गाडीमा कर नबढ्नेमा व्यवसायी ढुक्क

काठमाडौं । नेपालको अटो क्षेत्रमा हरेक वर्ष बजेट आउनुअघि व्यवसायीहरूले धमाधम गाडी भित्र्याउने अभ्यास छ । भन्सारबाट छिटो-छिटो गाडी छुटाउने र स्टक थुपार्ने होडबाजी चल्ने गर्छ । आगामी बजेटले करका दर बढाउन सक्ने त्रासका कारण व्यवसायीहरूले पहिल्यै ठूलो परिमाणमा सवारीसाधन आयात गर्ने प्रवृत्ति देखिँदै आएको हो । तर, यस वर्ष भने अटो व्यवसायीहरू तुलनात्मक रूपमा मौन देखिएका छन् । उनीहरू मौन देखिनुको मुख्य कारण नयाँ सरकारप्रति बढेको विश्वास हो । नयाँ सरकारले बजेटमार्फत करको दर नबढाउनेमा व्यवसायीहरू ढुक्क छन् । बरु यसपटक कर घटाएर ल्याउनेमा उनीहरू आशावादी देखिन्छन् । आगामी आर्थिक वर्षको बजेट आउन अब एक महिना मात्र बाँकी रहँदा अटो बजारमा उत्साहभन्दा बढी प्रतिक्षाको अवस्था छ । विगतका वर्षहरूमा बजेटअघि नै गाडी आयात बढाउने प्रवृत्ति रहे पनि यसपालि व्यवसायीहरूले ठूलो स्टक राख्न छाडेका छन् । व्यवसायीहरूका अनुसार बजारमा माग निकै न्यून छ । साथै, नयाँ बजेटले करका दर घटाउन सक्ने हल्लाले पनि उनीहरूलाई ठूलो परिमाणमा गाडी आयात गर्नबाट रोकेको छ । अहिले अटो व्यवसायीहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटअघि ईभीमा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले एकैपटक ३ हजार ६ सय ३३ गाडी आयात गरेका थिए । तर, सरकारले कर नबढाएर स्थिर कायम गरेपछि ती गाडी स्टकमा थुप्रिए । यसले व्यवसायीहरूलाई थप दबाबमा पारेको थियो । लामो समयसम्म गाडी बिक्री नहुँदा चोभारस्थित सुख्खा बन्दरगाहको पार्किङ शुल्क निरन्तर तिर्नुपरेको थियो भने बैंकको ब्याजको भार पनि थपिएको थियो । फलतः गाडी बिक्रीमा चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो । गत वर्षको तुलनामा यसपालि ट्रेन्ड निकै फरक देखिएको टोयोटा नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका मार्केटिङ हेड महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार पहिले बजेटअघि गाडीको मूल्य बढ्ने अनुमानमा धेरै गाडी आयात गरिन्थ्यो । तर, अहिले अधिकांश उपभोक्ता कर घट्ने अपेक्षामा छन् । अर्थमन्त्री स्र्वणीम वाग्लेले पनि केही संकेत दिएकाले व्यवसायीहरू बजेट भाषणको प्रतीक्षामा रहेको उनले बताए । श्रेष्ठले भने, ‘अहिले ३/४ करोडका गाडी स्टकमा राख्न जोखिमपूर्ण रहेकाले व्यवसायीहरूले केवल मागअनुसारको नियमित आयात मात्र गरिरहेका छन् ।’ यस्तै, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा फोर्स मोटरका लागि नेपालको आधिकारिक विक्रेता हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब थापाले अटो बजार अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । उनका अनुसार व्यवसायी मात्र होइन, ग्राहक पनि बजेटकै प्रतीक्षामा छन् । सरकार परिवर्तन र अर्थमन्त्रीका अभिव्यक्तिले बजारमा अन्योलता बढाएको उनको भनाइ छ । थापाले भने, ‘बजेटमा गाडीको मूल्य घट्छ कि भन्ने हल्लाले गर्दा ग्राहकहरूले खरिद योजना बजेटपछिका लागि सारेका छन् ।’ उनका अनुसार यसले समग्र बजारको मागमा करिब १५ देखि २० प्रतिशतसम्म गिरावट आएको छ । विगत १०/१२ वर्षको अनुभव सुनाउँदै उनले भने, ‘पहिले बजेटभन्दा एक महिनाअघि नै भन्सार यार्डहरू गाडीले भरिन्थे, तर यसपालि त्यस्तो मुभमेन्ट कतै देखिँदैन ।’ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले पनि यस वर्ष तत्काल गाडी आयात गर्ने योजना नरहेको बताए । उनले भने, ‘यस वर्ष स्थिर सरकार आएको छ । यो सरकारले करको दर घटाउनेमा हामी आशावादी छौं । बजेट आइसेपछि मात्रै गाडी ल्याउँछौं ।’ उनका अनुसार कर घट्ने चर्चाले ग्राहकहरूमा पनि केही सकारात्मक अपेक्षा सिर्जना गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि गत वर्षको तुलनामा यस वर्ष बजेट सार्वजनिक भएपछि मात्रै गाडी आयात गर्ने जनाएको छ । व्यवसायीहरूका अनुसार हाल बजार केही सुस्त देखिए पनि बजेटलगत्तै नयाँ मोडल भित्र्याउने तयारी भने तीव्र छ । विशेषगरी चीनमा भइरहेको ‘बेइजिङ अटो शो’ पछि नयाँ ब्रान्ड र मोडलहरू नेपाल भित्रिने क्रम बढ्ने अपेक्षा गरिएको छ । टोयोटाले पनि आफ्नो नयाँ मोडल ‘¥याभ-४ हाइब्रिड’ आगामी १५/२० दिनभित्र नेपाल ल्याउने तयारी गरेको जनाएको छ । धेरैजसो नयाँ गाडी र बाइकहरू आगामी ‘अटो शो’ मा सार्वजनिक गर्ने गरी व्यवसायीहरूले तयारी गरिरहेका छन् । अहिले विद्युतीय सवारी (ईभी) को बजार राम्रो रहे पनि अफरोडका लागि डिजेल गाडीको माग पनि उत्तिकै रहेको व्यवसायीहरू बताउँछन् । समग्रमा, अटो बजार अहिले आगामी बजेटको स्पष्ट मार्गचित्रको प्रतीक्षामा छ । करका दर घट्ने आशामा रहेका ग्राहक र जोखिम लिन नचाहने व्यवसायीका कारण आयात र बिक्री दुवैमा सुस्तता देखिएको छ ।  

शेखर गोल्छा पक्राउबारे आपत्ति जनाउँदै नाडाले भन्यो- अनुसन्धानमा सहयोग गर्छौं, थुन्ने काम नहोस्

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्ना पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी शेखर गोल्छामाथि भइरहेको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै नाडाले गोल्छा नेपालको औद्योगिक एवं व्यावसायिक जगतको एक सम्मानित व्यक्तित्व भएको र उनले समग्र निजी क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ । यस्तो गरिमामय इतिहास बोकेको व्यक्तित्वमाथि गरिने 'अन्यायपूर्ण व्यवहार'ले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ । नाडाले राज्यको अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्ने स्पष्ट पार्दै अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वास घटाउने बताएको छ ।  ‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। नाडाले सरकार र सम्बन्धित निकाय समक्ष शेखर गोल्छालाई पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन  अनुरोध गरेको छ । दोषी प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको नाडाको भनाइ छ । निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडाले सरकारसँग जोडदार माग समेत गरेको छ ।

सिप्रदी अटोपार्ट्सको ‘सक्कली टाटा जेन्युन पार्ट्स’ अभियान सुरु

काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी–पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स प्रयोग गरौं’ भन्ने देशव्यापी सचेतना अभियान सुरु गरेको छ । गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडीधनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो । अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू, विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र तथा यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन् । ‘सक्कली टाटा जेन्युन पार्ट्स यसरी चिन्नुहोस्’ भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएर सक्कली पार्ट्सको महत्त्वबारे जानकारी दिइरहेको छ । बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छ । पहिलो, टाटा जेन्युन पार्ट्स र टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन । दोस्रो, सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने ‘कन्ट्री कोड’ राखिएको हुन्छ । तेस्रो, पार्ट्स वा फ्लुइड्सको बट्टामा ‘सिप्रदी अटोपार्ट्स’ को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ, जसलाई हेरेर मात्र खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । प्राविधिकहरूका अनुसार नक्कली पार्ट्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो परे पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्न सक्छ । सक्कली पार्ट्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । सरकारले सीमामा गरेको कडाइले नक्कली पार्ट्सको व्यापार निरुत्साहित भइरहेको अवस्थामा मुख्य सहरहरूबाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट जोगाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । सिप्रदी अटोपार्ट्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा आफ्नै नेटवर्कमार्फत मात्र टाटाका जेन्युन पार्ट्स खरिद गर्न अनुरोध गरेको छ ।