५३० किमी रेन्ज दिने 'एमजी एस सिक्स' नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ९९ हजार

काठमाडौं । १०० वर्ष पुरानो अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को नयाँ इलेक्ट्रिक एसयूभी 'एमजी एस सिक्स' नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि एमजीकोआधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले सोमबार राजधानीमा एक कार्यक्रमबीच 'एमजी एस सिक्स' गाडी अनावरण गरेको हो । कार्यक्रममा एमजीको मातृ कम्पनी एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा नयाँ गाडीको अनावरण गरेका थिए ।  सन् २०१७ मा स्थापना भएको प्यारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा एमजीका गाडीहरू बिक्री गर्दैआएको हो । कम्पनीका अनुसार यसअघि एमजी जेडएस ईभीले नेपाली विद्युतीय सवारीको बजारमा निकै ठूलो सफलता पाएको थियो । हालसम्म नेपालमा एमजीका ४ हजार ५०० भन्दा बढी गाडीहरू गुडिरहेका छन् ।  एमजीले आफ्नो १०० वर्षको इतिहासलाई यो नयाँ प्रिमियम मोडलमार्फत निरन्तरता दिएको छ । यस्ता छन् विशेषता यस गाडीमा १८० किलोवाटको शक्तिशाली मोटर र ३५० एनएम टर्क रहेको छ । यसमा ७७ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जुन यो सेग्मेन्टमै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसले ५३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३८ मिनेट लाग्छ । नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ ।  यसमा १९ इन्चको मिसिलिन टायर प्रयोग गरिएको छ । सुरक्षाको दृष्टिकोणले यो गाडी निकै मजबुत मानिएको छ । यसले 'युरो एनक्याप' बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको ब्याट्री प्याकले विभिन्न कठिन परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ । गाडीभित्र १२.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, एम्बियन्ट लाइटिङ, र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । यसमा टिकटक, युट्युब, र स्पोटिफाइ जस्ता एपहरु चल्ने स्मार्ट फिचर्सका साथै ११ वटा स्पिकरहरू रहेका छन् ।  यसमा 'भिटुएल' प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारका लागि उक्त ईभीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।  प्रिमियम लुक्स, अत्याधुनिक  फिचर्स र बलियो सुरक्षामापदण्डका कारण यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकसँग प्रत्यक्ष संवादमा फोटोन नेपाल, सेवा सुधारमा जोड

काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा ‘कस्टमर मिट एण्ड ग्रिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । वैशाख २५ गते आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यवसायिक अपरेटर तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य ग्राहकहरूको अनुभव, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा बुझ्नु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो स्वामित्व अनुभव, सेवा आवश्यकताहरू तथा सुधारका लागि सुझावहरू खुलेर साझा गरेका थिए । साथै सम्भावित खरिदकर्ताहरूले फोटोनका विभिन्न कमर्सियल सवारीसाधनबारे जानकारी लिनुका साथै कम्पनी प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । कम्पनीका अनुसार यस्तो प्रत्यक्ष अन्तरक्रियाले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको छ । कार्यक्रममा आफ्टर–सेल्स सेवा प्रमुख छलफलको विषय बनेको थियो । ग्राहकहरूले सेवा पहुँच, स्पेयर पार्ट्स उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना धारणा राखेका थिए । कम्पनीले यी सुझावहरूलाई सेवा मापदण्ड सुधार र ग्राहक अनुभव थप प्रभावकारी बनाउन प्रयोग गर्ने जनाएको छ । कमर्सियल ईभीको प्रयोग बढ्दो क्रममा रहेको सन्दर्भमा फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टम र आफ्टर–सेल्स सपोर्ट नेटवर्कबारे ग्राहकहरूलाई आश्वस्त पार्दै सेवा विस्तारप्रति प्रतिबद्धता दोहोर्याएको छ । फोटोन नेपालको देशव्यापी नेटवर्कमार्फत ग्राहकहरूलाई विश्वसनीय सेवा, जेनुइन स्पेयर पार्ट्स तथा दक्ष प्राविधिक सहयोग प्रदान हुँदै आएको कम्पनीले जनाएको छ, जसले शहरी तथा क्षेत्रीय दुवै क्षेत्रमा प्रभावकारी सेवा सुनिश्चित गरिरहेको छ ।

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूलाई लक्षित गर्दै ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । कम्पनीका अनुसार उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ । साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त, ग्राहकहरूले स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा सेवा शुल्कमा छुटजस्ता थप सुविधाहरू पनि प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ । बजाज नेपालले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको छ । कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यस विशेष कार्निभलमा सहभागी भई उपलब्ध सुविधाहरूको लाभ लिन अनुरोध गरेको छ ।