इनड्राइले ल्यायो ‘राइड मोर, विन मोर’ क्याम्पेन, राइड बुक गर्दा पुरस्कार जित्ने अवसर
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म इनड्राइले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइ एपबाट राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाटका लागि यात्रा गर्नेको संख्या बढ्ने भएकाले प्रत्येक यात्रालाई थप रमाइलो र लाभदायक बनाउने उद्देश्यले क्याम्पेन ल्याइएको कम्पनीले जनाएको छ । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ । क्याम्पेनअन्तर्गत प्रत्येक एक राइड बराबर एक लक्की–ड्र टिकट प्रदान गरिनेछ, जसअनुसार जति धेरै राइड गरियो उति धेरै जित्ने अवसर प्राप्त हुनेछ । मेगा गिभअवेमा सहभागी हुन राइड सम्पन्न भएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा दुई वटा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत १० जनाले अनर एक्स ७ डी स्मार्टफोन जित्न सक्नेछन् । साथै १ हजार जनाले १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), १ हजार जनाले २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड तथा १०० जनाले खल्ती प्रोमा अपग्रेड हुने अवसर पाउनेछन् । इनड्राइ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले प्रयोगकर्तालाई चालक छनोट गर्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै क्याम्पेनमार्फत ग्राहकप्रति आभार व्यक्त गर्न खोजिएको बताइन् । त्यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइसँगको सहकार्यले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोड्दै यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरे । यो क्याम्पेन नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । लक्की–ड्र हरेक हप्ता गरिने र विजेताको नाम इनड्राइका आधिकारिक फेसबुक, इन्स्टाग्राम तथा टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु: वाइफाइ र सीसीटिभीको सुविधा, नगर प्रहरीले सुरक्षा दिने
काठमाडौं । काठमाडौंमा आजदेखि वाइफाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेका हुन् । बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ । सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउने र विहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ बर्ष शुरुवातसँगै महत्वपूर्ण निर्णयको कार्यान्वयन भएको उनले बताइन् । विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका विषय उल्लेख गर्दै भनिन, ‘हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रीत थियो । आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौं । उपत्यकाका स्थानीय तहका बिचमा समन्वय गरेर लागत सहभागिताको मोडल बनाउँछौं । अब हाम्रो योजना भनेको रात्रि सेवालाई दिगो बनाएर विहानी सेवालाई प्रारम्भ गर्ने हो । ’ सेवा सञ्चालनका विषयमा हामी उपत्यकाका स्थानीय तहका बिचमा एक मत छ । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने, ‘आर्थिक साझेदारितामा सबैको साझा मत नै सेवा दिगो हुने महत्वपूर्ण आधार हो । यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकोले म पनि धेरै उत्साहित छु ।’ चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजार व्यक्ति काठमाडौं आवतजावत गर्ने गरेको बताए । चन्द्रागिरिका पर्यटकीय स्थानहरुमा काठमाडौंबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा स्वतः योगदान गर्ने प्रमुख गिरीको भनाइ छ । बुढानीलकण्ठ नगरका प्रमुख मिठाराम अधिकारीले रात्रि बस सेवाका विषयमा स्थानीयहरुसँग आफूले लिएको प्रतिक्रियाका बारेमा जानकारी गराउँदै भने, ‘स्थानीयबासी धेरै खुशी हुनुहुन्छ । यसलाई विकास र विस्तार गर्दै लैजानुपर्छ । ’ नगरपालिकाहरुले साझा यातायातसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेका हुन् । आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्नेछ । यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरुले लागत सहभागिता व्यहार्ने प्रतिवद्धता हाम्रा लागि महत्वपूर्ण छ । साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलको धारणा राखे । रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्व अभ्यासमा वुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो । सवारी चापका कारण यो बसले जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । बस सेवाहरु हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो । पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
टीभीएस एनटर्क्यू स्कुटर प्रयोगकर्ता १ लाख ५० हजार नाघ्दा जगदम्बा मोटर्सले मनायो उत्सव
काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क्यू (NTORQ) स्कुटर प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । नेपाली बजारमा बलियो उपस्थिति र लोकप्रियता कायम गर्दै एनटर्क्यूले सफलता हासिल गरेको कम्पनीले जनाएको छ । यस उपलब्धिको खुसीयाली मनाउन जगदम्बा मोटर्सले शनिबार एनटर्क्यू ओनर्स ग्रुप (NOG) राइड आयोजना गरेको थियो । टीभीएसको नक्साल शोरुमबाट सुरु भएको राइड शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा ५० भन्दा बढी ग्राहकसहित २० भन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा सञ्चारकर्मी गरी कुल ७० भन्दा बढीको सहभागिता रहेको थियो । कम्पनीका अनुसार कार्यक्रम केवल यात्रा मात्र नभई एनटर्क्यू प्रयोगकर्ताबीच सामुदायिक उत्सवका रूपमा आयोजना गरिएको हो । सहभागीहरूले सुरक्षित यात्रा तथा सामूहिक राइडिङसम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक–आपसमा अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक खेल तथा विभिन्न गतिविधि पनि समावेश गरिएको थियो । विजेताहरूलाई आकर्षक उपहार प्रदान गरिएको थियो भने सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपालमा १ लाख ५० हजार चालकको साथ पाउनु टीभीएस एनटर्क्यूका लागि गौरवको विषय भएको बताए । उनले यो ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण भएको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउने प्रयास गरिएको बताए । कम्पनीका अनुसार उत्कृष्ट कार्यक्षमता, आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण टीभीएस एनटर्क्यू नेपाली युवामाझ लोकप्रिय स्कुटरका रूपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आगामी दिनमा पनि यस्तै सृजनशील कार्यक्रममार्फत आफ्ना प्रयोगकर्तासँग सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।