बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
खोटाङ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहका अवसर पारेर आज आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’ प्रदान गरिएको हो । बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा यसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रुपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले नगरलाई पुरस्कृत गरिएको नाष्टले जनाएको छ । नगरपालिकाले प्राप्त गरेको उक्त पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माणमा किफायत हुने प्रविधि विकास गर्ने, प्रविधिको अनुसन्धान तथा अनुसन्धानका क्षेत्रमा योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो । कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीय तहमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट रहेको नाष्टद्वारा उपलब्ध पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर १२ गते बसेको नाष्टको ४९औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार’बाट पुरस्कृत गर्ने निर्णय गरेको थियो । नाष्टले प्रदान गरेको रु २५ हजार राशिको पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् नाष्टका सहकुलपति महावीर पुनले आज ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । पुरस्कार ग्रहण गर्दै नगरप्रमुख तीर्थराज भट्टराई भने, 'नाष्टले प्रदान गरेको यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताको परिणाम हो । नगरको यो उपलब्धिलाई संरक्षण गर्दै आगामी दिनमा कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा प्रभावकारी काम गर्दै जाने हौसला मिलेको छ । यो सम्मान आफैँमा गर्विलो र ऐतिहासिक छ । नाष्टको मूल्याङ्कनबाट पाइएको राष्ट्रिय सम्मानको गरिमालाई बचाइराख्न जनप्रतिनिधि तथा कर्मचारी इमान्दारीपूर्वक काममा लाग्ने प्रतिबद्धता गर्दछौँ ।' यसैबीच, नाष्टको पत्र प्राप्त भएपछि नगरपालिकाले गत बुधबार पत्रकार सम्मेलन गरेर नगरवासी तथा सरोकार भएका सबैलाई सोबारे जानकारी दिएको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँससम्बन्धी उद्योगको प्रवर्द्धन गर्दै आएको छ । बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न नगरप्रमुख भट्टराई गत साउन १४ गते काठमाडौँमा सत्याग्रह बसेका थिए । उनी सत्याग्रह बसेको चार महिनापछि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेका थिए । मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुईतले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने छ । सहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई यथाशीघ्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गर्ने तयारी भइरहेको छ । सङ्घीय सरकारले स्वीकृत गरेको मार्गदर्शनमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगको विस्तृत मापदण्डसहित भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ । सरकारद्वारा स्वीकृत मार्गदर्शनले देशभर बाँस उद्योग स्थापना गर्न, वातावरणमैत्री भवन निर्माण र स्थानीय उत्पादन प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको नगर उपप्रमुख विशन राईले बताए । 'सरकारको यो निर्णयले खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने बाटो खुलेको छ । यो देशभरका स्थानीय तह तथा उद्यमीका लागि उपलब्धि हो', उनले भने, 'हाम्रो नगरपालिकामा १३ किसिमका बाँस पाइन्छन् । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा प्रवर्नको काम सुरु गरेका छौँ ।' नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित गत फागुन १५ गतेदेखि तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रूपमा मनाउने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्नेलगायत निर्णय समेटेर खोटाङ घोषणापत्र पारित गरेको थियो । रासस
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा शनिबार यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले यो क्षेत्र कमजोरी बनेको बताए । विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको धारणा राखे । मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । उनले भने, 'आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन् । पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो ।' उनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए । मन्त्री पुनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गरे । 'विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ',उनले भने, 'अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ ।' आफूलाई जिम्मेवारी आएमा कम्तीमा रु तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गरे । नेपालमा व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको उनले बताए । कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्रसमेत हस्तान्तरण गरेको छ ।
एडीबीले पाकिस्तानलाई ३८ करोड अमेरिकी डलर ऋण दिने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ । एडीबीले पञ्जाव प्रान्तमा परियोजनाको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ, जुन देशको जनसङ्ख्या र आर्थिक गतिविधिको आधा भन्दा बढी हो । परियोजनामा समावेश १२ करोड डलरको ऋण, ४० लाख डलरको अनुदानले विपद् र कार्बन उत्सर्जन न्युनिकरणलाई सघाउनुको साथै दुई लाख २० हजार ग्रामीण कृषक परिवारहरूलाई लाभान्वित गर्नेछ । परियोजनाले कृषिलाई यान्त्रिकीकरण गरी वैकल्पिक जीविको पार्जन प्रदान गर्ने १५ हजार महिलाको सीप बढाउने तथा साना किसानहरूलाई उन्नत मेसिनरी सहित नयाँ वित्तीय प्रणली प्रस्तुत गर्ने जनाइएको छ । पन्जाबले मात्र पाकिस्तानको ७५ प्रतिशत गहुँ, ६९ प्रतिशत चामल र ९१ प्रतिशत मकै उत्पादन गर्ने जनाइएको छ । शिक्षामा, एडीबीले माध्यमिक शिक्षाको आधुनिकीकरण गर्न र पञ्जाब विद्यालय शिक्षा विभाग अन्तर्गत समावेशी कार्यक्रमहरू विस्तार गर्न, गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न १० करोड डलर ऋण र ७ करोड डलर अनुदान स्वीकृत गरेको जनाइएको छ ।
