टेस्लामाथि हमला जारी, रोमको डिलरशिपमा आगलागी हुँदा १७ कार नष्ट

काठमाडौं । अर्बपति एलन मस्कले इटालीको रोमस्थित टेस्ला डिलरशिपमा भएको आगलागीलाई ‘आतंकवादी हमला’को संज्ञा दिएका छन् । उक्त आगलागीमा १७ वटा कार नष्ट भएका थिए । इटालीको विशेष प्रहरी इकाई डिजोसले यस घटनाको अनुसन्धान गरिरहेको छ । सुरक्षा स्रोतका अनुसार अनुसन्धानकर्ताहरूले इटालीको राजधानी रोमको पूर्वी क्षेत्रस्थित उक्त कारहरूमा अराजकतावादीहरूले आगो लगाएको हुनसक्ने आशंका गरेका छन्। मस्कको दक्षिणपन्थी गतिविधिहरूले गर्दा विभिन्न देशहरूमा टेस्ला कारहरूमा तोडफोड तथा आगजनी हुँदै आएको जनाइएको छ । प्रविधि व्यवसायी तथा सोशल मिडिया प्लेटफर्म एक्स (पूरानो ट्वीटर) का मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग आबद्ध भएका छन् र उनले युरोपका दक्षिणपन्थी दलहरूको समर्थन गरेका छन् । मस्कले एक्समा रोम आगलागीसम्बन्धी एक पोस्टमा टिप्पणी गर्दै ‘आतंकवाद’ शब्द प्रयोग गरे । ड्रोनबाट खिचिएको तस्बिरहरूमा आगलागीपछि जलेका कारहरू पार्किङ क्षेत्रमा लाइनमा देखिन्छन्, जसमा दुई पङ्क्तिमा कारहरू एकअर्कासँग जोडिएर राखिएको र तेस्रो पङ्क्ति केही टाढा देखिन्छ । इटालीको अग्नि नियन्त्रक विभागका अनुसार आगलागी सोमबार बिहान करिब ४ः३० बजे भएको थियो । डिलरशिपको केही भाग क्षतिग्रस्त भए पनि कसैलाई कुनै चोटपटक लागेको थिएन । इटालीका उपप्रधानमन्त्री तथा दक्षिणपन्थी लिग पार्टीका नेता मातेओ साल्भिनीले पनि एक्समा मस्कलाई समर्थन जनाउँदै लेखेका छन्, ‘टेस्ला कार कम्पनी विरुद्ध धेरै अनावश्यक घृणा फैलिएको छ । घृणा र द्वन्द्वको यो समय छिट्टै अन्त्य हुनुपर्छ । मेरो ऐक्यबद्धता एलन मस्क र सबै श्रमिकहरूसँग छ, जो धम्की र आक्रमणको सिकार भएका छन् ।’ स्वीडेनका दुई टेस्ला स्टोरहरूमा हमला स्वीडेनको राजधानी स्टकहोम र तटीय सहर माल्मोमा दुई टेस्ला स्टोरहरू र केही कारहरू तोडफोड गरिएको विभिन्न स्वीडिश सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । स्वीडेनको सार्वजनिक प्रसारक एसभीटीका अनुसार माल्मोमा रहेको एक टेस्ला स्टोरमा सुन्तला रङको पेन्ट छ्यापिएको थियो । प्रहरीले चार व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरूको गतिविधिको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ ।

फोटोन माउन्टेन ईभी सार्वजनिक, विद्युतीय पिकअप बजारमा नयाँ युगको सुरुवात

काठमाडौं । फोटोन मोटरले फोटोन माउन्टेन ईभी विद्युतीय पिकअपको नेपालमा आधिकारिक रूपमा सुरुवात गरेको छ । नेपालका विविध भूभाग र चुनौतीपूर्ण सडकहरूलाई ध्यानमा राखी डिजाइन गरिएको यो इलेक्ट्रिक पिकअप देशको दिगोपन लक्ष्यमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइरहेको अवस्थामा फोटोन माउन्टेन ईभी को लन्चले इन्धन निर्भरता घटाउन र कार्बन उत्सर्जन न्यून गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । फोटोन मोटरले उच्च सुरक्षा, दक्षता र प्रदर्शन मापदण्ड पालना गर्ने अत्याधुनिक विद्युतीय सवारीसाधनमार्फत नेपाललाई स्वच्छ ऊर्जा समाधानमा अघि बढाउन प्रतिबद्धता जनाएको छ । फोटोन मोटरका सीईओ तुषार गुप्ताले नेपालका लागि विशेष डिजाइन गरिएको माउन्टेन ईभी को सुरुवातले यातायात क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताए । उनले भने, ‘नेपालको विकसित हुँदै गरेको यातायात क्षेत्रलाई उन्नत कार्यसम्पादन, दिगोपन र विश्वसनीयता आवश्यक छ । फोटोन माउन्टेन ईभी इन्जिनियरिङ उत्कृष्टता र वातावरणीय जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न तयार पारिएको यो मोडेलले टिकाउ, कुशल र पर्यावरणमैत्री यातायात समाधान प्रदान गर्नेछ ।’ फोटोन माउन्टेन ईभीले बलियो, टिकाउ र वातावरणमैत्री विकल्प प्रदान गर्दै नेपालको पिकअप ट्रक बजारमा नयाँ युगको सुरुवात गर्नेछ । व्यवसाय, फ्लीट अपरेटर तथा दिगो यातायात समाधान खोज्ने प्रयोगकर्ताहरूका लागि यो भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ । नेपालको सडक संरचना र जलवायुअनुसार विशेष रूपमा डिजाइन गरिएको फोटोन माउन्टेन ईभीले विद्युतीय सवारीसाधनको बजार विस्तार गर्न योगदान दिने विश्वास गरिएको छ ।

आर्थिक संकटमा जुधिरहेको एस्टन मार्टिनलाई १६२ मिलियन डलरको लगानी प्रवाह

काठमाडौं । लक्जरी कार निर्माता एस्टन मार्टिनले कम्पनीको अध्यक्षबाट प्राप्त वित्तीय सहायता र उनले स्वामित्वमा राखेको फर्मुला वन टोलीको हिस्साको बिक्रीमार्फत १६२ मिलियन डलर (करिब २१ अर्ब ५४ करोड ६० लाख नेपाली रुपैयाँ) उठाउने भएको छ । मार्टिन बढ्दो घाटासँग जुधिरहेको छ । त्यसैले उक्त रकम उठाउन लागिएको हो । फिल्मी जासूस जेम्स बन्डको मनपर्ने कारका रूपमा चर्चित यस कम्पनीको सेयर सोमबारको सुरुवाती कारोबारमा ५.७ प्रतिशतले बढेर ६९ पेन्स पुगेको छ । पछिल्ला वर्षहरूमा आपूर्ति शृङ्खला समस्या, डेलिभरीमा ढिलाइ र चीनमा घट्दो मागका कारण एस्टन मार्टिन संकटमा परेको छ । अध्यक्ष लरेन्स स्ट्रोलले २०२० मा कम्पनीको नेतृत्व सम्हालेयता यो छैटौं पटक पूँजी संकलन गर्न बाध्य भएको छ । साथै कम्पनीले आफ्नो ५ प्रतिशत कर्मचारी कटौती गरेको छ । स्ट्रोलले हालसम्म एस्टन मार्टिनमा करिब ६०० मिलियन पाउन्ड लगानी गरिसकेका छन् । अब उनको यु ट्री कन्सोर्टियमले ५२.५ मिलियन पाउन्ड थप लगानी गर्दै ७५ मिलियन सेयर ७० पेन्स प्रति सेयरको दरमा खरिद गर्नेछ । यो सम्झौताले उनको हिस्सेदारी करिब २७.७ प्रतिशतबाट ३३ प्रतिशतसम्म बढाउनेछ । एस्टन मार्टिनले यु ट्रीले आफ्नो स्वामित्व ३५ प्रतिशतसम्म बढाउने इच्छा व्यक्त गरेको पनि बताएको छ । यु ट्रीले बेलायतमा सूचीबद्ध कुनै पनि कम्पनीको ३० प्रतिशतभन्दा बढी स्वामित्व भएकाले बाँकी सेयरधारकहरूको सेयर खरिद गर्न अनिवार्य प्रस्ताव गर्ने नियमबाट छुट माग्नेछ । यसका अतिरिक्त एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीको हिस्साको बिक्रीले हाल बुक भएको मूल्य करिब ७४ मिलियन पाउन्डभन्दा बढी प्रिमियम प्राप्त गर्न मद्दत गर्ने बताइएको छ । कम्पनीले अब वार्षिक कार बिक्रीमा ’सामान्य वृद्धिको’ अपेक्षा गरेको छ । यो संशोधित पूर्वानुमान ट्रम्प प्रशासनले संयुक्त राज्य अमेरिकामा लगाउन सक्ने सम्भावित ट्यारिफको प्रारम्भिक विश्लेषणमा आधारित छ ।