प्रधानमन्त्री कप २०२६ को 'पावर्ड बाई' प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ । नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ । काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ । पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको 'कान्दो' फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ। साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, 'पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।'  एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं । यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो ।' त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, 'यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ । पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन् । त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं ।' यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।   

इन्धनबाट चल्ने गाडीलाई ईभीमा बदल्ने बालेन सरकारको तयारी, सस्तो गाडीमा महँगो किट

काठमाडौं । नेपालमा पुराना इन्धनयुक्त अर्थात् डिजेल र पेट्रोल गाडीहरूलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्ने विषयमा सरकारले कानुनी तयारी अगाडि बढाएको छ । आइतबार मन्त्रिपरिषदबाट निर्णय गर्दै अबको तीन महिनापछि यससम्बन्धी कानुन बनाइने भएको छ । सरकारले यसलाई आफ्नो १०० दिने कार्ययोजनामा समेत समेटेको छ । यता अटोमोबाइल क्षेत्रका विज्ञहरूले भने यसको व्यावहारिक र प्राविधिक पक्षमाथि प्रश्न उठाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले पुराना गाडीलाई ईभीमा कन्भर्ट गर्न अहिले ठूलो कानुनी अड्चन नभएको बताए । हालको सवारी तथा यातायात व्यवस्था ऐनले इन्जिन र चेसिस फेरबदल गर्न निषेध गरे तापनि विशेष परिस्थितिमा सरकारले समयसीमा तोकेर फुकुवा गर्न सक्ने प्रावधान रहेको उनको भनाइ छ । ‘नेपाल सरकारले तीन वर्षका लागि ईभी कन्भर्सन गर्न सकिने गरी निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ,’ पन्थले भने, ‘अहिले कानुनी जटिलता छैन, तर यसलाई स्थायी रूप दिन नयाँ ऐनको ड्राफ्ट मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको छ । सरकारको १०० दिने कार्ययोजना भित्रै यो ऐनलाई अगाडि बढाउने मन्त्रालयको लक्ष्य छ ।’ पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने प्रक्रिया स्पष्ट कानुनी व्यवस्था अभावका कारण लामो समयदेखि अन्योलमा थियो । दर्ता, नवीकरण तथा प्राविधिक मापदण्ड सम्बन्धी अस्पष्टताले सवारीधनीहरूलाई झन्झट बेहोर्न बाध्य बनाइरहेको अवस्थामा सरकारले यसलाई व्यवस्थित गर्ने पहल गरेको हो ।  अब भने पुराना गाडीहरू कवाडीमा फाल्नुको विकल्पमा कम खर्चमै आधुनिक, वातावरणमैत्री विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिने बाटो खुल्ने अपेक्षा गरिएको छ । नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत न्यूनीकरण गर्ने दीर्घकालीन उद्देश्यसहित महत्त्वपूर्ण निर्णय गरेको बताए ।  प्रवक्ता पोखरेलका भने, ‘डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक कानुनी ढाँचा तयार गर्ने निर्णय गरिएको छ । यस कदमले एकातिर इन्धनमा रहेको परनिर्भरता घटाउनेछ भने अर्कोतिर देशमै उत्पादन हुने नवीकरणीय ऊर्जाको उपयोग बढाएर ऊर्जा आत्मनिर्भरतातर्फ महत्वपूर्ण योगदान पुर्याउनेछ ।’ सरकारले कानुनी बाटो खोले तापनि अटोमोबाइल क्षेत्रका जानकारहरू भने यसको व्यावहारिक कार्यान्वयनमा शंका गर्छन् । हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार पुराना गाडीलाई ईभीमा बदल्दा लाग्ने खर्च र त्यसको सुरक्षा मुख्य चिन्ताको विषय हो । महाप्रबन्धक थपलियाले यस विषयमा बिना अध्ययन यस्तो निर्णय कार्यान्वयन गर्दा त्यसले सुरक्षा र आर्थिक भार मात्र बढाउने तर्क गरे । उनले भने, ‘अहिले बजारमा ८/१० लाख रुपैयाँ पर्ने पुराना मारुतीजस्ता गाडीको इन्जिन फालेर चीनबाट ६/७ हजार डलरको किट ल्याएर जडान गर्दा त्यसको लागत २५ लाख नाघ्न सक्छ । हिजोसम्म १० लाख पर्ने गाडीलाई ब्याट्री हाल्यो भन्दैमा कसैले २५ लाख तिर्दैन । ’ उनका अनुसार त्यति नै पैसामा चीनबाट नयाँ ईभी नै आयात गर्न सकिने हुँदा पुरानो गाडी रूपान्तरण गर्नु आर्थिक रूपमा भायबल देखिँदैन । कुनै पनि गाडी निर्माता कम्पनीले त्यसको सेन्टर अफ ग्राभिटी र बडी वेटको विस्तृत अध्ययन गरेर डिजाइन गरेका हुन्छन् । स्थानीय स्तरमा किट टाँसेर बनाइएका गाडीमा सुरक्षाका गम्भीर प्रश्न उठ्ने थपलियाको तर्क छ । पुराना गाडीका म्यानुअल स्टेयरिङ र कमजोर चेसिसमा नयाँ विद्युतीय प्रणाली कत्तिको एकीकृत हुन्छ भन्ने अध्ययनको अभाव रहेको उनको भनाइ छ ।  अनुसन्धान बिना जडान गरिने सस्तो ब्याट्रीले पर्याप्त रेन्ज नदिने उनले बताए । ‘यदि त्यत्रो लगानी गरेर गाडीले ४०/५० किलोमिटर मात्र माइलेज दियो भने त्यसको के अर्थ ?’ उनले प्रश्न गर्दै भने । रूपान्तरण गरिएका गाडीको ब्लुबुक वैधानिकता र भविष्यमा त्यसको पुनः बिक्री मूल्य कति हुने भन्नेमा पनि ठूलो अन्याैलता छ । यसैगरी, नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले सरकारको यो कदमलाई अहिलेको परिस्थितिमा पुराना सवारीको व्यवस्थापनका लागि सकारात्मक मानेका छन् । तर, यो कुन मोडालिटीमा जान्छ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुने उनको तर्क छ । ‘पुराना गाडीको व्यवस्थापन र पैसाको बचतका हिसाबले यो सोच राम्रो छ,’ उप्रेतीले भने, ‘तर इन्जिन कन्भर्सनको मोडालिटी कस्तो हुन्छ र यो कत्तिको टिकाउ हुन्छ भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र थाहा हुन्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार पेट्रोल र डिजेल बाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधन (ईभी) मा परिणत गर्न कानुनी बाटो यसअघिको सरकारले खुला गरेको थियो । जसमा गत मंसिर १५ गते मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ ले दिएको अधिकार प्रयोग गरी रूपान्तरणको बाटो खुला गरेको थियो ।  जेनजी आन्दोलनपछि बनेको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेकै दिन देशमा उत्पादित विद्युतको खपत बढाउन इन्धनका सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने घोषणा गरेका थिए । मन्त्रीको सोही योजना अनुरूप मन्त्रिपरिषद्ले तीन वर्षको समयसीमा तोकेर यो छुट दिने निर्णय गरेको थियो ।  यसअघि सवारी तथा यातायात ऐन, २०४९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिविना सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने व्यवस्था थियो । मन्त्रालयले ४ वर्षअघि पनि विद्युतीय गाडीलाई प्रोत्साहन गर्न २०७८ चैतमा तीन वर्षका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको थियो । तर, उक्त म्याद २०८१ चैतमा सकिएपछि रूपान्तरण प्रक्रिया रोकिएको थियो ।

सीएफमोटो नेपालको नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ ।  उक्त अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत सीएफमोटो २५० डुअल इएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० सम्मको नगद छुट प्राप्त गर्नेछन् । साथै एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजारसम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन् । यसका अतिरिक्त प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फूल फेस डबल भिजर हेल्मेट(एण्टी–फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ । योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० को नयाँ एमआरपी घोषणा गरेको छ ।  साथै ग्राहकहरूले फुल फेस स्टुड्ड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन् ।  त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफायर ब्लू) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन् । जीहो एइ८ ईभी मोडेलको स्कुटरको हकमा ४ लाख ४९ हजार ९०० अफर अवधिभर यथावत् रहनेछ । बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । २०८३ सालदेखि  काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ । त्यसैगरी, वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पाट्र्स) अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ ।