बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव
काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (बीएमसीभी) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ । यस अवसरमा बीएमसीभीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको छ । साथै कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना नागरिक लाभान्वित भएका छन् । व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको हो । पर्यावरणीय जिम्मेवारीतर्फ पनि बीएमसीभीले विशेष ध्यान दिएको छ । कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी, मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो।
शेखर गोल्छा पक्राउप्रति आपत्ति जनाउँदै नाइमाले भन्यो– प्रमाणबिना उद्योगीमाथि प्रहार नगर
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग जोडिएको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाइमाको बोर्ड सदस्यसमेत रहेका गोल्छामाथि भइरहेको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संस्थाले शुक्रबार (आज) एक विज्ञप्ति जारी गरी राज्यका निकायहरूलाई संवेदनशीलता अपनाउन र विधिको शासन कायम राख्न आग्रह गरेको हो । नाइमाले कुनै पनि व्यक्तिमाथि कारबाही वा प्रक्रिया अघि बढाउँदा सम्बन्धित पक्षलाई आफ्नो कुरा राख्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्दछ । प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास सुदृढ हुन्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा निजी क्षेत्रको ठूलो योगदान रहेको स्मरण गराउँदै नाइमाले राज्यको व्यवहार सकारात्मक हुनुपर्ने उल्लेख गरेको छ । ‘निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलता जोगाउने दिशामा राज्यले उचित नीतिगत सन्देश दिनु आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ । संस्थाले आफू पारदर्शिता र विधिको शासनको पक्षमा रहेको पनि प्रष्ट पारेको छ। कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा नाइमाले जोड दिएको छ । कानुन उल्लंघन गर्ने जो-कोहीमाथि कारबाही हुनुपर्छ भन्नेमा संस्था अडिग रहेको विज्ञप्तिमा उल्लेख छ । पर्याप्त प्रमाणबिना कसैमाथि कठोर कदम चाल्दा समग्र आर्थिक प्रणाली र विश्वासमा धक्का लाग्ने चेतावनीसमेत नाइमाले दिएको छ । शेखर गोल्छालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूरमा संलग्न रहेको देखिएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’मा बुढाथोकीले जिते टाटा ईभी कार, अन्यले के के पाए ?
काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म ‘इनड्राइभ’ ले आफ्ना उत्कृष्ट चालकहरूलाई पुरस्कार वितरण गरेको छ । प्लाटिनम ड्राइभर गिभअवे कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना प्लाटिनम श्रेणीका चालकहरूलाई कार, स्कुटरदेखि महँगा स्मार्टफोनसम्मका उपहारहरू प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक समारोहका बीच कम्पनीले विजेताहरूको घोषणा गर्दै पुरस्कार हस्तान्तरण गरेको छ। कार्यक्रममा इनड्राइभ नेपालको नेतृत्व टोलीले चालकहरूको मेहेनत र इमानदारीको कदर गर्दै उनीहरूलाई हिरोको संज्ञा दिएको थियो । यस वर्षको गिभअवेमा सबैभन्दा ठूलो पुरस्कार टाटा एक्सप्रेस-टी इलेक्ट्रिक कार पेशल बुढाथोकीले जित्न सफल भएका छन् । सपरिवार स्टेजमा पुगेर कारको साँचो ग्रहण गर्दै बुढाथोकीले आफ्नो खुसी व्यक्त गरे । कम्पनीले उपहारमा लाग्ने सम्पूर्ण कर आफैले बेहोरेका कारण विजेताले पूर्ण रूपमा निःशुल्क कार प्राप्त गरेका हुन् । कार्यक्रममा दुई जना भाग्यशाली राइडरहरूले याडियाको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । स्कुटर जित्नेहरूमा २१ वर्षीय साम्देन तामाङ अर्थात् कुन्साङ र सरोज खतिवडा रहेको छ । यसैगरी, १६ जना चालकहरूले सामसङका नयाँ स्मार्टफोनहरू प्राप्त गरेका छन् भने ४ जना चालकहरूलाई परिवारसहित ५ तारे रिसोर्टमा बस्ने स्टेकेसन प्याकेज उपहार दिइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘हामी हाम्रा चालक साथीहरूलाई केवल सेवा प्रदायक मात्र होइन, इनड्राइभ परिवारको अभिन्न अंग मान्छौं । उहाँहरूको मेहेनतकै कारण इनड्राइभ आज नेपालको नम्बर १ राइड सेयरिङ एप बन्न सफल भएको हो ।’ त्यस्तै, सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले कम्पनीले हालै मात्र चालकहरूलाई प्रोत्साहन गर्न २७ लाख रुपैयाँ बराबरको इन्धन समेत वितरण गरेको जानकारी दिइन् । उनले भनिन्, ‘हामी हाम्रा ड्रानइभर्स पार्टनर्सहरु इनड्राइभका मुख्य आधार हुन् । उहाँहरूलाई सम्मान गर्नु हाम्रो दायित्व हो । यस पहलले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उहाँहरूको आयआर्जनमा सहयोग पुग्दा हामी उत्साहित छौं ।’ किन दिइन्छ यो पुरस्कार ? इनड्राइभका अनुसार यो पुरस्कार केवल भाग्यको आधारमा मात्र नभई चालकको कार्यसम्पादन, यात्रुहरूको रेटिङ र नियमको पालनाका आधारमा दिइने गरिन्छ । प्लाटिनम स्टाटस कायम राख्ने र उच्च गुणस्तरीय सेवा दिने चालकहरू मात्र यो प्रक्रियामा सहभागी हुन पाउँछन् । यस किसिमको प्रोत्साहनले चालकहरूमा थप उत्साह जगाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने कम्पनीको योजना छ ।