उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन, कोरला नाकासम्म पुग्ने इभीलाई राहत

काठमाडौं । जोमसोम-कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे ।  अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरला नाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताए ।  जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो । चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताए ।  स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताए । चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

रेसिङ अटोमोबाइल्सको नयाँ ‘नो एक्सिडेन्टल रेकर्ड’ प्रमाणपत्र वितरण सुरू

काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ पहल सुरु गरेको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रेसिङ अटोमोबाइल्सले नयाँ पहल सार्वजनिक गरेको हो । रेसिङ अटोमोबाइल्सले अबदेखि बिक्री गर्ने हरेक गाडीको 'नो एक्सिडेन्टल रेकर्ड सर्टिफिकेट' वितरण गर्ने घोषणा गरेको हो । यस प्रमाणपत्रमार्फत ग्राहकले खरिद गर्ने गाडी कुनै पनि दुर्घटनामा नपरेको थाहा पाउनेछन् । यदि भविष्यमा गाडी दुर्घटनामा परेको पुष्टि भयो भने कम्पनीले ग्राहकलाई गाडीको खरिद मूल्य फिर्ता गर्ने ग्यारेन्टी पनि दिने जनाएको छ । कम्पनीका अनुसार यो कदम पुराना सवारीसाधनमा सामान्यतया रहने 'गम्भीर दुर्घटना र गुणस्तर नहुने' धारणा हटाउन र पारदर्शिता सुनिश्चित गर्न लिइएको हो । यस अवसरमा कम्पनीले आफ्नो नयाँ प्रमोसनल जिङ्गल पनि सार्वजनिक गरेको छ । जुन रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ । सरकारले शोकको दिन घोषणा गरेको भए पनि विश्वकर्मा पूजाको परम्पराअनुसार कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ । 

इजिप्टमा डोङफेङ मोटरका ९ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक कार्यक्रममा आफ्ना ९ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।  उक्त कार्यक्रममा 'इस्ट विन्ड इन्फिनिट वर्ल्ड' भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो । यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो ।  आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए ।  प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए ।