विकासन्युज

प्रधानमन्त्री सुशीला कार्की र ठूला तीन दलका शिर्ष नेताको छलफल शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरूसँगको छलफल शुरु भएको छ । शनिबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल शुरु भएको हो ।  छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी र राजनीतिक वातावरणबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तीनै दलका नेताहरूलाई भेटेर छलफलको जानकारी गराएका थिए । गत पुस ९ गते राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीतल निवासमा भएको छलफलको निरन्तरता स्वरूप आजको बैठक आयोजना गरिएको हो ।  उक्त बैठकमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सुनिश्चित गर्न दलहरूबीच सहमति जुटाउने प्रयास हुने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा ठूला दलहरूको सहयोग र सहमति आवश्यक रहेको सरकारको भनाइ छ ।   

युवा विदेशिने बाध्यता हटाउन घर, शिक्षा र स्वास्थ्यमा पहुँच चाहिन्छ : मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गरेका छन् । उनले घर निर्माण फाउन्डेसनद्वारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित प्रगति हासिल नहुने राय व्यक्त गरेका हुन् । 'विकास निर्माणका लागि सीमित बजेट भए पनि कार्यान्वयनमा देखिएको समस्याका कारण त्यसलाई खर्च गर्न सकिरहेका छैनौँ', उनले भने, 'यी कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा गर्न सकिँदैन ।' मन्त्री घिसिङले छोटो समयको सरकारले सबै अपेक्षा पूरा गर्न नसक्ने बताए । उनले आफ्नो कार्यकाल तीन महिना पूरा भइसकेको र बाँकी साढे दुई महिनामा पनि विकासको कार्यान्वयन ढाँचा सुधारतर्फ केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली युवाहरू सानो घर, साधारण सवारी साधन र सन्तानको शिक्षा स्वास्थ्य सुनिश्चित भए विदेशीनुपर्ने बाध्यता कम हुने उनको तर्क छ । सरकारले यी आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी सहुलियत ऋण र सहज पहुँच उपलब्ध गराउनु आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए । 'युवाहरूलाई घर, यातायात, शिक्षा र स्वास्थ्यमा सहज पहुँच दिन सके स्वदेशमै बस्ने वातावरण बन्नेछ । र यहीँबाट अर्थतन्त्रको रूपान्तरण सुरु हुनेछ', उनले भने । मन्त्री घिसिङले घर निर्माणका सन्दर्भमा स्थानीय स्रोत र कच्चा पदार्थ प्रयोग गरेर ऊर्जा दक्ष घर निर्माण गर्न सकिने उदाहरण समेत प्रस्तुत गरे। नेपालमै उत्पादन हुने सामग्री प्रयोग गरे विदेशी मुद्रा सञ्चिति जोगिनुका साथै कार्बन उत्सर्जन र प्रदूषण पनि घट्ने उनको भनाइ थियो । 'इँटा उद्योगका लागि मात्रै वार्षिक करिब ३० अर्ब रुपैयाँ बराबरको कोइला भारतबाट आयात हुन्छ । त्यसले ठूलो मात्रामा प्रदूषण बढाइरहेको छ । वैकल्पिक प्रविधि, विद्युतीय ऊर्जाको प्रयोग र स्थानीय सामग्रीबाट बनेका इँटा तथा निर्माण सामग्री प्रयोग गर्न सके ऊर्जा आयात, विदेशी मुद्रा खर्च र प्रदूषण घटाउन सकिनेछ', उनले भने । मन्त्री घिसिङले सोही कार्यक्रममार्फत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समस्या समाधान गर्न सक्ने र कार्यान्वयनमा ‘डेलिभरी’ दिन सक्ने राजनीतिक नेतृत्व छनोटका लागि नागरिकहरूसमक्ष अनुरोधसमेत गरे । 

कानूनी शासन स्थापित नगरी जेनजीका माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको बताए । कुनैपनि दायित्व नलिइकन बोल्दा जति खुला हुन्छ दायित्व लिएर गर्न त्यत्तिकै कठिन रहेको बताए । रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए । आन्दोलन पछि पनि कानून परिपालना गर्ने कुरामा कोही पनि कटिवद्ध नभएको बताए । कानूनी शासन स्थापित गर्न अहिले पनि नसकिएको जानकारी दिए ।  ‘हामी जे बोल्छौँ, त्यही गर्नको निमित्त हामी कतिपय अवस्थामा सक्दैनौँ । प्रणालीमा वाक इन द टकको ठूलो समस्या छ । कुनैपनि दायित्व नलिइकन बोल्दाखेरी जति खुला तरिकाले बोल्न सकिन्छ, त्यही कुरा दायित्व लिँदा गर्नै सकिँदैन । गर्न सकिने कुरा मात्रै बोल्ने र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थालियो भने आशा गरेअनुसारको परिवर्तन सम्भव छ,' उनले भने । अर्थमन्त्री खनालले यसअघिका अर्थमन्त्रीहरूले वित्तीय प्रशासनमा महत्वपूर्ण भुमिका खेलेको बताए । 

प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ ।      प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनेछन् । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।      जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरुसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ ।      सोही सन्दर्भमा शुक्रबार नेपाल सरकारका प्रवक्ता तथा मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई उनीहरुको निवासमा पुगेर भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरुले सरकारलाई वर्तमान राजनीतिक निकासका लागि निर्वाचन एक मात्र विकल्प रहकाले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । 

मदन भण्डारी सडकबाट ७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।  को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।   

काठमाडौं महानगरको पूर्वाधार विकासका लागि १२ अर्ब ९ करोडको प्रस्ताव पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको १८औँ नगरसभा अधिवेशनले पूर्वाधार विकासतर्फ १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ बजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि १७औँ नगरसभाले पूर्वाधार विकासका लागि १२ अर्ब १० करोड ८१ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगरसभाले विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐन संशोधनसहित ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गरेको हो । नगरसभाले आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ बजेट कायम गरेको छ, जुन अघिल्लो अधिवेशनको ६८ करोड ७४ लाख ५४ हजार रुपैयाँभन्दा कम हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ५ अर्ब ८० करोड ४१ हजार रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ बजेट कायम गरिएको छ । १७औँ नगरसभाले चालु आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो । यसमध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ जुटाउने लक्ष्य छ भने संघ र प्रदेश सरकारबाट सशर्त, समानीकरण तथा राजस्व बाँडफाँडमार्फत बाँकी रकम प्राप्त गर्ने लक्ष्य लिइएको छ । सभामा उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षको पुस ९ गतेसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिन्, जुन विनियोजित बजेटको १८.४८ प्रतिशत हो । यस अवधिमा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ४५.९९ प्रतिशत खर्च भएको छ । सभामा महानगर प्रहरी ऐन, सहकारी ऐन र भवन निर्माण मापदण्डसम्बन्धी संशोधन विधेयक पेश गरिएको थियो । यस्तै, लेखा समितिले २६ करोड ३९ लाख रुपैयाँभन्दा बढी बेरुजु नियमित तथा समपरीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्छन्, ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’ उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’ जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गर्नुभएको थियो । उहाँको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।  वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।  वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।  त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।  त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने चार अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ ।