दक्षिण अमेरिकामा वर्चस्व राख्दै चिनियाँ ईभी
काठमाडौं । सन् २०१९ मा पेरूका हरितऊर्जा उद्यमी लुइस ज्विबाखले एउटा विद्युतीय सवारीसाधन (ईभी) कार किन्न खोज्दा उनी ४ हजार माइल टाढा क्यालिफोर्निया उडे, जहाँ उनले टेस्लाको मोडल–३ टेस्ट ड्राइभ गरे । तर टेस्लाको पेरूमै आधिकारिक आयातकर्ता नभएकाले जटिल आयात प्रक्रिया पार गर्न सकेनन् । तर उनी त्यतिमै रोकिएनन् । ‘एउटा मानिसले पहिले नै गाडी आयात गरेका रहेछन् र बेच्न चाहँदा रहेछन्, ‘ज्विबाख भन्छन्,’ म गएर हेरेँ र किनिहालेँ ।’ लिमाबाहिर समुद्री किनाराको घरमा चार्ज गर्न सुरुमा समस्या आयो । ‘ग्राउन्डिङ थिएन, त्यसैले गाडी चार्ज भएन,’ उनले भने, ‘हामीले काँटा लिएर भुइँमा गाड्यौं र गाडी चार्ज भयो ।’ उद्यमी लुइस ज्विबाख आज पेरूमा ईभी किन्न यति समस्या छैन । टेस्लाको शोरूम अझै नभए पनि बीवाईडी, जीली, जीडब्ल्यूएमजस्ता चिनियाँ कम्पनीका मोडेलहरू छिरेका छन्, जसले टेस्लाभन्दा झन्डै ६० प्रतिशत सस्तोमा ईभी बेचिरहेका छन् । टोयोटा, किया र हुन्डाईले पनि विभिन्न मोडेल ल्याएका छन् । चिनियाँ उत्पादकहरूले दक्षिण अमेरिकामा दुवै प्रकारका (इन्धन र इलेक्ट्रिक) सवारीसाधनको उपस्थिति बढाइरहेका छन् । पेरूमा यो वर्ष सेप्टेम्बरसम्म कूल १ लाख ३५ हजार ३९४ नयाँ गाडी बिक्री भए जसमा ईभी र हाइब्रिड संख्या कम भए पनि बढ्दैछ । यो अवधिमा ७ हजार २५६ युनिट बिके जुन वार्षिक रूपमा ४४ प्रतिशत वृद्धि हो । लिमाको उत्तरमा बनेको चिनियाँ ‘मेगापोर्ट’ चान्काई सञ्चालनमा आएपछि चीनका ईभी बिक्री झनै बढेका छन् । बीवाईडीले यस वर्षकै अन्त्यसम्म लिमामा चौथो डिलर खोल्दैछ । चेरी र गिलीसँग पेरूमा दर्जनभन्दा बढी डिलर छन् । ‘इलेक्ट्रिक कार यहाँ निकै राम्रो चलेको छ— दैनिक दुईभन्दा बढी ईभी बिक्छ,’ ज्विबाख भन्छन् । माग बढेपछि उनले आफ्नो नवीकरणीय व्यवसाय पनि विस्तार गरेका छन्— ईभी चार्जर, सोलार प्यानल र रिकुपरेटिभ लिफ्ट स्थापना सेवासहित । चिनियाँ ‘मेगापोर्ट’ चान्काई ‘एक डेभलपरले भने– पेन्टहाउस किन्छु यदि कार चार्जर राखिदियो भने । त्यसैले हामीले राखिदियौं,’ उनले भने। जाटो डाइनामिक्सका विश्लेषक फेलिपे मुनोजका अनुसार चीनमा मूल्ययुद्ध र अत्यधिक उत्पादनका कारण धेरै गाडी विदेश मध्यपूर्व, एसिया र ल्याटिन अमेरिकातर्फ पठाइँदैछ । चिलीका सीएभीइएम अध्यक्ष मार्टिन ब्रेस्सियानी भन्छन्, ‘चिनियाँले गुणस्तरमा वैदेशिक ब्रान्ड बराबरी गरिसकेका छन् ।’ यस वर्ष पहिलो त्रैमासमा चिलीमा बिक्री भएको यात्रुबाहक कारमध्ये २९.६ प्रतिशत चिनियाँ ब्रान्ड थिए । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार २०२४ मा ल्याटिन अमेरिकामा ईभीको बजार हिस्सा ४ प्रतिशत पुगेको छ । मेक्सिको र मध्य अमेरिकासहित सरकारी प्रोत्साहन र सस्ता चिनियाँ मोडेलका कारण यो सम्भव भएको हो । चिनियाँ ‘मेगापोर्ट’ चान्काईमा राखिएका चिनियाँ ईभी चिली, ब्राजिल र उरुग्वेमा ईभी बजार हिस्सा लगातार नयाँ रेकर्ड बनाइरहेको छ । चिलीमा १०.६ प्रतिशत, ब्राजिलमा ९.४ प्रतिशत र उरुग्वेमा त तेस्रो त्रैमासमा २८ प्रतिशत बनार हिस्सा रहेको छ । अर्जेन्टिनामा आर्थिक चुनौती हुँदाहुँदै पनि ईभी बिक्री बढ्दै छ । चीनको सबैभन्दा ठूलो कार निर्माता बीवाईडीले अक्टोबरमा अर्जेन्टिनामा आधिकारिक रूपमा प्रवेश गरिसकेको छ । यस सफलताको ठूलो हिस्सा स्थानीय विश्वसनीय आयातकर्तासँगको साझेदारी हो, जसले क्षेत्रअनुकूल डिजाइन र मूल्यका मोडेल ल्याएका छन् । उरुग्वेमा त बीवाईडी देशकै तेस्रो ठूलो विक्रेता बनेको छ, चेभरलेट र हुन्डाईपछि । चिनियाँ बजार हिस्सेदारी २०२३ यता दोब्बर भइसकेर २२ प्रतिशत पुगेको छ । उरुग्वेको पन्टा डेल एस्टेमा लग्जरी डिलर गन्जालो एल्गोर्रियगाले केही वर्षदेखि बीवाईडी मोडेल प्रदर्शन गर्न थाले । अहिले बीवाईडी नै मुख्य बिक्रीकर्ता बनेको छ । ‘चिनियाँले पहिला नै कडा हमला गरे,’ उनले भने । उरुग्वेमा चिनियाँ बीईभीको प्रारम्भिक मूल्य करिब १९ हजार डलरबाट सुरु हुन्छ । ‘दुई परम्परागत गाडीको मूल्यमा म तीनवटा चिनियाँ पिकअप किन्न सक्छ’ अर्को डिलरले भने । चिनियाँ मेगापोर्टले दक्षिण अमेरिकालाई ‘खोलिदियो’ चान्काई बन्दरगाह अब चिनियाँ गाडीहरूको प्रवेशद्वार बनेको छ— जहाँ प्रत्येक जहाजले ८ सयदेखि १ हजार २०० गाडी ल्याउँछ । यी गाडीहरू पेरूमै होइन, चिली, इक्वेडर र कोलम्बियातर्फ पनि पठाइँदैछन् । जुलाईमा मात्र ३ हजार ५७ गाडी आइपुगे । जनवरीको ८३९ भन्दामात्र आइपुगेका थिए । पेरूमा ठूलो स्थानीय गाडी उद्योग नभएकाले विरोध कम छ तर ब्राजिलमा भने तनाव बढेको छ । ब्राजिलमा बीवाईडी र जीडब्ल्यूएमले कारखाना खोलेका छन् । दुवै कम्पनीले उच्च भन्सारका कारण स्थानीय उत्पादन गर्नुपर्ने भएकाले कारखाना खोलेका हुन् । जीडब्ल्यूएमले २०२७ सम्म ब्राजिलबाट क्षेत्रभरि निर्यात सुरु गर्ने योजना बनाएको छ । तर ब्राजिलमा चिनियाँ गाडी ठूलो मात्रामा आयात पनि भइरहेका छन् । यस वर्ष विश्वकै सबैभन्दा ठूलो कार–क्यारियर जहाज २२ हजार गाडी लिएर ब्राजिल पुगेको थियो । ब्राजिलले ईभीमा पुनः भन्सार बढाउन थालेको छ— २०२६ सम्म ३५ प्रतिशत पुग्नेछ । त्यसैले स्थानीय उत्पादन झनै महत्त्वपूर्ण बन्नेछ । अर्जेन्टिनाका लागि बीवाईडी प्रमुख स्टीफेन डेङ भन्छन्— २०२७ सम्म ब्राजिलबाट गाडी ल्याउनेछन् र अर्जेन्टिनामा पनि ब्राजिल जस्तै ईभीदर देखिन सकिनेछ । तर दक्षिण अमेरिकामा केही ठूला चुनौतीहरू अझै कायम छन्— विशेष गरी लामो दूरीको यात्रा र चार्जिङ स्टेशनहरूको असमान वितरण । ज्विबाख भन्छन्, ‘यदि तपाईं टुम्बेसदेखि टाक्नासम्म पेरूको सारा तटीय क्षेत्रमा यात्रा गर्न चाहनुहुन्छ भने अझै पनि गाह्रो छ ।’ ‘यद्यपि चार्जिङ सुविधामा समस्या छन्, कार चलाउन भने निकै सस्तो पर्छ र प्रायः कहिल्यै ग्यारेज सेवा आवश्यक हुँदैन,’ उनले थपे । अमेरिकी शुल्क घटेपछि हुन्डाईको ठूलो उडान, कोरियामा ८६ अर्ब डलर लगानी गर्ने घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
बुटबलमा जीलीको नयाँ शोरूम
बुटवल । एलआरर मोटर्सले बुटबलमा जीलीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवलका लागि सोमार्जुन मोटर्सलाई अधिकृत डिलर नियुक्त गरेको हो । सोमबार आयोजित विशेष कार्यक्रमबीच नयाँ सोमार्जुन मोटर्स शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो । कम्पनीले एक वर्षभित्र १४ नयाँ डिलर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । नयाँ शोरूमले बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्ससहित जिलीका आधुनिक ईभी लाइनअप ग्राहकसम्म सहज रूपमा पुर्याउने बताइएको छ । सोमार्जुन मोटर्सका सीईओ अर्जुन पाठकले बुटवलमा बढ्दो ईभी माग पूरा गर्न उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, कम्पनीका निर्देशक जीवनजंग शाहीले यो साझेदारीले पश्चिम क्षेत्रमा वातावरण–मैत्री आधुनिक सवारी अपनत्व झनै तीव्र हुने विश्वास व्यक्त गरे ।
जेनजी आन्दोलनले ध्वस्त बनेको सिप्रदीको शोरुम ७० दिनमै ठडियो, ग्राहकलाई थप परिष्कृत सेवा दिने दाबी
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड अन्तर्गतको टाटा मोटर्सको थापाथलीस्थित मुख्य शोरूम ७० दिनमै पुन:निर्माण गरी सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कम्पनीले सोमबार (आज) रुद्री पूजा र होम गरेर शोरूमको औपचारिक उद्घाटन गरेको हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका महाप्रबन्धक शावन्तजंग सिजापतिले आन्दोलनका क्रममा आफ्नो शोरूम र केही सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए । उनले विकासन्युजसँग भने, ‘हामीले सन् २०१६ मा उद्घाटन गरेको यो शोरूम आन्दोलनका क्रममा नराम्ररी प्रभावित भयो । हाम्रा केही गाडी र हाम्रो मुख्य शोरूमको पूर्वाधारमा ठूलो क्षति भयो ।’ महाप्रबन्धक सेजापतिका अनुसार शोरूमको डिस्प्लेमा राखिएका ६ वटा विद्युतीय गाडी (ईभी) पूर्ण रूपमा जलेर खरानी भएका थिए भने अन्य दुईवटा गाडीमा तोडफोड गरिएको थियो । उनले क्षति बाबजुद एउटा सकारात्मक पक्ष पनि औंल्याए । बजारमा विद्युतीय गाडीको ब्याट्रीमा आगो लागे पड्किन सक्छ भन्ने भ्रम फैलिएकोमा जलेका ६ वटै विद्युतीय गाडीका ब्याट्रीमा कुनै बिस्फोट नभएको उनले बताए । यसले विद्युतीय गाडीको सुरक्षाबारेको भ्रम चिर्न मद्दत पुगेको उनको भनाइ थियो । गाडीबाहेक शोरूमको ८० प्रतिशत संरचनामा क्षति पुगेको थियो । क्षतिको बाबजुद ग्राहक सेवामा भने कुनै कमी आउन नदिएको सेजापतिले दाबी गरे । उनका अनुसार कम्पनीका वर्कशपहरू प्रभावित नभएकोले टाटाका गाडी प्रयोग गर्ने ग्राहकहरूले सर्भिसमा निरन्तरता पाएका थिए । बिक्रीतर्फ भने मुख्य शोरूममा क्षति पुगेपछि पछाडिको सानो खाली ठाउँमा अस्थायी शेल्टर बनाएर बिक्री सेवा दिइएको थियो । उनले अब नयाँ ढङ्गले सञ्चालनमा आएको शोरूमबाट पहिलेभन्दा राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए । कर्मचारीहरूको सुविधामा कुनै कटौती नभएको र उनीहरूलाई बिदा दिनु नपरेको सेजापतिले स्पष्ट पारे । ‘हामीले दुई दिनभित्रै अस्थायी शोरूमबाट काम सुरु गरिसकेका थियौं । हाम्रो काममा कुनै रोकतोक भएन । हामी त जहाँ बसेर पनि काम गर्छौं । तर ग्राहकलाई राम्रो अनुभव होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । उनले शोरुममा आगजनी भए पनि आफूहरुको मनोबल नखस्किएको बताए । उनले अब थप ऊर्जावान बनेको सुनाए । उनले ४४ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको र कमर्सियल गाडी तथा विद्युतीय गाडी दुवैमा हिस्सा राम्रो रहेको सुनाए । टाटा नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभी जस्ता मोडलको सफलताले कम्पनीलाई पहिलो नम्बर पुर्याएको उनको भनाइ छ । नयाँ शोरूममा ग्राहकका लागि छुट्टाछुट्टै लाउञ्ज र पहिलेभन्दा अझ ग्राहकमैत्री वातावरण सिर्जना गरिएको उनले बताए । सिजापतीका अनुसार भारतमा टाटा सिएराको पुनः लन्चको तयारी भइरहेको र त्यो गाडी नेपालमा पनि ल्याउने जानकारी दिए । सिप्रदीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा पुरस्कार प्राप्त गरेको र करिब ८०० स्थायी तथा १५०० अस्थायी कर्मचारीलाई रोजगारी दिएर राष्ट्र निर्माणमा योगदान गरिरहेको उनले उल्लेख गरे । हाल सिप्रदीसँग नेपालभर ३८ वटा डीसी फास्ट चार्जर रहेको र अहिले बजारमा पर्याप्त चार्जर उपलब्ध रहेकाले चार्जिङको समस्या त्यति नरहेको उनले बताए । ग्राहकको मागअनुसार आवश्यक परेका ठाउँमा चार्जिङ स्टेशन थप्न कम्पनी जहिले पनि तयार रहेको उनको भनाइ थियो । सेजापतिले पछिल्लो ७० दिनमा धैर्य धारण गरी अस्थायी शोरूममा आएका सम्पूर्ण ग्राहकहरूलाई टाटा मोटर्सको नयाँ शोरूममा स्वागत गर्न तयार रहेको बताए । सन् २०२२ देखि विद्युतीय सवारी (ईभी) मा आक्रामक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीका रूपमा चिनिन्छ । यो कम्पनी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।