टेल्जीको स्पोर्टी ईभी स्कुटर बजारमा, मूल्य २ लाख ६८ हजार
काठमाडौं । टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ ।योम मा ई मोटर्स प्रालिले ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो । टेल्जी नेपालले मंगलबार नक्सालस्थित शोरुममा एक कार्यक्रमको आयोजना गरी एस २ स्कुटर सार्वजनिक गरेको हो । सार्वजनिक स्कुटर पावरफुलका साथै यसमा स्पोर्टी डिजाइन रहेको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता योम मा ई मोटर्स प्रालि हो । कम्पनीले एस २ को मूल्य २ लाख ६८ हजार रुपियाँ तोकेको छ । टेल्जी नेपालको निर्देशक सञ्जीव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए । कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ । यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ । यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिने कम्पनीले बताएको छ। हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको योम मा ई मोटर्स प्रालिले केही दिनमै टाएगर स्कुटर सार्वजनिक गर्ने घोषणा पनि गरेको छ । कम्पनीले नेपालका मुख्य १० सहरहरूमा बिक्री गर्दै आएकाे छ । साथै टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध समेत गराउँदै आएको छ ।
ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने
काठमाडौं । निसानले आफ्नो सबैभन्दा बढी बिक्री हुने अमेरिकी मोडेल रउग एसयूभीको जापानी उत्पादन मेदेखि जुलाई महिनासम्म कटौती गर्ने भएको छ । योसँगै निसान नयाँ अमेरिकी आयात भन्सारको प्रतिक्रियामा उत्पादन योजनामा परिवर्तन गर्ने पछिल्लो विश्वव्यापी कार निर्माता बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा निर्मित कारहरूमा २५ प्रतिशत भन्सार लगाउने निर्णयले वैश्विक अटोमोबाइल आपूर्ति श्रृंखलालाई अस्तव्यस्त बनाएको छ । जापानको तेस्रो ठूलो कार निर्माता निसान त्यसमा अरूभन्दा बढी प्रभावित भएको छ । संयुक्त राज्य अमेरिका निसानको प्रमुख बजार हो, जसले अघिल्लो वर्ष बिक्री भएका गाडीहरूको चौथाईभन्दा बढी हिस्सा ओगटेको थियो, तीमध्ये धेरै जापान वा मेक्सिकोमा निर्मित थिए । स्रोतका अनुसार दक्षिणपश्चिम जापानमा रहेको कारखानाबाट रउगको १३ हजार युनिट उत्पादन कटौती गर्ने योजना रहेको छ । यो संख्या यस वर्षको पहिलो तीन महिनामा अमेरिकाभित्र ६२ हजार रउग बेचिएकोमध्ये पाँचौं भागभन्दा बढी हो । क्यूशू कारखाना जुन निसानको सबैभन्दा ठूलो हो, त्यहाँका कामदारहरूले मेदेखि जुलाईसम्म कम घण्टा काम गर्नेछन् र केही दिन उत्पादन पूर्ण रूपमा रोकिनेछ । तर कारखाना दुई सिफ्टमा सञ्चालन भइरहनेछ । निसानले भन्सारको अवस्थाअनुसार उत्पादन अवस्थालाई पछि पुनः मूल्याङ्कन गर्ने योजना बनाएको छ । सोमबार ट्रम्पले कार उत्पादकहरूलाई 'थोरै समय आवश्यक छ' भन्दै भन्सार दर परिमार्जन गर्ने सोचमा रहेको बताएका थिए । निसानले एक विज्ञप्ति जारी गर्दै बजार परिवर्तनहरूमा अनुकूल हुने प्रतिबद्धता जनाएको छ र साथै श्रमशक्ति र उत्पादन क्षमतालाई प्राथमिकता दिने बताएको छ । 'हामी तत्काल र दीर्घकालीन प्रभावहरूको व्यवस्थापनमा विचारशील र योजनाबद्ध हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ । फेरि निर्णय फिर्ता रउग अमेरिकी बजारमा निसानको सबैभन्दा धेरै बिक्री हुने मोडेल हो । अघिल्लो वर्ष लगभग २ लाख ४६ हजार युनिट बिक्री भएको थियो, जसले अमेरिकी बजारमा कम्पनीको कुल बिक्रीको चौथाइभन्दा बढी ओगटेको थियो । यस महिनाको सुरुमा निसानले स्मेर्ना कारखानामा उत्पादन कटौती गर्ने योजना फिर्ता लिएको थियो । पहिले एक सिफ्टमा झार्ने योजना भए पनि अब दुई सिफ्टमै उत्पादन कायम राख्ने निर्णय गरिएको हो । अन्य कार निर्माता कम्पनीहरू पनि तयारीमा अन्य कार निर्माता कम्पनीहरू पनि ट्रम्पको भन्सार योजनाबाट बच्न आ-आफ्नो उत्पादन रणनीति परिवर्तन गर्दैछन् । क्र्याएस्लरको अभिभावक कम्पनी स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई कारखानामा उत्पादन रोक्ने निर्णय गरेको छ, जसको असर अमेरिकाका पाँच कारखानामा पर्नेछ र ९०० अमेरिकी कामदारहरू अस्थायी रूपमा बेरोजगार हुनेछन् । होन्डाले भन्सारको सम्भावित असरबाट जोगिन आफ्नो आगामी पुस्ताको सिभिक हाइब्रिड मेक्सिकोको सट्टा अमेरिकाको इन्डियाना राज्यमा उत्पादन गर्ने योजना बनाएको छ । भन्सार लगाउनुअघि नै निसानले आफ्नो वैश्विक उत्पादन क्षमता २० प्रतिशतले घटाउने योजना बनाएको थियो, जसलाई पुनरुत्थान योजना अन्तर्गत कार्यान्वयन गर्ने भनिएको थियो । नयाँ सीईओ ईभान स्पिनोसा अमेरिकी बजारमा निसानको प्रदर्शन सुधार गर्न दबाबमा छन्, जहाँ पुराना मोडेल र हाइब्रिडको कमीले व्यवसाय प्रभावित भएको छ । हालै सकिएको वित्तीय वर्षमा निसानले तीन पटक नाफाको पूर्वानुमान घटाएको थियो । २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड 'रिभोल्ट' नेपालमा सार्वजनिक, ३ लाखदेखि सुरु
काठमाडौं । भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स नेपालमा सार्वजनिक भएको छ । एमभी दुगड समूहले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिभोल्ट मोटर्स सार्वजनिक गरेको छ । एमभी दुगड समूहले काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शो-रूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी दुगड समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी दुगड समूहले दाबी गरेको छ । रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ । यसमा तीनवटा स्मार्ट राइडिङ मोड (ईको, सिटी, स्पोर्ट) रहेका छन् । साथै यसमा मोबाइल एप कनेक्टिभिटी उपलब्ध छ । भेरियन्ट र मूल्य आरभी फोर हन्ड्रेड : यो रिभोल्टको फ्ल्यागशिप मोडेल हो जसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी फोर हन्ड्रेड बीआरजेड : यो प्रदर्शनयुक्त तर पहुँचयोग्य मूल्यको मोटरसाइकल हो, यसको मूल्य ४ लाख १९ हजार रुपैयाँ राखिएको छ । आरभी ब्लेज एक्स : ४ किलोवाट पिक मोटर पावर भएको नयाँ शक्तिशाली भेरियन्ट हो, जसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । आरभी वान प्लस : एक व्यावहारिक र स्टाइलिश कम्युटर बाइक हो, यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी वान : दैनिक यात्राको लागि उपयुक्त इन्ट्री-लेभल इलेक्ट्रिक मोटरसाइकल हो, जसको मूल्य २ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सबै मोडेलहरू आईपी ६७- रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङजस्ता सुविधासहित आएका छन् । इन्टिग्रेटेड मोबाइल कनेक्टिभिटी सुविधाहरूमा जियो-फेन्सिङ, जीपीएस ट्र्याकिङ, ब्याट्री हेल्थ डायग्नोस्टिक्स, एन्टी-थेफ्ट अलर्ट लगायतका फिचर्स समावेश छन् । यी सवारी साधारण १६ ए घरेलु सर्किटबाट पनि सजिलै चार्ज गर्न सकिने सुविधा छ। एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले शुभारम्भ कार्यक्रममा भने, 'हामी रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित छौं । वातावरणमैत्री प्रविधिको माध्यमबाट नेपाली यात्रुहरूलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको घोषणा हो ।’ 'ईन्धनको मूल्यवृद्धि र वातावरणप्रतिको चेतनाको वृद्धिको सन्दर्भमा रिभोल्टका इलेक्ट्रिक बाइकहरू परम्परागत सवारीसाधनको तुलनामा उच्चतम विकल्प हुन्,’ उनले थपे । १५ स्थानमा शो-रूम खोल्ने योजना एमभी दुगड समूहले देशका मुख्य सहरहरू- पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल र धनगढीलगायत १५ स्थानहरूमा शो-रूमहरू खोल्ने योजना बनाएको छ । हरेक शो-रूममा तालिमप्राप्त ईभी प्राविधिक, सर्भिस संरचना र प्रामाणिक सामानहरूको पर्याप्त उपलब्धता हुने जनाइएको छ । रिभोल्टको अग्रिम बुकिङ आजैदेखि खुला गरिएको छ, जहाँ पहिलो १०१ ग्राहकहरूका लागि विशेष लाभ उपलब्ध छन् । एमभी दुगड समूह १४१ वर्ष पुरानो गौरवशाली इतिहास बोकेको एमभी दुगड समूह नेपालकै सबैभन्दा ठूलो र सम्मानित पारिवारिक व्यापारिक समूहहरूमध्ये एक हो । यस समूहले अटोमोबाइल, जलविद्युत्, निर्माण, कृषि, बैंकिङ, जीवन बीमा, साधारण बीमा, पुनर्बीमा र कोल्ड स्टोरेजजस्ता विभिन्न क्षेत्रमा देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रिभोल्ट मोटर्स सन् २०१७ मा स्थापना भएको रिभोल्ट मोटर्स भारतको इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा अग्रणी संस्था हो । यसले इलेक्ट्रिक मोटरसाइकल मात्रै होइन, यसको आधिकारिक डिलरहरूमार्फत सम्पूर्ण पाट्र्स र सामानहरूको आपूर्ति पनि गर्दै आएको छ ।