धनगढीमा दिगोको नयाँ शोरुम
काठमाडौं । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई अधिकारिक बिक्रेता नियुक्त गरेको छ । नयाँ शोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई नयाँ विद्युतीय सवारीसाधनहरू सहज रूपमा उपलब्ध गराउने छ । उक्त शोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको डीएफएसके ब्रान्डअन्तर्गतका डीएफसीके डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रोबसहरू उपलब्ध हुनेछन् । दिगोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ श्रेष्ठले धनगढीमा शोरुम खोल्न पाउँदा खुसी लागेको बताए । ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए ।
सवारी आयातमा युआन एलसी खुलाउने प्रावधान परिवर्तन गर्न नाइमाको माग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव दिएको छ । बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरूले उनलाई गभर्नर नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा आगामी मौद्रिक नीतिलाई प्रभावकारी बनाउनका लागि सुझावहरू पनि प्रदान गरिएको नाइमाले जनाएको छ । नाइमाले सबै प्रकारका सवारीसाधनमा ८०-२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरेको छ । हाल आयातकर्ताहरूलाई चिनियाँ उत्पादनका सवारीसाधनका हकमा चीनमै अवस्थित चिनियाँ कम्पनीहरूसँग मात्रै चिनियाँ युआनमा लेटर अफ क्रेडिट (एलसी) खोल्न अनुमति दिइएकोमा अब जुनसुकै देशका आयातकर्तालाई पनि चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ । त्यस्तै, सवारी कर्जाका लागि लागू हुने जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्न पनि नाइमाले सुझाव दिएको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले गभर्नर पौडेलसँग भेट गरी उक्त सुझावहरू दिएको हो ।
यूएसएआईडीका ५ सय बाइक तथा ११८ गाडी चोभारमा थन्किए
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को नेपालस्थित कार्यालय बन्द भएपछि त्यसअन्तर्गतका ५१८ सवारीसाधन काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा राखिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार ती सवारीमध्ये ५०० वटा मोटरसाइकल र ११८ वटा चारपांग्रे गाडी छन् । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले डेढ महिनाअघि पार्किङ शुल्कको आधारमा ती सवारीसाधन सुक्खा बन्दरगाहमा राखिएको जानकारी दिए । ‘दैनिक प्रति गाडी १०० रुपैयाँ र मोटरसाइकलको आकारअनुसार शुल्क लिइरहेका छौं,’ उनले भने । गजुरेले ती सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको समेत बताए । यूएसएआईडीको कार्यालय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती गर्ने निर्णयसँगै सन् २०२५ को जनवरी २० पछि बन्द गरिएको थियो । कार्यालय बन्द भएपछि त्यसका सवारीसाधनलाई चोभारस्थित सुक्खा बन्दरगाहमा सारिएको हो । व्यवसायीहरूले बजेटमा कर बढ्ने हल्लाका बीचमा ल्याएका आवश्यकभन्दा बढी गाडी हाल चोभार सुक्खा बन्दरगाहमै थन्किएका छन् । बन्दरगाहमै १ हजार २ सय सवारीसाधन रहेको जनाइएको छ ।