भोल्भोले मेक्सिकोमा लगानी बढाएर १ अर्ब डलर पुर्याउने
काठमाडौं । स्वीडेनको एबी भोल्भोले मेक्सिकोको उत्तरमा रहेको न्युभो लिओन राज्यमा निर्माणाधीन ट्रक कारखानामा लगानी बढाएर १ अर्ब डलर पुर्याउने भएको छ । मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले बिहीबार उक्त जानकारी दिएका हुन् । भोल्भोले अगष्ट महिनामा मेक्सिकोको उत्तरी औद्योगिक केन्द्र मोन्टेरेको छेउमा रहेको स्थानलाई आफ्नो नयाँ उत्तर अमेरिकी भारी ट्रक कारखानाका लागि चयन गरेको घोषणा गरेको थियो । उक्तबेला यसको निर्माण लागत ७० करोड डलर अनुमान गरिएको थियो । 'गजब समाचार !' एब्रार्डले एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै भोल्भोको मुख्यालय स्वीडेनबाट उच्च लगानीको निर्णयबारे जानकारी पाएको बताएका छन् । उक्त कारखानाबाट उत्पादन सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ ।
बीवाईडीको नयाँ अभियान : गंगा नदीमा डल्फिन बचाउन सहयोग गर्ने
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकद्वारा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले नेपालमा संकटग्रस्त डल्फिन संरक्षणका लागि ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । विश्व जलचर जनावर दिवसको अवसरमा पाटन संग्रहालयमा आयोजित विशेष समारोहमा उक्त परियोजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार नेपालका नदीनालामा पाइने गंगा नदी डल्फिन संकटग्रस्त प्रजातिमा पर्छन् । सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा जम्मा ५२ वटा डल्फिन मात्र बाँकी रहेको तथ्यांक छ । बीवाईडी डल्फिन ईभी को लोकप्रियतासँगै डल्फिन संरक्षणलाई जोड्दै यो परियोजना नेपालको जैविक विविधता जगेर्ना गर्न विशेष पहल हुने आयोजकहरूले बताएका छन् । उद्घाटन समारोहमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसनविषयमा विशेष प्यानल डिस्कसन सम्पन्न भयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक छत्रमान शर्मा, जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक सृष्टि सिंह भण्डारी तथा डब्लुडब्लुएफका फ्रेसवाटर कार्यक्रम संयोजक आशीष कपाली प्यानलिस्टका रूपमा उपस्थित थिए । वन्यजन्तु संरक्षणका लागि विशेष योगदान पुर्याएका ९१ वर्षीय भोजराज श्रेष्ठ (गुलेली बाजे) लाई सम्मान गरिएको थियो । उनले बालबालिकाबाट ८,००० भन्दा बढी गुलेली संकलन गरी चरा तथा अन्य जीवजन्तुहरूको सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए । बालबालिकालाई डल्फिन संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यले ‘डल्फिनको सपना’ नामक पुस्तक लोकार्पण गरियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित उक्त पुस्तकलाई बीवाईडीका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य तथा लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरेका हुन् । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ डल्फिन मात्र होइन, तिनको बासस्थान, जंगल, नदी तथा समुदायको संरक्षणका लागि विस्तारित परियोजना हो । उनले भने, 'बीवाईडी केवल ईभी गाडीको प्रवर्द्धनमा सीमित छैन, हामी वातावरण संरक्षण र दिगो विकासको पक्षमा पनि दृढ प्रतिबद्ध छौं ।' बीवाईडीको नवप्रवर्तन र संरक्षण प्रयासलाई एकसाथ अगाडि बढाउँदै सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालमा जैविक विविधताको रक्षा गर्ने र भविष्यमा थप संरक्षण पहलकदमी ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने
काठमाडौं । निसान मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अटो ट्यारिफहरू पछि मेक्सिकोमा बनेका दुई इन्फिनिटी एसयूभीहरूको लागि अमेरिकाबाट नयाँ अर्डरहरू नलिने निर्णय गरेको बिहीबार जनाएको छ । यस निर्णयले संयुक्त उद्यम प्लान्टमा आफ्नो सञ्चालनलाई निकै घटाउने विज्ञहरू बताउँछन्। निसानले जनवरीमा घोषणा गरेअनुसार अप्रिल महिनादेखि टेनेसीको स्मिर्ना प्लान्टमा रोक्ने भनेको एक सिफ्टको उत्पादनलाई निरन्तरता दिँदै दुई सिफ्ट सञ्चालन गर्ने भएको छ । जापानी अटोमेकर निसानले अब मेक्सिकोमा मर्सिडिज–बेन्जसँग मिलेर सञ्चालन गरिएको कम्पास प्लान्टमा उत्पादन गरिएका इन्फिनिटी क्यूएक्स फिफ्टी र क्यूएक्स फिफ्टी फाइभ एसयूभीहरूको लागि अमेरिकी बजारमा थप अर्डर स्वीकार नगरिने जनाएको छ । तर, अन्य बजारहरूका लागि ती मोडेलहरूको उत्पादन जारी रहने बताइएको छ । अन्य बजारहरूमा कति उत्पादन निर्यात भइरहेको छ भन्ने कुरा अहिले स्पष्ट छैन । मेक्सिकोको राष्ट्रिय तथ्यांक एजेन्सीका अनुसार यी दुई इन्फिनिटी मोडेलहरू अहिलेसम्म मेक्सिकोबाट केवल अमेरिकामा निर्यात गरिएको थियो । शुक्रबार जापानस्थित निसानका प्रवक्ताले यी मोडेलहरू मध्य पूर्व र क्यानडाजस्ता अन्य बजारहरूमा पनि पठाउने जानकारी दिए । तर थप विवरण तत्काल उपलब्ध गराउन सकेनन् । ट्रम्पको २५ प्रतिशत विश्वव्यापी कार र ट्रक ट्यारिफ बिहीबारदेखि लागू भएको छ । निसान अमेरिकामा पुराना मोडेलहरू र हाइब्रिड गाडीहरूको अभावका कारण संघर्षरत छ । यसले जापानी अटोमेकरहरूमध्ये सबैभन्दा धेरै संख्यामा गाडीहरू मेक्सिकोबाट अमेरिकामा निर्यात गर्ने भएकाले नयाँ ट्यारिफबाट विशेष रूपमा प्रभावित हुने देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा तीन पटकसम्म नाफा अनुमान घटाएको थियो । निसानका नयाँ सीईओ ४६ वर्षीय इभान एस्पिनोसाले नयाँ गाडीहरू विकास गर्न आवश्यक समयलाई निकै छोटो बनाउने प्रतिबद्धता जनाएका छन् । उनी पहिला कम्पनीको योजनाका प्रमुख थिए र मेक्सिकोका नागरिक हुन् ।