६० प्रतिशत गाडी दशैँमा बिक्री हुन्थे, आन्दोलनले स्वाट्टै घट्यो: अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं, तिहार लगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन् । राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’ को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरे । राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरूले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् । ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन् ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको छ । दशैँको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री हुने गरेकोमा आन्दोलनले घट्दा राजस्व पनि घट्छ ।’ चौधरीले थपे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’ चौधरीले नेपालमा विद्युतीय गाडी (इभी) को संख्या बढेको बताउँदै व्यवसायीले चार्जिङ स्टेसन राख्न नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर दिन माग गरे । आन्दोलनका कारण अटो हब रहेको थापाथली पूर्ण रुपमा क्षति भएको भन्दै उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको बताए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ, ’ उनले भने । चौधरीका अनुसार नेपालमा अटो उद्योगको दुई पांग्रे र चार पांग्रेमा लगानी भइरहेको छ । नेपालमा ब्याट्री, टायर, केही स्पेयर पार्टस् समेत उत्पादन हुन थालेका छन् । एसेम्बल उद्योगले केही रोजगारी दिएका छन् । नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसँग जोड्ने नीति बनाउन सरकारसँग उनले आग्रह गरे ।
स्कोडा नेपालले ल्यायो ‘फेस्टिभ डिलाइट २०८२’, कतार ग्रान्ड प्रिक्स हेर्ने सुनौलो मौका
काठमाडौं । स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ अफर सार्वजनिक गरेको छ। ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानले ग्राहकलाई प्रिमियम ड्राइभिङ अनुभव र रोमाञ्चक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट सुविधा, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष रूपमा कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । आकर्षक डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डसहित स्कोडा नेपाली अटोमोबाइल बजारमा परिचित छ । नेपालभरका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको जनाइएको छ ।
टीभीएसको अपाचे आरटीआर १६० र रेडर आइगो बाइक सार्वजनिक
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा दुई लोकप्रिय मोटरसाइकल अपाचे आरटीआर १६० २ भी एफआई र रेडर आइगो सार्वजनिक गरेको छ । यी नयाँ मोडलहरू उत्कृष्ट पावर, माइलेज, उन्नत प्रविधि र आकर्षक मूल्यसहित बजारमा कम्पनीले ल्याएको हो । कम्पनीका अनुसार टीभीएस अपाचे आरटीआर १६० २ भी एफआईमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) प्रविधि जडान गरिएको छ । जसले विभिन्न राइड मोडहरूमा भिन्न–भिन्न पावर प्रदान गर्छ । सार्वजनिक बाइकमा १५९.७ सीसी इन्जिन, स्पोर्टस मोडमा १६.०४ पीएस पावर र १३.८५ एनएम टर्क, अर्बन र रेन मोडमा १३.३० पीएस पावर र १२.७ एनएम टर्क इन्जिन र पावर उपलब्ध छ । आरटीएफआई प्रविधिका कारण ५० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज छ । स्पोर्टस, अर्बन र रेन गरी तीनवटा ड्राइभ मोडहरू उपलब्ध छ । यसैगरी, सुपरमोटो सिंगल च्यानल एबीएस (एन्टी–लक ब्रेकिङ सिस्टम) र डुअल रोटर पेटल डिस्क ब्रेक सुरक्षा उपलब्ध छ । यसमा प्रविधि जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), नयाँ एलईडी हेडल्याम्प र डीआरएल, एल्केन्ट्रा जस्तो रेसिङ सिट, ह्यान्डल बारमा एन्टी–भाइब्रेसन वेटहरू रहेका छन् । यस्तै, स्पोर्टस मोडमा १०७ किलोमिटर प्रतिघण्टा र अर्बन/रेन मोडमा ९७ किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको छ । बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ। रेडर आइगो कम्पनीका अनुसार टीभीएस रेडर आइगो नेपालको लागि एक विशेष र प्रदर्शनउन्मुख १२५ सीसीको मोटरसाइकल हो । यसमा थ्री भल्भ इन्जिन रहेको छ । जसले १२५ सीसीको भए पनि १५० सीसी बराबरको पावर प्रदान गर्छ । जुन काठमाडौंको व्यस्त सडकमा पनि ६० किलोमिटर प्रति लिटरभन्दा बढी माइलेज दिन्छ । थ्री–भल्भ इन्जिन, एयर र ओइल कुलिङ प्रणाली उपलब्ध छ । ९९ प्लस कनेक्टेड फिचरसहितको टीएफटी क्लस्टर, साइलेन्ट स्टार्ट (आईएससी), फाइभ–स्टेप एडजस्टेबल मोनो–शोक सस्पेन्सन, जीटीटी (ग्लाइड थ्रु टेक्नोलोजी), यूएसबी चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच र एसटी (सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजी) उपलब्ध रहेको छ । ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमा प्रर्दशन गर्न सक्छ । एलईडी हेडल्याम्प र डीआरएल, स्पोर्टी फ्युल ट्याङ्क र स्प्लिट सिट रहेको छ । यसको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अखिल गुप्ताले नेपाली बजारमा यी दुई फिचर लोडेड बाइक सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक अखिल गुप्ता उनले युवा राइडरहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी तयार पारिएका यी मोडेलहरूले बजारमा उत्साहजनक प्रतिक्रिया पाउने दाबी गरे। सार्वजनिक कार्यक्रममा कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय विभागका वरिष्ठ उपाध्यक्ष राहुल नायकको पनि उपस्थिति रहेको थियो । जगदम्बाले नेपालभरि ६० भन्दा बढी बिक्री केन्द्रहरू र २६ सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ । टीभीएस मोटर कम्पनीले हाल ८० भन्दा बढी देशहरूमा व्यवसाय विस्तार गरिसकेको छ । कम्पनी डेमिङ पुरस्कार प्राप्त गर्ने एकमात्र दुईपांग्रे सवारी निर्माता हो ।