भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँच पास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँच चौकीमा ७५ वटा चार पाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्ग्रे सवारीसाधन भन्सार जाँच पासको प्रक्रियामा रहेका जानकारी दिए ।  ‘आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँच पास प्रक्रिया अघि बढाउँदै आउनुभएको छ,’ उनले भने, ‘भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः भन्सार जाँच पासको प्रक्रियामा अघि बढ्नेछन् ।’ कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँच पास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँच चौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढेको छ । वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा ७अर्ब १६ लाख रुपैयाँ बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १ अर्ब ७५ करोड रुपैयाँ बढीका सवारीसाधन र त्यसमा प्रयोग हुने सामग्री (पार्टपूजा) आयात भएका हुन् । गत आवको २ महिनामा ५ अर्ब २५ करोड रुपैयाँका सवारीसाधन तथा सामग्री आयात भएको थियो ।

टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’ सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘शानदार दशैं–तिहार अफर सार्वजनिक गरेको छ।  कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय विद्युतीय सवारीसधान ९ईभी० मोडेलदेखि आन्तरिक दहन इन्जिन ९आईसीई( डिजेलरपेट्रोलबाट चल्ने० मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ । ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्ने सिप्रदीले जनाएको छ ।  त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई मोडेलहरूमा विशेष अफरहरु रहेको छ ।   इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइने सिप्रदीले जनाएको छ । यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्।  साथै लक्की ड्रमार्फत  भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन् ।   त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन् । टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ ।  कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।   सिप्रदी ट्रेडिङले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ ।  

सरकारको राहत प्याकेजलाई नाडाले गर्‍यो स्वागत

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारले घोषणा गरेको राहत प्याकेजलाई स्वागत गरेको छ । जेनजी आन्दोलनका क्रममा उत्पन्न असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायिक प्रतिष्ठानहरूका पीडा र मर्कालाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडाले स्वागत गरेको हो । नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी अटोमोबाइल उद्योगमा आएको क्षति र कठिन अवस्था सुल्झाउन विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो । सरकारले सो अनुरोधलाई उच्च प्राथमिकतामा राखेको हो । सरकारद्वारा घोषणा गरिएका प्रमुख प्रावधानहरूमा बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारीसाधन, मालसामान र यन्त्र–उपकरणमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम भुक्तानी, पुनर्बीमा प्रक्रियामा ढिलाइ भएमा बीमा कम्पनीहरूले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने सुविधा, आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी वा ढुवानी साधन नयाँ खरिद गर्दा बैंक कर्जामा ‘लोन टु भ्यालू’ न्यूनतम ८० प्रतिशत, आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान आयात गर्दा भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ । साथै, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई कर कटौतीमा गणना गर्ने व्यवस्था, बीमा नभएका मौज्दातमा मूल्याङ्कनका आधारमा लागत खर्च कट्टी तथा कर कटौती, आन्दोलन प्रभावित ऋणी उद्योग र व्यवसायका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप, प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने सुविधा, रोजगारी सुरक्षित गर्न सहुलियत कर्जा र २ प्रतिशत अनुदान, तथा दशैंबाहेक अन्य विदामा पनि सरकारी कार्यालय, बैंक र राजस्व निकायहरू खुला रहने व्यवस्था समावेश छन् । यी सबै प्रावधानहरूले उद्योगी व्यवसायीलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ । अग्रिम दाबी भुक्तानी, कर्जामा सहजता, भन्सार छुट र कर सहुलियतले कठिन परिस्थितिलाई कम गर्नेछ भने रोजगारी सुरक्षित गर्ने योजनाले सामाजिक स्थिरतामा पनि योगदान पुर्याउनेछ । यी सुविधा केवल आन्दोलन प्रभावित व्यवसायमा मात्र नभई सम्पूर्ण सवारी साधनमा विस्तार गर्न नाडाले सरकारसँग आग्रह गरेको छ । यसले माग पुनर्जीवित हुनेछ, बैंकिङ प्रणाली मार्फत लगानीको प्रवाह बढ्नेछ र रोजगारी सुरक्षित रहने नाडाको भनाइ छ । दीर्घकालीन दृष्टिकोणमा नाडाले भर्खरको रोडम्याप, कस्टम्स सुधार, पूर्वाधार विस्तार, हरित विकास र ऊर्जा सुरक्षामा सरकारको ध्यान आवश्यक रहेको औंल्याएको छ।