निर्वाचनका लागि भारतले दियो ६५० गाडी, ५३८ वटा नेपाल भित्रिए
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ । सोमध्ये ५ सय ३८ वटा गाडी नेपाल भित्रिसकेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेको जानकारी दिए । उनका अनुसार अब बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा छन्, जसमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू समेत समावेश छन् । ‘कुल ६ सय ५० गाडीमध्ये ५ सय ३८ वटा आइपुगेका छन्, बाँकी १ सय १२ वटा ठूला गाडी आउन बाँकी नै छन्,’ उनले विकासन्युजसँग भने । यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि पनि ती गाडीहरू फिर्ता नभई नेपाल सरकारकै विभिन्न निकायहरूले प्रयोग गर्नेछन् । ‘यो निर्वाचनलक्षित अनुदान सहयोग हो । चुनावपछि गाडी फिर्ता गर्ने होइन, नेपालकै सरकारी निकायहरूले प्रयोग गर्नेछन्,’ उनले भने । गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले गाडीहरू चुनावपछि कुन निकायले प्रयोग गर्ने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण गरिने जानकारी दिइन् । ‘सुरक्षा निकाय वा अन्य सरकारी कार्यालयहरूमध्ये जहाँ गाडीको अभाव छ र जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्नेछ,’ उनले भनिन् । यस सहयोगले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको सूचना अधिकारी आचार्यको भनाइ छ । अर्थ मन्त्रालयले उक्त गाडीहरूका लागि आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरेको थियो । अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा हुनेछ। भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ । हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३ सय ३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८ सय ५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १ सय ९२ वटा मोटरसाइकल आयात भएका थिए । यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २ सय १८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल-साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर एक इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमास ७ को प्रमुख विशेषता यसको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड-टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता दिन्छ । कम्पनीका अनुसार यो ब्याट्री उच्च चार्जिङ दक्षतासहित तयार गरिएको छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज केवल २० मिनेटमै पूरा गर्न सक्ने क्षमता राख्छ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना राखिएको छ, जसले चालक तथा यात्रु दुवैलाई थप सुरक्षित बनाउँछ । ब्याट्रीको लेआउटले इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाएको छ, प्रदर्शनमा कुनै सम्झौता नगरी छिटो चार्जिङ क्षमतासहित न्यू युरोपियन ड्राइभिङ साइकल (NEDC) प्रमाणित ४९२–५८५ किलोमिटर सम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्दछ । यसले इमास ७ लाई दैनिक शहरी यात्रा देखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त बनाउँछ । प्रोटोन नेपालले इमास ७ को सुरुवातसँगै आधुनिक, सुरक्षित र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।