सीएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परीक्षण सुरु

काठमाडौं । सीएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परीक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परीक्षण सुरु गरेको हो ।  सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई सहरी यात्रादेखि अफरोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको छ । नयाँ मोटरसाइकललाई सीएफमोटोले मजबुत अफरोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ ।  नेपालका विविध सडक परिस्थिति र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ । डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ । अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको छ ।  बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ । इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने  प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ । टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफरोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्यनजर गर्दा सीएफमोटो नेपाली सडक सुहाउँदो दछ । एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई  लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउँने अपेक्षा गरिएको छ ।

लक्ष्मी ग्रुपले पूरा गर्‍यो ५२ वर्ष, सामाजिक उत्तरदायित्वमा सक्रिय

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक सानो पसलबाट सुरु भएको यात्रा पाँच दशकभन्दा बढी समय पार गर्दै आज एक सफल र स्थापित व्यावसायिक घरानाको रूपमा विकसित भएको छ । विगतका वर्षहरूमा ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको छ । हाल यसको पोर्टफोलियोमा अटोमोबाइल (साना तथा ठूला सवारीसाधन र पार्टपुर्जा), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादनसम्बन्धी उद्योगहरू रहेका छन् । पाँच दशकको अवधिमा देशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको यस ग्रुपले हाल २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ । स्थापनाको ५२औँ वर्षको अवसरमा लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गरेको छ । समुदायको हितका लागि देशभर रक्तदान कार्यक्रम आयोजना गरिएको छ, जसले स्वास्थ्य प्रवर्द्धन र जनचेतनाप्रतिको ग्रुपको प्रतिबद्धता झल्काएको छ । यसैक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’लाई शैक्षिक सामग्री तथा अन्य आवश्यक सामग्री सहयोग गरेको छ । त्यस्तै, लक्ष्मी ग्रुपअन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरी वातावरण संरक्षण र सम्पदा संरक्षणप्रति आफ्नो ऐक्यबद्धता जनाएको छ । ५२ वर्षको यो महत्वपूर्ण उपलब्धि हासिल गर्दै लक्ष्मी ग्रुपले व्यावसायिक वृद्धिसँगै सामाजिक जिम्मेवारीलाई समान रूपमा प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएको छ । समुदायको हितमा गरिएको लगानीले नै व्यवसायलाई दिगो र सफल बनाउने विश्वास ग्रुपले व्यक्त गरेको छ ।

टाटाको शोरुममा विद्यार्थीका कला, सिर्जनालाई प्रोत्साहन गर्दै टियागो ईभी आर्ट कार्निभल

काठमाडौं । सिप्रदी ट्रेडिङले थापाथलीस्थित टाटा मोटर्सको शोरुमलाई कला प्रदर्शनी हलमा परिणत गरेको छ । शुक्रबार कम्पनीले आयोजना गरेको ‘टियागो ईभी इन्टर स्कुल आर्ट कार्निभल’ मा सहभागी विद्यार्थीहरूले बनाएका चित्रकलाहरू शोरुममा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका हुन् ।  कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको कला र सिर्जनात्मकतालाई प्रवर्द्धन गर्नु रहेको सिप्रदी ट्रेडिङका प्यासेन्जर कार डिभिजनका बिजनेस हेड साउनजंग सिजापतिले बताए । ‘जुन समुदायमा हामी व्यापार गर्छौं । त्यही समुदायको कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,’ उनले विकासँगन्युजसँग भने, ‘बालबालिकाको प्रतिभालाई सबैले हेर्न पाऊन् भनेर हामीले यो मञ्च सिर्जना गरेका हौं ।’ साउनजंग सिजापति सिजापतिका अनुसार दुई साताअघि काठमाडौंका १७ वटा विद्यालयका विद्यार्थीहरूबीच दुई श्रेणीमा (कक्षा १-५ र कक्षा ६-९) कला प्रतियोगिता आयोजना गरिएको थियो । ‘क्लिन इनर्जी, ग्रिन इनर्जी र वातावरण’ जस्ता विषयवस्तुमा आधारित रहेर विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट चित्रहरूलाई प्रदर्शनीमा समावेश गरिएको छ ।  यस्तै, कम्पनीकी मार्केटिङ प्रमुख अभिरुचि गिरीले बुढानीलकण्ठ स्कुलमा आयोजना गरिएको प्रतियोगितामा १० निजी र ७ सामुदायिक गरी १७ विद्यालयको सहभागिता रहेको बताइन् । उनका अनुसार प्रदर्शनीमा राखिएका चित्रकला बिक्रीबाट उठेको रकमको ५० प्रतिशत सम्बन्धित विद्यार्थी (कलाकार) लाई र बाँकी ५० प्रतिशत रकम विद्यालयको क्लबलाई हस्तान्तरण गरिनेछ ।  ‘बालबालिकाले आफ्नो सिर्जना व्यक्त गर्न पाऊन् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो,’ गिरीले भनिन् । टियागो ईभीको ब्रान्डिङ युवा र रंगीन भएकाले यो कार्यक्रमलाई टियागो ईभीसँग जोडेर आयोजना गरिएको उनको भनाइ छ ।  अभिरुचि गिरी किन छानियो टियागो ईभी ? गिरीका अनुसार नेपाली बजारमा अत्यन्तै लोकप्रिय रहेको ‘टियागो इभी’ लाई नै यस अभियानको केन्द्रमा राखिनुको पछाडि विशेष कारण छ । टियागो इभी आफैंमा एक ‘युथफुल’ (तन्नेरी), कलरफुल र जीवन्त ब्रान्ड हो । बालबालिकाको ऊर्जा र कलाको रंगसँग यो गाडीको दर्शन ठ्याक्कै मेल खाने भएकाले टियागो ईभीसँग यो कला यात्रालाई जोडिएको हो ।  उनका अनुसार सन् २०२३ मा लन्च भएदेखि नै टियागो इभी नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक ह्याचब्याकको रूपमा स्थापित भएको छ ।  पहिलो वर्षमै २३०० भन्दा बढी युनिट बिक्री भएर कीर्तिमान कायम गरेको यो गाडीले अहिले पनि बजारमा आफ्नो बलियो उपस्थिति कायमै राखेको छ । ग्राहकहरूको सकारात्मक प्रतिक्रिया र सडकमा देखिने यसको व्यापक उपस्थितिले नै यसको सफलतालाई पुष्टि गर्ने कम्पनीको दाबी छ ।​​​​​​​ विद्यार्थीमा उत्साह आफूले बनाएको चित्र बिक्री भएको देख्दा बुढानीलकण्ठ स्कुलमा ए लेभलमा अध्ययनरत छात्रा यशस्वी केसी निकै खुसी देखिन्छन् । ‘होस्टेलको कोठामा रातिसम्म बसेर मेहनतले बनाएको चित्र कसैले मन पराएर किनिदिँदा आफ्नो प्रयासको कदर भएको महसुस भयो,’ उनले भनिन् । उनले यस्तो अवसर प्रदान गरेकोमा टाटा मोटर्स र आफ्नो विद्यालयप्रति आभार व्यक्त गरिन् ।    सोही विद्यालयकी अर्की छात्रा अनुष्णा भट्टराईले पनि आफ्नो चित्र प्रदर्शनीमा राखिएको र बिक्री भएकोमा खुसी व्यक्त गरिन् । उनले आफ्नो चित्रमा कुमारी, पुरानो नेवारी बस्ती र आधुनिकताको प्रतीकका रूपमा टाटाको गाडीलाई समेटेर परम्परा र आधुनिकताबीचको संयोजन देखाउन खोजेको बताइन् । ‘टाटा मोटर्सले हाम्रो सिर्जनालाई देखाउन यति राम्रो प्लेटफर्म दिएकोमा म धेरै आभारी छु,’ उनले भनिन् ।  सिप्रदीले विगतमा पनि यस्ता सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको र भविष्यमा पनि कला, संस्कृति तथा अन्य विषयमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको जनाएको छ । टाटाको सबैभन्दा कम मूल्यको टियागो ईभी नेपालमा सार्वजनिक भएको तीन वर्ष पुगेको छ । यसको मूल्य २९ लाख ९९ हजार रहेको कम्पनीले बताएको छ । एप्पल कार प्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ । टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् । टाटा मोटर्सले टियोगो ईभीको ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ भने अन्य पार्टसमा ३ वर्ष वा १ लाख २५ हजार किलोमीटरसम्मको वारेन्टी दिएको छ ।