ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो । यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ । मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् । नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् । अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् । बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन । यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ । बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ । यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ । चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो । नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् । विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख
काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने छ । पाँच भेरियन्टकाे मूल्य यस्तो हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) : ५ लाख ५५ हजार रुपैयाँ हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : ५ लाख ६६ हजार सिग्नल्स (कमाण्डो सेण्ड) : ५ लाख ६६ हजार डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : ५ लाख ७३ हजार क्रोम (इमराल्ड ग्रीन) : रू ५ लाख ७९ हजार ९०० वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र विक्रीका लागि उपलब्ध गरिएको छ । कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गर्दै भने, 'नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।' कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ । क्लासिक डिजाइन, शक्तिशाली इञ्जिन र नवीन प्रविधिको संयोजनले क्लासिक ३५० ले रोयल इनफिल्डको सांस्कृतिक र प्राविधिक विरासतलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो शुल्कहरू जारी रहे फोर्ड मोटरले नयाँ सवारीसाधनहरूको मूल्य बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फोर्डले बुधबार डिलरहरूलाई पठाएको ज्ञापनलाई आधार मानी सञ्चारमाध्यमहरूले मूल्य बढाउन सक्ने बताएका हुन् । मिशिगन राज्यको डियरबोर्नमा रहेको यो अटोमोबाइल कम्पनीले यसै महिनाको सुरुतिरदेखि जुन २ सम्मका लागि आफ्ना सबै मोडेलहरूमा ठूलो छुटको प्रस्ताव ल्याएको थियो । यो कार्यक्रम जारी रहनेछ, तर मे महिनामा उत्पादन गरिएका र त्यसपछि आउने नयाँ मोडेलहरूको मूल्य परिवर्तन हुन सक्ने उक्त ज्ञापनमा उल्लेख छ । अटोमोटिभ न्यूजले पहिलो पटक उक्त ज्ञापनको समाचार प्रकाशित गरेको थियो । 'ग्राहकहरूका लागि धेरै विकल्पहरू हुनेछन् र जुन २ सम्म पर्याप्त स्टक उपलब्ध छ । शुल्कको अवस्था परिवर्तनशील छ र हामी त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्दैछौं,’ फोर्डका एक प्रवक्ताले भने । उनले यदि मे महिनामा उत्पादन गरिएका सवारीहरूको मूल्य परिवर्तन भयो भने पनि ग्राहकहरूले जुलाईको सुरुतिर मात्र मूल्य वृद्धिको प्रभाव देख्ने पनि बताए । अमेरिकी र विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले उपभोक्ताको मूल्यवृद्धि प्रतिको चिन्ता कम गर्न मूल्य स्थिरता र ठूलो छुटहरूको प्रस्ताव गरेका छन् । यद्यपि शुल्कका छोटो अवधिका प्रभावहरूले बिक्री बढाएको देखिएको छ । अमेरिकी अटो निर्माता कम्पनीहरूले गोप्य रूपमा सांसदहरूलाई चेतावनी दिइसकेका छन् कि यदि शुल्कहरू यथावत रहे भने उनीहरूलाई सवारीसाधनको मूल्य उल्लेखनीय रूपमा बढाउन बाध्य हुनुपर्नेछ । ’हालसम्म सार्वजनिक गरिएको शुल्क नीतिमा ठूला परिवर्तनहरू नभएको अवस्थामा हामी भविष्यमा सवारी साधनको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता देखिरहेका छौं, जुन मे महिनाको उत्पादनसँगै सुरु हुनसक्छ,’ फोर्डका कार्यकारी एन्ड्रयू फ्रिकले उक्त ज्ञापनमा भनेका छन् । फोर्डले हाल फोर्ड र लिनकन डिलरहरूमा स्टकमा रहेका कुनै पनि सवारीमा स्टिकर मूल्य (सूचीकृत मूल्य) नबढाउने पनि ज्ञापनमा उल्लेख छ । यसै महिनाको सुरुमा प्रकाशित सेन्टर फर अटोमोटिभ रिसर्चको एक विश्लेषणअनुसार अप्रिल ३ मा लागु गरिएको ट्रम्पको २५ प्रतिशत अटो आयात शुल्कका कारण सन् २०२५ मा अमेरिकी अटो निर्माता कम्पनीहरूलाई झन्डै १०८ अर्ब डलर अतिरिक्त खर्च लाग्नेछ । फोर्ड अमेरिकी बजारमा बेचिने करिब ८० प्रतिशत सवारीहरू स्वदेशमै उत्पादन गर्ने भएकाले शुल्कहरूको असर झेल्न सक्षम अटो निर्माता कम्पनीहरूमध्ये एक मानिन्छ । यसै हप्ता ट्रम्पले अटो सम्बन्धी शुल्कहरूमा परिमार्जन गर्ने विचार गरिरहेको संकेत दिएका थिए, जसअनुसार हाल लागु भएका शुल्कहरूमा केही छुट दिन सकिने सम्भावना रहेको छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा