नबिल बैंकको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ३५० रुपैयाँ
काठमाडौं । नबिल बैंकको साढे २ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड ४८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेका सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । रिज लाइन इनर्जीले आज पुस १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गोरखाका अजिरकोट गाउँपालिकाका सबै र लमजुङको दुधपोखरी गाउँपालिका–१, २, ३ र दोर्दी गाउँपालिका(४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीयले रिज लाइन इनर्जी आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू, अनौपचारिक कारोबारमा कमी आउने
काठमाडौं । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए । मेची भन्सारसहित मुलुकका ८ वटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताए । विश्व व्यापार सङ्गठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो । प्रणाली शुभारम्भ गर्न आएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमितता र अनौपचारिक कारोबारमा कमी आउने बताए । उनले सरकारले भन्सारमा सुशासन र करदाता मैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताए । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ । जसमध्ये चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ६ अर्ब ८२ करोड २ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।
आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए । १ सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूची तर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भू-भागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रभु महालक्ष्मी लाइफको पौने ५ करोडको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पौने ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको १ लाख ७८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरको अंकित मूल्य १ सय रुपैयाँ हो । तर, उक्त सेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीको ४ करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयर खरिदका लागि पुस २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिदका लागि इच्छुक सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
५ दशकदेखि बन्द तामाखानी उत्खनन गर्न अध्ययन, एमएस दोङयी मिनरल्सले पायो अनुमति
काठमाडौं । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी ५ दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताए । तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन् । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताउनुभयो । खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ । तामाखानीको सुरुङ छन् । पहाडमा तामा रसाएको देख्न सकिन्छ । स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानहरु (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । मच्छिमको साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी र मङ्गलेखानीमा तामाखानी छन् । धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुङ्गा खानी छन् ।
मुस्ताङमा बन्यो २५ शय्याको प्रादेशिक अस्पताल भवन, हस्तान्तरण गर्ने तयारी
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ । अपाङ्गतामैत्री दुईतले अस्पताल भवन सुरुआती ठेक्का सम्झौता अनुसार २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर, अस्पताल भवनको छानो छाउने डीपीआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा भवन निर्माण केही वर्ष रोकिएको थियो । निर्माण कम्पनीले ‘भिओ’ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन, १३औँ संशोधनअनुसार अस्पताल भवनको म्याद २०८१ साल २ पुससम्म थप गरिएको थियो । त्यसपछि निर्माणाधीन अस्पताल भवनको प्रि-डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो । निर्माणाधीन भवनको गण्डकी प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माणको ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको लागत अनुमान १६ करोड ३४ लाख रुपैयाँ रहेकामा १० करोड २१ लाख रुपैयाँमा इमोटल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । अपाङ्गतामत्री स्वास्थ्य सेवा प्रवाह गर्ने गरी प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए । भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिइएको सबइन्जिनियर कँडेलले उल्लेख गरे । अस्पताल भवनको भौतिक र वित्तीय प्रगति सतप्रतिशत भएको र निर्माण कम्पनीसँग भवनको परीक्षणकाल (डिएलपी) को अवधि रहेको सबइन्जिनियर कँडेलले बताए । उनले भने, ‘अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत् र सेनेटरी पक्षमा आंशिक त्रुटि भएकाले सच्याउन लगाएका छौँ, निर्माण कम्पनीले त्रुटि सच्याएपछि भवन हस्तान्तरण हुनेछ ।’ गण्डकी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याबाट २५ शय्याको अस्पताल भवनमा रुपान्तरण गर्न तत्कालीन समयमा यहाँ अस्पतालको भौतिक संरचना निर्माण सुरु गरेको हो । यहाँ अस्पताल भवनको ठेक्का सम्झौता भएको पाँच वर्षपछि भवनको भौतिक संरचना तयार भएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र सेवामूलक तुल्याउनेगरी निर्माण गरिएको हो । भवनमा ल्याब कक्ष, आपत्कालीन, प्रसूति, एक्सरे, अल्ट्रा साउन्ड, इसिजी कक्ष, बहिरङ्ग सेवा, सामान्य शल्यक्रिया, मेजर शल्यक्रिया, मेडिकल कक्ष, बिरामी बस्ने वार्डरुम र प्रशासनिक कक्ष र बैठक हललगायत संरचना निर्माण भएका सबइन्जिनियर कँडेलले जानकारी दिए । हाल जस्ताले छाएको ५० वर्ष पुरानो जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या र चुनौती देखिएको थियो । नवनिर्मित अस्पतालको भवनबाट सेवा प्रवाह सुरु भएमा स्वास्थ्य सेवा प्रवाह सजिलो हुने अस्पतालका मेसु डा समीक्षा कँडेलले बताए ।