टाटा मोटर्सको धनतेरस अफर : विद्युतीय र आईसीई मोडलमा छुट र उपहार
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो पर्वलाई लक्षित गर्दै सुरु गरिएको कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरसँगै 'सुनको असर्फी' बम्पर उपहार जित्ने सुनौलो मौका पाउने भएका छन् । सिप्रदीका अनुसार, नेपालभर रहेका टाटा शोरुमहरूमा आज (असोज २६ गते) देखि सुरु भएको यो विशेष कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा विविध छुट र उपहारका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधाहरू समावेश छन् । सिप्रदी ट्रेडिङले यस पर्वलाई 'सुनौलो र अविस्मरणीय बनाउने' उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ। कम्पनीका अनुसार, भाग्यशाली ग्राहकले बम्पर उपहारका रूपमा सुनको असर्फी प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।
एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला आजबाट सुरु
काठमाडौं । नेपालको अटोमोबाइल समूह एमएडब्लु वृद्धिले शुक्रबारबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरूमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरू दिपल, अवतार, नामी र सेरेसका ईभीमा झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए । एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाइने जनाइएको छ । ग्राहकहरूले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन पनि सक्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् । काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ ।
टेस्लाको ‘सस्तो’ सपना महँगो ‘साबित’
काठमाडौं । टेस्लाले आफ्नो सबैभन्दा बढी बिक्री हुने मोडल वाई एसयूभी र मोडल थ्री सेडानका ‘सस्तो’ संस्करण सार्वजनिक गरेको छ । तर, सुरुवाती मूल्य क्रमशः ३९ हजार ९९० डलर र ३६ हजार ९९० डलर राखिएपछि केहीले यसलाई नयाँ वर्गका ग्राहकलाई आकर्षित गर्न अझै पनि महँगो भएको बताउँछन् । प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले गत वर्ष कर छुटपछि ३० हजार डलरभन्दा कम मूल्य नै व्यापक ग्राहक समूहसम्म पुग्ने प्रमुख उपाय हुने बताएका थिए । टेस्लाले अहिले यूरोप र चीनमा बढ्दो प्रतिस्पर्धा, घट्दो बिक्री र अमेरिकाको ७ हजार ५०० डलरको कर छुट गुमेपछि आफ्नो पुरानो मोडेलहरूको बिक्री पुनः बढाउने प्रयास गरिरहेको छ । नयाँ कारहरूले केही प्रिमियम विशेषता र फिनिस हटाएका छन्, तर ३०० माइल (४८० किमी) भन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्छन् । टेस्लाको सेयर मूल्य ४.५ प्रतिशतले घट्यो । टेस्लाका समर्थक तथा वेडबशका विश्लेषक ड्यान आइभ्सले भने नयाँ मोडलहरू अघिल्ला स्तरका ट्रिम्सभन्दा मात्र करिब ५ हजार डलर सस्तो भएकोमा निराशा व्यक्त गरे । नयाँ ‘स्ट्यान्डर्ड’ संस्करणको मूल्य गत सेप्टेम्बरमा उपलब्ध अमेरिकाको सबैभन्दा सस्तो मोडलहरूभन्दा बढी परेको छ, जब कर छुट अझै लागू थियो । मस्कले वर्षौंदेखि सर्वसाधारणका लागि सस्तो कार ल्याउने वाचा गर्दै आएका थिए । तर, गत वर्ष उनले नयाँ २५ हजार डलरको इलेक्ट्रिक कार निर्माण योजना रद्द गरेका थिए, जसको जानकारी पहिलो पटक रोयटर्सले दिएको थियो । त्यसको सट्टा उनले हालका मोडलकै सस्तो संस्करण बनाउने निर्णय गरे जसले लगानीकर्ता र विश्लेषकबीच चिन्ता पैदा गर्यो कि यसले पुराना मोडलहरूको बिक्री घटाउन सक्छ र कम्पनीको वृद्धि सीमित गर्न सक्छ । ‘यो मूलतः मूल्य नियन्त्रणको प्रयास हो, नयाँ उत्पादनले बजारमा ठूलो प्रभाव पार्ने खालको होइन,’ अनुसन्धान संस्था फ्यूचरम इक्विटीजका प्रमुख बजार रणनीतिकार शाय बोलूरले भने, ‘म यसले नयाँ माग व्यापक रूपमा सिर्जना गर्ने देख्दिनँ ।’ अमेरिकामा कर छुट गुमेपछि माग घट्ने डरले केही अन्य कार निर्माता कम्पनीहरूले पहिले नै मूल्य घटाएका छन् भने कतिपयले प्रोत्साहनहरूको लाभ उपभोक्तालाई पुर्याउने नयाँ उपाय अपनाएका छन् । लगानीकर्ता र विश्लेषकहरूका अनुसार ४० हजार डलरभन्दा कम मूल्यले बिक्री बढाउन मद्दत गर्न सक्छ, किनभने अबका नयाँ मोडलहरूले आगामी वर्ष शेवरलेट इक्विनक्स, हुन्डाई आइओनिक फाइभ र कियाको ईभी फोरसँग प्रतिस्पर्धा गर्नेछन् । तर, केहीले टेस्लाले मूल्य ३० हजार डलरभन्दा तल झार्ने अपेक्षा गरेका थिए । ‘मलाई लाग्दैन कि यो पर्याप्त छ,’ क्यामेलथोर्न इन्भेस्टमेन्ट्सका सल्लाहकार सन् क्याम्पबेलले भने, ‘दीर्घकालीन हिसाबले हेर्दा, यो समाचारले विश्व बजारमा कम लागतका चिनियाँ प्रतिस्पर्धीहरूले खडा गरेको समस्या समाधान गर्दैन । मेरो विचारमा टेस्लालाई ३० हजार डलरभन्दा कमको ईभी चाहिन्छ ।’