अटो व्यवसायी गोल्छा महासंघको एसोसियट सदस्यमा निर्वाचित
काठमाडौं । अटो व्यवसायी तथा नाइमाका सदस्य हेमन्त गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा निर्वाचित भएका छन् । महासंघको ६०औं वार्षिक साधारणसभाका क्रममा नेतृत्वका लागि भएको निर्वाचनमा उनले एसोसियट सदस्यमा १२०२ मतसहित निर्वाचित भएका हुन् । उनी सांग्रिलामोटर्सका प्रबन्ध निर्देशक समेत हुन् । सांग्रिला मोटर्सले नेपालमा सिट्रोन, लीपमोटर, सी-१०, बी-१०, टी-०३ लगायत मोडेल बिक्री गर्दै आइरहेको छ । उनको हुलास रेमिटेन्स पनि छ ।
युरोपेली बजार लक्षित गर्दै डोंगफेङले जर्मनीमा खोल्यो नयाँ डिजाइन हब
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गर्दै जर्मनीको म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले एम हिरो र भोएज जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ । डोंगफेङको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । जनवरी २९ मा सम्पन्न उद्घाटन समारोहले चिनियाँ अटोमोबाइल कम्पनीको युरोपतर्फको रणनीतिक विस्तारलाई स्पष्ट संकेत दिएको छ । यो नयाँ केन्द्र डोंगफेङको एकीकृत विश्वव्यापी प्लेटफर्मको हिस्सा हुनेछ । यससँगै कम्पनीले चीनका वुहान र सांघाईमा रहेका स्टुडियोहरूसँगै अब जर्मनीमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीका अनुसार, म्युनिखस्थित स्टुडियोले एम हिरो र भोएज ब्रान्डका परियोजनामा केन्द्रित भई युरोपेली ग्राहकहरूको आवश्यकता अनुरूप डिजाइन विकास गर्नेछ । डोंगफेङका अनुसार म्युनिख छनोट गर्नुको विशेष कारण छ । बाभेरियाको राजधानी म्युनिख अटोमोबाइल डिजाइन र इन्जिनियरिङका लागि विश्वकै अग्रणी केन्द्रहरूमध्ये एक मानिन्छ । यस केन्द्रले क्लाउड सोलुसन, भर्चुअल प्रविधि तथा एआई टुलहरूको प्रयोगमार्फत सहकार्यलाई सहज बनाउँदै विकास प्रक्रियालाई तीव्र बनाउनेछ । डिजाइनबाहेक, म्युनिख स्टुडियोले विश्वव्यापी मार्केटिङ र ब्रान्ड रणनीतिमा पनि योगदान पुर्याउनेछ । यसले नयाँ बजारको मागअनुसार उत्पादनहरूलाई छिटो अनुकूल बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यस पहलले प्रिमियम सेग्मेन्टमा डोंगफेङको उपस्थितिलाई थप मजबुत बनाउनेछ । युरोपमा गुणस्तर र सौन्दर्यका उच्च मापदण्डलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो स्थान सुदृढ गर्ने लक्ष्य लिएको छ । घरेलु बजार बाहिर विस्तार गर्ने रणनीति अनुरूप डोंगफेङले युरोपमा डिजाइन केन्द्र स्थापना गरेको हो । युरोपेली ट्रेण्डलाई ध्यानमा राखेर एम हिरो र भोएज मोडेल विकास गर्नु युरोपियन युनियनमा सफल विस्तारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
अटोमोबाइल वस्तुमा एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक बनाउन नाडाको माग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोवाइलका पार्टपूर्जा तथा वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचीसहितको स्टिकर टाँस्ने सरकारको नयाँ व्यवस्थालाई व्यावहारिक बनाउन माग गरेको छ । आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गरी यस विषयमा विस्तृत छलफल गरेको हो । छलफलका क्रममा नाडाका अध्यक्ष उप्रेतीले सरकारले ल्याएको दीर्घकालीन नीतिले आयात व्यवसायलाई व्यवस्थित, स्वच्छ र पारदर्शी बनाउनुका साथै सरकारको राजस्व वृद्धिमा समेत मद्दत पुग्ने बताए । अध्यक्ष उप्रेतीले नेपालमै हाल सिकेडी मोडेलमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका साथै टायर, लुब्रिकेन्ट्स र ब्याट्रीहरूको उत्पादन भइरहेको जानकारी समेत मन्त्रीलाई गराए । कार्यान्वयनको तहमा रहेका केही व्यावहारिक जटिलताहरूबारे नाडाले मन्त्रीको ध्यानाकर्षण गराएको छ । एउटै बक्सभित्र सयौंको सङ्ख्यामा आउने साना स्पेयर पाट्र्सहरूमा छुट्टाछुट्टै स्टिकर टाँस्न प्राविधिक रूपमा कठिन हुने, भन्सारमा बण्डेड वेयर हाउसको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने बाध्यता अव्यावहारिक रहेको लगायतका विषयमा ध्यानाकर्षण गराएको हो । यी समस्याहरूलाई दृष्टिगत गर्दै व्यवसायीहरूका लागि सहजीकरण गरिदिन नाडाले आग्रहसमेत गरेको छ । छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिले नाडाले नै पहिलोपटक सरकारलाई एमआरपी र स्टिकरको विषयमा सुझाव दिएको स्मरण गराए भने सचिव मेघराज पौडेलले स्टिकर टाँस्ने सम्बन्धमा देखिएका व्यावहारिक कठिनाइहरूबारे जानकारी गराए । नाडाको सुझावलाई सकारात्मक रूपमा लिँदै मन्त्रीले हालको परिस्थिति र व्यावहारिक पक्षलाई हेरेर यो व्यवस्थालाई केही समयका लागि पछाडि सारेर भए पनि समस्या समाधान गरिने आश्वासन दिइन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते एक सूचना जारी गर्दै विदेशबाट पैठारी हुने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा एमआरपी उल्लेख हुनुपर्ने, बिक्री गर्दा बिजक जारी गर्नुपर्ने र स्वदेशी उद्योगको हकमा प्याकेजिङमै मूल्य, ब्याच नम्बर, तौल र म्याद स्पष्ट देखिने गरी स्थायी लेबल राख्नुपर्ने व्यवस्था गरेको थियो । भेटघाटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्यहरू दिवाकर मिश्र, नविन पारख र नारायणप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।