सोलु हाइड्रोको आईपीओमा स्थानीयले आजसम्म आवेदन दिन पाउने
काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ । मंसिर ७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
रिलायन्स स्पिनिङ्गले मंसिर २२ गतेदेखि आईपीओ बिक्री गर्ने, कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति
काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवा सुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा. दीपेन्द्र यादवले उहाँलाई तत्काल शल्यक्रियाको सुझाव दिए । मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँको ठूलो खर्च हो, तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो । तर, साथियाले शल्यक्रिया गर्न मानेनन् । ‘श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैनथ्यो, तर अहिले घरमा कसैले टेर्दैनन्,’ साथियाले गुनासो गरिन् । साथिया समस्या मोतियाबिन्दुको मात्र थिएन, न त पैसाको अभाव नै । उनको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन । यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पुर्याउनु मात्र पर्याप्त छैन, विशेषगरी एकल र वृद्धवृद्धाका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ । साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आँखाकै भयावह समस्या लिएर बाँचिरहेका यस्ता धेरै बिरामी मर्चवारमा रहेका भेटिए । डा. यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्याको विकराल रूप देखिएको छ । शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ । शिविरमा ६ सय जनाभन्दा बढीले आँखा जाँच गराएका छन् । जसमा अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको छ । सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालयलगायत आधा दर्जन बढी सुविधासम्पन्न आँखा अस्पताल छन् । जहाँ बर्सेनि हजारौं बिरामीले उपचार पाइरहेका छन् । तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतियाबिन्दुको समस्या हुँदा पनि सरोकारवालाको ध्यान पुग्नसकेको छैन । यसमा डा यादव मोतियाबिन्दुको उपचार खर्च १०/१५ हजार रुपैयाँ पर्ने र गाउँलेका लागि ठूलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । यससँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण हो । डा यादवले मोतियाबिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य रहेको बताए । महिलामा भने यो समस्या अलि बढी देखिएको छ । यस क्षेत्रमा मोतियाबिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी रहेको डा. यादवको भनाइ छ । ‘यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चश्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतियाबिन्दुलाई निको पार्नु नै हो,’ उनले भने । लुम्बिनी नेत्रालयकै अर्का डा हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उनको भनाइ छ । उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकाले मोतियाबिन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षणमार्फत यसको न्यूनीकरण गर्न सकिने शाहको दाबी छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १०औँ स्थापना दिवस पारेर यो कार्यक्रम गरेको बताए । उनले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताए । मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको उनको भनाइ छ । तर अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाटै २५० भन्दा बढी व्यक्ति मोतियाबिन्दुको समस्याबाट पीडित देखिएका उनको भनाइ छ । अध्यक्ष शर्माले यस समस्याको विकरालतालाई जोड दिँदै सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताए । रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकामा अब मोतियाबिन्दु निवारणलाई लक्षित गरेको उनको भनाइ छ । ‘शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो । मोतियाबिन्दुले पीडित र आर्थिक रूपमा कमजोर व्यक्तिका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाका कारण उपचारबाट वञ्चित भएकालाई यो शिविरले ठूलो सहयोग पुर्याएको छ,’ समाजसेवी रामगणेश पालले भने ।
समानुपातिक निर्वाचनको कार्यक्रम सुरु, आज दलले आवेदन दिने समयसीमा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छन् । निर्वाचनको दिन नजिकिदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुने गरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
४.६५ मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान, ५.५० मेट्रिक टनको लक्ष्य
काठमाडौं । सरकारले हालसम्म ४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो सातासम्म २ लाख ६६ हजार ५१० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले १ लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ । कृषि सामग्री कम्पनीले ८८ हजार २१३ मेट्रिक टन युरिया, ९२ हजार २७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले २४ हजार ४९८ मेट्रिक टन युरिया, ५३ हजार ७९५ मेट्रिक टन डीएपी र ७ हजार ७२५ मेट्रिक टन पोटास आयातको क्रममा रहेको जनाएको छ । यस्तै, कूल ८६ हजार ३३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार ८१८ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनमा २८ हजार ५१४ मेट्रिक टन उपलब्ध छ । यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा १ लाख २० हजार ५९७ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ । खेतिपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अवलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
पौने ३ लाख विदेशीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण, अब मार्चपछि मात्रै पर्यटक बढ्ने
काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा २ लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १ लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा ९ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । फेब्रुअरीमा १२ हजार ६८ जना, मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगष्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टुबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा सन् २०२५ को पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मेमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा भने गत वर्षको तुलनामा बढी पर्यटक आएको आयोजना प्रमुख डा. कडरियाले बताए । जाडो याम सुरू भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने उनको भनाइ छ । यस क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको हो । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भाव्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटन मैत्री पूर्वाधार, हावापानी, स्थानीयबासीको आतिथ्य र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ ।
भारत र चीन जोड्ने कोरला सडकमा १३ पुल निर्माण, ३ पुल बन्दै
काठमाडौं । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । ३ वटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्ग अन्तर्गत २०७३/७४ सालदेखि सुरु भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका ३ पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । उनका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका-४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको छ । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ-३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ-२ स्थित छाक्ताङ खोला, घरपझोङ-२ स्थित मार्फाखोला पुल, घरपझोङ-३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ-३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर-१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए । इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ-३ लेतेमा निर्माणाधीन सेतोखोला, घरपझोङ-२ स्थित मार्फाखोला, वारागुङ-३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदरकुण्ड-१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१/८२ मा सम्पन्न भएका हुन् । आयोजना कार्यालयअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ-४ स्थित कैकुखोला, थासाङ-२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड-२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताए । यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने इन्जिनियर चापागाईँको भनाइ छ । निर्माणाधीन रहेका तीन पुलको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उनले बताए । आयोजनाले कोरला सडकमा छवटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाले म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ-२ घट्टेखोला र थासाङ-१ टुकुचेस्थित थापाखोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाइएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ पुल निर्माण गरिसकेको जनाएको छ । त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्वयन गरेका बाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म ८ वटा पक्की पुल निर्माण भइसकेको छ । पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका ८ पुल सम्पन्न भएका हुन् । जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन् । त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन् । यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । रासस