब्रिटिस शासनकालमा सङ्कलन गरिएको थियो । लजिस्टिक हिसाबले पनि यो अभियान अत्यन्त चुनौतीपूर्ण रहनेछ । भारतले सन् २०२४ मा सम्पन्न गरेको आम चुनाव नै विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिएको थियो, जुन सात चरणमा छ हप्तासम्म चलेको थियो । त्यसभन्दा पनि व्यापक दायरामा फैलिएको जनगणना दुई चरणमा सञ्चालन गरिनेछ । पहिलो चरण बुधबारदेखि सेप्टेम्बरसम्म चल्नेछ, जसमा घरधुरी, आवासको अवस्था र आधारभूत सुविधाहरूको विवरण सङ्कलन गरिनेछ । यस क्रममा घर–घरमै पुगेर तथ्याङ्क सङ्कलन गरिनेछ भने नागरिकलाई अनलाइनमार्फत स्व–गणना गर्ने विकल्प पनि दिइनेछ । स्याटेलाइट इमेजरीसँग जोडिएको डिजिटल नक्सा प्रणाली र १६ भाषामा उपलब्ध प्रविधिको प्रयोग गरिनेछ । दोस्रो चरणमा भने जनसाङ्ख्यिकीय, सामाजिक र आर्थिक अवस्थासँगै जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । जाति अझै पनि भारतमा स्रोत, शिक्षा र अवसरको पहुँच निर्धारण गर्ने महत्त्वपूर्ण आधार भएकाले यसबाट प्राप्त तथ्याङ्कले नीति निर्माणमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । देशका अधिकांश क्षेत्रमा वास्तविक जनगणना सन् २०२७ मार्च १ लाई सन्दर्भ मिति मानेर गरिनेछ । तर उच्च हिमाली क्षेत्रहरू—जम्मू–काश्मीरजस्ता स्थानहरू—मा कठोर मौसमका कारण यो प्रक्रिया अक्टोबर १, २०२६ अगावै सम्पन्न गरिनेछ । कोभिड–१९ महामारीका कारण सन् २०२१ को जनगणना स्थगित भएपछि भारतले पछिल्लो पटक सन् २०११ मा मात्र यस्तो अभ्यास गरेको थियो, जसअनुसार त्यतिबेला जनसङ्ख्या एक अर्ब २१ करोड थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ सम्म आइपुग्दा भारत एक अर्ब ४२ करोडभन्दा बढी जनसङ्ख्यासहित विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । यस्तो परिवेशमा सुरु हुन लागेको नयाँ जनगणनाले भारतको सामाजिक संरचना, आर्थिक अवस्था र भविष्यका नीतिगत प्राथमिकताहरू निर्धारण गर्न महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ । रासस
प्रधानमन्त्री र सुदूरपश्चिमका सांसदबीच छलफल, सेती आयोजनादेखि सडक विस्तारसम्मका एजेन्डा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले मंगलबार (आज) सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए । ‘प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो,’ प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरूले प्रधानमन्त्रीसँग कुरा राखेको उनले बताए । ‘सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ,’ सांसद खड्काले भने । सांसदहरुले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएको उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका थिए ।
गोल्याण ग्रुपमा अक्षयको ‘वार्ता’ शैली
काठमाडौं । ‘तपाईंहरूको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ । सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीले यस संस्थाको भविष्यको लागि गहिरो महत्त्व राख्दछन्।’ व्यावसायिक घराना गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंकडिनमा भिडियोसँगै पोष्ट गरेको यो विचार अहिले चर्चामा छ । ३७ वर्षीय अक्षयले गत मंसिरमा ग्रुपको नेतृत्व सम्हालेसँगै कामको शैली पनि बदलेका छन् । जसमध्ये एक हो, वार्ता । अक्षयले पोष्ट गरेको भिडियोमा उनले ग्रुपका कर्मचारीसँग वार्ता गरिरहेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता व्यावसायिक घराना गोल्याण ग्रुपमा करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन् । उनले पहिलो चरणमा कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् । ‘वार्ता’ नाम दिइएको यस कार्यक्रममार्फत उनले कर्मचारीका प्रश्न, गुनासो र सुझावहरु सुनेका छन् । ‘तपाईंहरूले प्रमाणित गर्नुभयो कि हाम्रा कर्मचारीहरू यहाँ केबल काममात्र गर्दैनन्, गहन रुपमा सोच्न र समृद्धिको यात्रामा सहकार्य गर्न पनि सक्षम छन्,’ उनले वार्ताको अनुभव सुनाउँदै भनेका छन्, ‘अब मेरो प्रतिवद्धता तपाईंले व्यक्त गर्नुभएको विश्वासलाई निर्णय प्रक्रियामार्फत विकासमा बदल्नु हुनेछ ।’ साढे ६ दशक लामो विरासत बोकेको गोल्याण ग्रुपको नेतृत्व अहिले तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले गरिरहेका छन् । स्वदेशको श्रम, सीप र पुँजीलाई प्रयोग गर्दै ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बनाउने अभियानमा रहेका अक्षयले यसको लागि संस्थाको आन्तरिक सामर्थ्यलाई मजबुत बनाउने रणनीतिअन्तर्गत ‘वार्ता’ थालेका हुन् । कार्यरत कर्मचारीसँग बसेर प्रत्यक्ष कुराकानी गर्ने, उनीहरुका समस्या तथा सुझाव सुन्ने र सोको आधारमा संस्थागत योजना तथा रणनीति तय गर्ने वार्ताको उद्देश्य रहेको अक्षयले बताएका छन् । गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । विश्वका ‘उत्कृष्ट १० भित्र पर्ने स्पेनको एसादी यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका उनले छोटो सयममै ग्रुपलाई नयाँ युगको पदचाप र परिवर्तनको चाहनामा हिँडाउने प्रयास गरेका छन् ।