नेपालमै बन्यो विद्युतीय बस, मासिक ५०० उत्पादन गर्ने लक्ष्य
काठमाडौं । स्वदेशी सीप र प्रविधिको प्रयोग गर्दै नेपालमै पहिलो पटक विद्युतीय बस उत्पादन गरिएको छ । सुन्दर अटो इन्जिनियरिङ प्रालिले देशमै पहिलो विद्युतीय बस उत्पादन गरेको हो । कम्पनीले बुटवलमा १४ सिटे ५० वटा विद्युतीय बस उत्पादन गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । थापाका अनुसार बस उत्पादन गरेर गत सोमबार परीक्षण पनि गरिसकेको छ । कम्पनीका अनुसार बसको ६० प्रतिशत पाटपुर्जा नेपालमै बनेका हुन् भने ४० प्रतिशत पाटपुर्जा भारत र चीनबाट आयात गरिएको हो । अध्यक्ष थापाले काठमाडौंका मुख्य क्षेत्रहरू चक्रपथ, लाजिम्पाट, रत्नपार्क, त्रिपुरेश्वर, कलंकी, कोटेश्वर र गौशाला लगायतका रुटहरूमा परीक्षण गरेर सञ्चालन गर्ने तयारी गरेको बताए । उनका अनुसार परीक्षणका क्रममा गाडीको पफर्मेन्स सोचेभन्दा उत्कृष्ट पाइएको हो । उनले केही पाटपुर्जा विदेशबाट र नेपालमा खरिद गरेपछि बस बनाउन पाँच दिनको समय लागेको जानकारी दिए । ७ दिनभित्र गाडी सडकमा ल्याउने प्रतिबद्धता जनाएको सुन्दर यातायातले मात्र ५ दिनमा पेन्टसहित गाडी तयार पारेर सडकमा उतारेको अध्यक्ष थापाले जानकारी दिए । ‘हामीले ७ दिन भनेका थियौं, तर ५ दिनमै सबै काम सकेर सडकमा ल्याउन सफल भयौं,’ थापाले विकासन्युजसँग भने । यो गाडीले एक पटकको फुल चार्जमा १५० किलोमिटरको रेन्ज दिने बताए । महिनामै ५०० गाडी उत्पादनको लक्ष्य सुन्दर यातायातले आफ्नै देशमा गाडी उत्पादन गरेर सयौंलाई रोजगारी दिने र नयाँ प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । तर, नीतिगत असहयोग र कर्मचारीतन्त्रको झन्झटले भने समस्या सिर्जना गरेको कम्पनीको गुनासो छ । कम्पनीका अध्यक्ष थापा भन्छन्, ‘बाहिरबाट ४०/५० लाखमा गाडी आयात गर्दा यातायात विभागले सजिलै पास गर्छ । तर, आफ्नै देशमा बनाउँदा मापदण्डको नाममा अल्झाउने काम गरिन्छ ।’ नेपाल सरकारले दृढ इच्छाशक्ति देखाउने हो भने ७ दिनभित्र ५० वटा र एक महिनाभित्र ५०० वटा गाडी सडकमा उतार्न सकिने दाबी कम्पनीले गरेको छ । सुन्दर यातायातले अहिले ‘युरो-६’ को मापदण्डलाई पछ्याउँदै गुणस्तरीय गाडी उत्पादन गरिरहेको उनको भनाइ छ । स्वदेशी उद्यमीलाई हौसला प्रदान गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन यो प्रोजेक्ट कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । अब केवल सरकारले नेपालमै बनेको सामानलाई प्राथमिकता दिएर दर्ता र लाइसेन्सको प्रक्रिया सहज बनाइ दिनुपर्ने कम्पनीको माग छ । नेपालमै गाडी एसेम्बल हुँदा देशको पुँजी विदेशिनबाट जोगिने मात्र होइन, नेपाली युवाहरूले स्वदेशमै अत्याधुनिक प्रविधि सिक्ने अवसर समेत पाउने थापाको भनाइ छ । कम्पनीले अहिले चिनियाँ कम्पनी बीएकेको प्राविधिक सहयोगमा गाडी उत्पादन गरिरहेको छ । अध्यक्ष थापाले स्वदेशी प्रविधि र श्रम प्रयोग गरी तयार गरिएको उक्त सवारीलाई अब यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रियामा लैजाने बताए । गाडीको प्रारम्भिक डिजाइन भारतमा तयार गरिए पनि बडी डिजाइन, वायरिङ तथा अधिकांश संरचना नेपालमै निर्माण गरिएको कम्पनीको दाबी छ । प्रयोग गरिएका सबै सामग्री नेपाल गुणस्तर चिह्न प्राप्त रहेको थापाले दाबी गरे । १४ जना यात्रु बोकेर १७ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको छ । पहिलो चरणमा काठमाडौं, चितवन र बुटवलमा सञ्चालन गर्ने योजना कम्पनीको छ । त्यसपछि क्रमशः देशका अन्य सहर क्षेत्रमा विस्तार गरिने योजना कम्पनीको छ । बजारको मागअनुसार उत्पादन बढाइने अध्यक्ष थापाको भनाइ छ ।
शक्तिशाली टर्बो इन्जिनसहित स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा, सुरुवाती मूल्य ४५ लाख ९० हजार
काठमाडौं । एमएडब्लु ग्रुपले स्कोडाको ‘काइल्याक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा मंगलबार एक कार्यक्रमको आयोजना गरी नयाँ गाडी सार्वजनिक गरिएको हो । १.० लिटरको शक्तिशाली टर्बो इन्जिन जडित काइल्याकलाई कम्पनीले पकेट रकेटको संज्ञा दिएको छ । यसले आफ्नो सेगमेन्टमै सबैभन्दा बढी ११५ बीएचपी पावर र १७८ एनएम टर्क पैदा गर्छ । लन्च कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भने, ‘यो गाडीको अद्भूत क्षमता प्रदर्शन गर्न नै हामीले चन्द्रागिरी जस्तो उकालो र कठिन बाटो रोजेका हौं । यसको पावर र पर्फर्मेन्सले जो कोहीलाई आकर्षित गर्नेछ ।’ स्कोडा काइल्याकको सुरुवाती मूल्य ४५ लाख ९० हजार रुपैयाँ (म्यानुअल) र ५२ लाख ९० हजार रुपैयाँ (अटोमेटिक) तोकिएको छ । अग्रवालका अनुसार यो आफ्नो श्रेणीमा नेपालकै सबैभन्दा किफायती अटोमेटिक एसयूभी हो । उनले एमएडब्लुले विगत ६० वर्षदेखि नेपाली ग्राहकहरूको सेवा गरिरहेको र स्कोडासँगको १८ वर्ष लामो सहकार्यले विश्वासको नयाँ उचाइ छोएको बताए । ‘हाम्रो मुख्य मन्त्र ‘कस्टमराइजेसन’ हो । हामी जे गर्छौं, ग्राहकलाई केन्द्रमा राखेर गर्छौं,’ अग्रवालले भने । नेपालभर ५८० भन्दा बढी टचप्वाइन्टहरू मार्फत एमएडब्लुले विश्वस्तरीय सेवा दिइरहेको उनले जानकारी दिए । अग्रवालले सन् २०१२ को एउटा व्यक्तिगत घटना सुनाउँदै स्कोडाको सुरक्षा पक्षको प्रशंसा गरे । काठमाडौंबाट बर्दिया जाने क्रममा उनको परिवार सवार स्कोडा गाडी दुर्घटनामा परी ६ फिट गहिरो खाडलमा खसेको थियो । ‘विपरीत दिशाबाट आएको बसका कारण भएको त्यो भयानक दुर्घटनामा पनि स्कोडाको मजबुती र युरोपियन सेफ्टी स्ट्यान्डर्डका कारण मेरो परिवारका सबै सदस्य सुरक्षित रहे,’ उनले भावुक हुँदै भने । उनले स्कोडा केवल एउटा गाडी मात्र नभई सुरक्षाको पर्याय भएको दाबी गरे । धेरैमा स्कोडाका पार्टपुर्जाहरू महँगो हुन्छन् भन्ने भ्रम रहे तापनि काइल्याकको हकमा ९५ प्रतिशत पार्टपुर्जाहरू छिमेकी राष्ट्र भारतमै उत्पादन हुने भएकाले यसको मर्मत खर्च निकै सस्तो र सुलभ हुने कम्पनीले दाबी गरेको छ । युरोपियन सुरक्षा मापदण्ड र बलियो बिल्ड क्वालिटी यसको अर्को मुख्य विशेषता हो । कम्पनीका अनुसार स्कोडाका गाडीहरू आफ्नो मजबुती, टिकाउपन र उत्कृष्ट ड्राइभिङ अनुभवका लागि चिनिन्छन् । काइल्याकले पनि सोही विरासतलाई निरन्तरता दिँदै नेपाली ड्राइभरहरूलाई आत्मविश्वास र सुरक्षाको अनुभूति गराउने कम्पनीको विश्वास छ । १८ वर्षअघि स्कोडा र्यापिडबाट सुरु भएको यो यात्रा आज कुसाक र कोडाक हुँदै काइल्याकसम्म आइपुग्दा नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । अग्रवालले स्कोडा काइल्याकले नेपाली अटो बजारमा नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरे । अग्रवालले भने, ‘आज पनि लामो दूरी र कठिन बाटोका लागि मानिसहरू इन्धन गाडीमै बढी विश्वस्त छन् । हाल हाइवेमा गुड्ने ८५ प्रतिशत गाडीहरू अझै पनि इन्धनबाट चल्ने नै छन् ।’ उनका अनुसार युरोपियन प्रविधि, सस्तो मर्मत खर्च र शक्तिशाली इन्जिनका कारण स्कोडा काइल्याक नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा एमएडब्लु ग्रुप ढुक्क देखिएको छ । देशभर रहेका स्कोडा शोरुमहरूबाट यो गाडीको टेस्ट राइड र बुकिङ खुला गरिएको छ । कम्पनीका अनुसार यो गाडीलाई बजारमा ल्याउनुअघि नेपालका कठिन भौगोलिक क्षेत्रहरू मनाङ, ढोरपाटन र तिन्जुरेजस्ता ठाउँमा लगेर परीक्षण गरिएको थियो । कम्पनीका अनुसार स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’ मा तयार गरिएको काइल्याकको लुक्सदेखि फिचर र सेफ्टीसम्म सबै पक्ष प्रभावशाली देखिन्छन् । एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक रोनक अग्रवालका अनुसार काइल्याकको अगाडिको भागमा एलइडी डे-टाइम रनिङ लाइटसहितको स्प्लीट हेडल्याम्प क्लस्टर र निकै स्लीम डिजाइनको ग्रिल प्रयोग गरिएको छ । बनेटमा दिइएका क्रिजहरूले यसलाई थप आक्रामक बनाएका छन् भने पछाडिको भागमा ‘टी’ आकारको एलइडी टेललाइट प्रयोग गरिएको छ, जसले यसलाई भीडमा पनि अलग पहिचान दिन्छ । अग्रवालका अनुसार काइल्याकको लम्बाइ ३९९५ एमएम छ । यसको २५६६ एमएम ह्वीलबेसले केबिनमा प्रशस्त स्पेस दिने अपेक्षा गरिएको छ । १८९ एमएम ग्राउण्ड क्लियरेन्स, १७ इन्चका ह्वील, रुफ रेल र क्लाइडिङका कारण काइल्याकले साँचो एसयूभी लुक्स पाएको छ । खराब बाटोमा पनि सहज ड्राइभिङका लागि यो उचाइ पर्याप्त रहेको अग्रवालको दाबी छ । काइल्याकको ड्यासबोर्ड स्कोडा कुशकसँग मिल्दोजुल्दो छ । ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, टु-स्पोक स्टेरिङ ह्वील, एसी भेन्ट र क्लाइमेट कन्ट्रोल प्यानलले यसलाई प्रिमियम अनुभूति दिन्छ । टप भेरियन्टमा स्कोडाले सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट र लेदरेट सिट जस्ता फिचर दिएको छ । सेफ्टीका मामिलामा पनि काइल्याक मजबुत देखिएको छ । भारत एनक्याप क्र्यास टेस्टमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसमा ६ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल र इलेक्ट्रोनिक डिफ्रेन्सियल लकजस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छन् । काइल्याकमा फक्सवागेन ग्रुपको १.० लिटर टीएसआई थ्री-सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यही इन्जिन कुशकमा पनि प्रयोग हुँदै आएको छ, जसले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्प उपलब्ध छन् । स्कोडा काइल्याकले केवल १०.५ सेकेण्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने क्षमता छ । आधुनिक डिजाइन, प्रिमियम फिचर, उच्च सेफ्टी र दमदार इन्जिनका कारण स्कोडा काइल्याकले सब-कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा साना गाडीको कथा बदल्ने ह्युन्डाई स्यान्ट्रो
काठमाडौं । नेपाली साना गाडीको बजारमा नयाँ पहिचान स्थापित गर्न सफल ह्युन्डाई स्यान्ट्रोले २५ वर्षे यात्रा पूरा गरेको छ । सन् १९९९ मा ह्युन्डाई इन्डियाले पहिलो मोडेलका रूपमा सार्वजनिक गरेको स्यान्ट्रो नेपालमा प्रवेश गर्दा साना गाडीको बजारमा जापानी ब्रान्डहरूको प्रभुत्व रहेको थियो । स्यान्ट्रो नेपालमा प्रवेश गरेसँगै भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकास हुँदै थियो । दैनिक प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको आरामदायी स्यान्ट्रो सुरुदेखि नै फरक पहिचान बनाउन सफल भयो । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेसँगै यो मोडेल ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको विषय बनेको थियो । स्यान्ट्रोले नेपाली ग्राहकहरूको ह्याचब्याकप्रतिको धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सजिलो तथा नेपाली सडक र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको थियो । समयसँगै स्यान्ट्रो केवल एउटा सवारीसाधन मात्र नभई नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भयो । स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो बजार विस्तार गर्दै आएको छ । आज स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले एक प्रतिष्ठित मोडेल मात्र होइन, त्यसबाट सुरु भएको विश्वासको विरासतलाई समेत सम्मान गरिरहेको जनाएको छ । यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष सरप्राइजको अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।