अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ, घुस खुवाउन पर्दैन: अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब व्यवसायीहरूले घुस खुवाउन, लाइन बस्न र थुनिनु पर्ने अवस्था अन्त्य गरिने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री वाग्लेले निजी क्षेत्रलाई देश निर्माणको सहयात्रीको रूपमा अघि बढ्न आग्रह गरे । उनले भने, ‘लगानी बढाउनुस्, रोजगारी सिर्जना गर्नुस्, हामी मिलेर देश बनाऔँ ।’ मन्त्री वाग्लेले आफू घुस खान नआएको र कसैलाई पनि खान नदिने स्पष्ट पार्दै अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने उद्देश्यका साथ काम गरिरहेको बताए । ‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,’ उनले भने । उनका अनुसार सरकारले अब निजी क्षेत्रलाई अनावश्यक झन्झटबाट मुक्त गराउँदै सहजीकरण गर्ने नीति लिएको छ । ‘अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, कसैलाई थुनिनु पनि पर्दैन,’ उनले भने । यद्यपि, उनले आर्थिक अनियमितताप्रति कडाइ गरिने संकेत पनि दिए । उनका अनुसार, सामान्य आर्थिक गल्तीमा अब जेल सजायभन्दा जरिवाना प्रणालीमा जोड दिइने छ । तर, नियोजित बेइमानी गर्नेहरूका हकमा सरकार निर्मम हुने उनले चेतावनी दिए । मन्त्री वाग्लेले राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक विकास र रोजगारी विस्तार सम्भव हुने उल्लेख गर्दै पारदर्शिता र इमान्दारी दुवै पक्षबाट अपेक्षित रहेको बताए ।
लन्च भएको सातामै सकियो यामाहाको हाइब्रिड बाइक, बजारमा उत्साहजनक प्रतिक्रिया
काठमाडौं । यामाहा नेपालले हालै सार्वजनिक गरेको नेपालको पहिलो हाइब्रिड मोटरसाइकल यामाहा एफजेट–एस एफआई हाइब्रिड ग्राहकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएपछि आधिकारिक लन्च भएको एक हप्तामै सोल्ड आउट भएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताको हाई–टेक प्रविधिसहित ल्याइएको उक्त मोटरसाइकलले नेपाली बजारमा आधुनिक मोटरसाइकलिङको नयाँ अध्याय सुरु गरेको छ । प्रदर्शन र इन्धन दक्षतालाई सन्तुलनमा राख्दै तयार गरिएको यो मोडललाई भविष्यतर्फ उन्मुख प्रविधिमैत्री सवारीका रूपमा हेरिएको छ । एफजेट–एसको स्थापित लिगेसीमा आधारित यस हाइब्रिड मोडललाई उच्च पावर, सुधारिएको इन्धन दक्षता तथा कम उत्सर्जन सुनिश्चित गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । बढ्दो इन्धन मूल्य र शहरी ट्राफिक व्यवस्थापनजस्ता चुनौतीलाई ध्यानमा राख्दै विकास गरिएको यो मोटरसाइकलले उत्कृष्ट माइलेज प्रदान गर्ने दाबी गरिएको छ । उन्नत प्रविधि, स्मार्ट फिचर र प्रभावकारी इन्धन खपतका कारण छोटो समयमै बजारबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । राइडरहरूको माइलेज आवश्यकतालाई सम्बोधन गर्न सकेकाले यो मोडलले बलियो बजार स्वीकार्यता हासिल गरेको कम्पनीको भनाइ छ । उच्च मागलाई मध्यनजर गर्दै यामाहा नेपालले मोटरसाइकलको अर्को ब्याचका लागि प्रि–बुकिङ खुला गरेको घोषणा गरेको छ । ग्राहकहरूले प्रि–बुकिङसम्बन्धी जानकारी यामाहाका आधिकारिक सामाजिक सञ्जाल तथा देशभरका अधिकृत डिलरमार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ स्टक चाँडै उपलब्ध गराई समयमै डेलिभरी सुनिश्चित गर्ने जनाएको छ । यस उपलब्धिबारे यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले प्रविधि र माइलेजप्रति बढ्दो ग्राहक आकर्षणले उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । उनले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै नेपाली राइडरहरूको बदलिँदो आवश्यकता अनुसार नवीन तथा व्यवहारिक यातायात समाधान ल्याउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे । कम्पनीका अनुसार एफजेट–एस एफआई हाइब्रिडको सफल लन्चसँगै नेपाली बजार स्मार्ट र दक्ष मोटरसाइकलिङतर्फ अघि बढिरहेको संकेत देखिएको छ ।
शिक्षा मन्त्रालयले हटायो ब्रिज कोर्स बन्द गर्ने सूचना
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने भन्दै आफ्नो वेब साइटबाट राखेको सूचना हटाएको छ । आइतबार एक विज्ञप्ति मार्फत मन्त्रालयको वेबसाइटमा मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । तर, सोमबार मन्त्रालयले नै सूचना हटाएको छ । सूचनामा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाउने उल्लेख थियो । मन्त्रालयको वेबसाइटमा विभिन्न कक्षा र उच्च शिक्षा तयारीको लागि सञ्चालन गरिने कार्सहरू बन्द गर्ने भनिएको थियो भने त्यसको केही समयपछि शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा कक्षा १२ सम्मका विद्यार्थी लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू बन्द गरिने भन्दै लेखेका थिए । मन्त्रालय निकालेको सूचना र मन्त्रीले सार्वजनिक गरेको स्टाटसमा फरक देखिएपछि मन्त्रालयको वेबसाइटमा राखिएको सूचना हटाएको हो । मन्त्रालयले भने यो विषमा थप प्रष्ट पार्नुपर्ने भएकाले अहिले छलफल गरेर फेरि सूचना निकाल्ने तयारी भइरहेको प्रकृया दिएको छ ।
अष्ट्रेलियाली सेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
काठमाडौं । अष्ट्रेलियाको सेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो । एस एन्ड पीरएएसएक्स २०० सूचकांक सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो । सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले सेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ । रासस
वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग शुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रमको सुभारम्भ गरेकी हुन् । कार्यवाहक प्रमुख डंगोलले गरी महिलाहरूमा सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च देखिएकाले यस प्रकारको स्क्रिनिङ कार्यक्रमलाई प्राथमिकता दिइएको बताइन् । क्यान्सरलाई समयमै पहिचान गर्नसके उपचार सम्भव हुने उनको भनाई छ । उनले पहिचानमा ढिलाइ हुँदा रोग तेस्रो वा चौथो चरणमा पुग्ने जोखिम रहने बताइन् । धेरै महिलाहरुमा सचेतनाको अभाव र केहीले भने डर र लाजको कारणले परीक्षण नगराउने प्रवृत्ति रहेको उनको भनाई छ । महिलाहरूले परिवारको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो स्वास्थ्यलाई पछाडि पार्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न आग्रह गरिन् । महिला स्वस्थ भएमा मात्रै पूरा परिवार स्वस्थ हुने उनको भनाई छ । उनले समयमै स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गरिन् । उनकाअनुसार महानगरपालिकाभित्र रहेका प्रत्येक वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नाम दर्ता गर्न सकिनेछ । सेवाग्राहीलाई ‘क्यू सिस्टम’अनुसार समय निर्धारण गरिने भएकाले तोकिएको समयमा पुग्दा लामो समय कुर्नु नपर्ने व्यवस्था गरिएको उनले बताइन् । उनले कार्यक्रमको सुरुवातमै उल्लेखनीय सहभागिता देखिएकोले आगामी दिनहरूमा सेवाग्राहीको संख्या क्रमशः बढ्दै जाने बताए । पहिलो दिनमा १ सय ३६ जनाको स्क्रिनिङ गरिएको छ । उनले भने, ‘विशेष गरी धेरै महिला दिदिबहीनीहरुमा सर्भाइकल र स्तन क्यान्सर धेरै देखिने गरेको छ । हरेक दिन संसारभर ४ जना सर्भाइकल क्यान्सरको कारणले मुत्यु हुने गरेको छ । क्यान्सर मृत्यु भईहाल्ने रोग होइन, यसको उपचार गर्न सकिन्छ भन्ने बुझाउन पनि जरुरी छ । यदी समयमा नै यसको पत्ता लगाउन सकियो भने उपचार हुन्छ, त्यसको लागी समयमा नै परीक्षण गर्नुपर्छ ।’ उनले गतवर्ष वीर अस्पतालसँग गरिएको सहकार्य सफल भएको उल्लेख गर्दै यस वर्ष कार्यक्रम अझ व्यवस्थित र व्यापक बनाइने बताए । उनकाअनुसार यो कार्यक्रम आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।
हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने
काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी सचिव विपिन हाडाले उक्त निर्णय नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार हाल कायम पुँजी संरचनाको आधारमा गरिएको बताए । उनका अनुसार, बैंकले सेयर रूपान्तरणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउनेछ । प्रक्रिया पूरा भई सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गरिनेछ। बैंकको हाल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ। यसमध्ये ७० प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख रुपैयाँ संस्थापक समूहको स्वामित्वमा रहेको छ भने ३० प्रतिशत अर्थात् ६ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको छ।
पूर्वउर्जामन्त्री खड्का अस्पताल भर्ना
काठमाडौं । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य चेकजाँचका लगिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका एक कर्मचारीले विकासन्युजलाई जानकारी दिए । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । पूर्वऊर्जामन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए । जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । खड्कालाई जारी गरिएको पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६ सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ ।’ उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । जेनजी आन्दोलनअघि उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका थिए ।
सार्वजनिक यातायात प्रणाली सुधार : गाडीहरूमा क्यूआर राख्न सिफारिस
काठमाडौं । सार्वजनिक यातायात प्रणालीलाई व्यापक सुधार गर्न जरुरी रहेको सरकारी एक अध्ययन समितिले देखाएको छ । सरकारी कार्यदलले तयार पारेको सुशासन मार्गचित्रमा सार्वजनिक यातायात प्रणाली र सेवामा सुधार गर्न जरुरी रहेको भन्दै सरकारलाई विभिन्न सिफारिसहरू गरेको हो । कार्यदलले यातायात क्षेत्रलाई प्रतिस्पर्धात्मक, व्यवस्थित र डिजिटल प्रविधिमा आधारित बनाउने उद्देश्यसहित सरकारी तथा निजी क्षेत्रको सहकार्यमा सुधार कार्यक्रम अघि बढाउने प्रस्ताव गरिएको छ । जसअनुसार सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तयार गर्न सिफारिस गरिएको छ । मार्गचित्रअनुसार सार्वजनिक यातायात सञ्चालनमा निजी क्षेत्रको सहभागिता बढाउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सरकारी निकाय र निजी पक्षबीच अधिकार, दायित्व र जोखिमको स्पष्ट बाँडफाँट हुनेगरी नमूना सहमति ढाँचा तयार गरी निजी क्षेत्रसँग सेवा खरिदको पाइलट कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । रोकिएको क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा छपाइ गरी वितरण गर्ने तथा यसको विकल्पका रूपमा डिजिटल माध्यमबाट प्रमाणित गर्न सकिने डिजिटल प्रमाणीकरण योग्य प्रमाणपत्र प्रयोग गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव पनि गरिएको छ । त्यसैगरी विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणाली विकास गरी सञ्चालन गर्ने, सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्रसम्बन्धी डाटाको सुरक्षित व्यवस्थापनका लागि डाटा केन्द्र र डाटा पुनःप्राप्ति केन्द्र स्थापना गरी सञ्चालन गर्ने सिफारिस गरिएको छ । इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने, यातायात क्षेत्रको रुट प्रोफाइलिङ गरी अन्तरप्रदेश रुट इजाजतलाई अनलाइन प्रणालीमा आवद्ध गर्ने प्रस्ताव पनि मार्गचित्रमा समेटिएको छ । मार्गचित्रले सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्पर्धात्मक र डिजिटल प्रणालीमा आधारित बनाउँदै यातायात सेवालाई गुणस्तरीय बनाउने तथा यातायात क्षेत्रमा सरकारी र निजी लगानीलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउने लक्ष्य अघि सारेको छ । यसका साथै एकीकृत यातायात प्रणाली लागू गर्ने, राष्ट्रिय राजमार्ग तथा प्रमुख रुटहरूमा ठूला बस सञ्चालन गर्ने र सहायक रुटहरूमा मझौला तथा साना सवारी साधन चल्ने गरी बस यातायात प्रणाली पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ । सार्वजनिक यातायात क्षेत्रमा लगानीको सुरक्षा प्रत्याभूति गर्दै समग्र यातायात सुधार योजना लागू गर्न पनि कार्यदलले सिफारिस गरेको छ ।