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा अरनिको पाँडे, डा नन्दन यादव र क्रान्तिशिखा धिताल छन् । योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, सङ्गठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ । आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्वउम्मेदवारहरूसँग छलफल र सङ्गठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए । निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौं । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रुपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा अवस्थित २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । टुकुचालाई उक्त प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसालिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युतसमेत उत्पादन गरिनेछ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण भने सुरु हुन सकेको छैन । ललितपुरतर्फ विद्युत उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणधीन छन् । निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् । मन्त्री घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए । उनले हाल निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोही बमोजिम निर्माणका कार्य अगाडि बढाउन निर्देशन दिए । निर्माण स्थलमा रहेका रुख हटाउन करिब दुई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा निर्माणमा केही ढिला भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तीब्रता दिइनु पर्ने बताए । उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो । एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएको समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ ।
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ । महासंघले शनिबार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो । महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसको आयोजना गरेको हो । रेसमा विदेशी तथा स्वदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । रोड रेसको पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवका राजन रोकाय पहिलो, आर्मी क्लवकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भए । महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लवकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भए। खुला १० किलोमिटरमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । कर्पोरेट पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने कर्पोरेट महिलातर्फ सोनु घतानी, नगिना महर्जन र रजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्स पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने भेट्रान्स महिलातर्फ कल्पना महर्जन, सर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भए । विद्यार्थी ९छात्र० तर्फ हस्तबहादुर सुनार, अजय वि।के र रञ्जित राउत क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने छात्रातर्फ भगवती खड्का, सर्मिला वि।के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसका विजेता महिला तथा पुरुषले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा कुल ४ सय ७१ जनाको सहभागिता रहेको निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले अब प्रत्येक वर्ष रोड रेस सञ्चालन गर्ने जानकारी दिए । उनले महासंघले पहिलो पटक आयोजना गरेको रेसमा अन्तर्राष्ट्रियस्तरबाट समेत सहभागीता भएको बताए। ईटाली, चीन, जापानका धावकहरुले समेत सहभागिता जनाएको अध्यक्ष सिंहको भनाइ छ ।आगामी दिनमा एफक्यान रोड रेस मार्की इभेन्ट हुने उनको घोषणा छ । १० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय फर्केर टुङ्गिएको हो । ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भयो । एफक्यान रोड रेशको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए ।
एनपिएल : सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जीत आवश्यक छ । राम्रो रनरेटका साथ जीत निकाले सुदूरपश्चिमसँग नै विराटनगरले पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् । आजै अपराह्न ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र, १४ महिनामा काम सक्ने लक्ष्य
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम शुरु गरिएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने उनको भनाइ छ । विभिन्न स्थानमा ‘कटिङ’ को कामबाट पुनःविस्तारकार्यलाई तीव्रता दिइएको हो । निर्माण कार्यमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए । सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा ठेक्का लिएको थियो । यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा ‘कटिङ’ को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । विसं २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम शुरु गरिए पनि पटकपटकको बर्खामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले योजना बनाएको छ । रासस