सोलुखोला परियोजनाको निर्माण काम अन्तिम चरणमा पुगेको छ : अध्यक्ष पाठक
साहस ऊर्जा कम्पनीका अध्यक्ष हुन् हिमप्रसाद पाठक । विगत एक दशकदेखि हाइड्रो व्यवसायीका रूपमा काम गरिरहेका पाठक अहिले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काममा व्यस्त छन् । जलविद्युत क्षेत्रमा पाठक नेतृत्व निकै सफल मानिन्छ । साहस ऊर्जा कम्पनीले अहिले अगाडि सारेको सोलुखोला जलविद्युत आयोजना काम अन्तिम चरणमा पुगेको छ । सो आयोजनाको काम सम्पन्न गरेसँगै नयाँ परियोजना अगाडि बढाउने तयारीमा कम्पनी छ । सोही कम्पनीका अध्यक्ष पाठकसँग कम्पनीको वर्तमान वित्तीय अवस्था, कम्पनीले निर्माण गरिरहेका र आगामी दिनमा निर्माण गर्ने आयोजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेको छन् । प्रस्तुत छ उक्त कुराकानीको अंशः साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था कस्तो छ ? अहिलेसम्मको तथ्याङ्क हेर्दा साहस ऊर्जा कम्पनीको वित्तीय अवस्था राम्रो नै देखिन्छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमा एक अर्ब ५ करोड रुपैयाँ पब्लिकबाट उठाएका छौं । संस्थापक सेयरधनीको २ अर्ब ४५ करोड रुपैयाँ रकम रहेको छ । हामीले ११ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छौं । उक्त संस्थाबाट लगभग १० अर्ब रुपैयाँको ऋण लिए चलाएका छौं । अब साहस ऊर्जाका लगानीकर्ताले कस्तो प्रतिफल पाउने छन् ? साहस ऊर्जाका लगानीकर्ताहरूले औषतमा राम्रो नै प्रतिफल पाउनु हुनेछ । आजको दिनमा साहस ऊर्जाको दोस्रो बजारमा लगभग साढे ४ सय मूल्य छ । लगानीकर्ताले नगद लाभांश अथवा बोनस सेयर पनि पाउनु हुनेछ । यीमध्ये कुन दिने, कम्पनीले कति दिन सक्छ, त्यो भविष्यमा कम्पनीले निर्धारण गर्ने कुरा हो । आशा गरौं साहस ऊर्जामा लगानी लगानीकर्ता निराश बन्नुहुन्न । साहस ऊर्जाले कति वटा जलविद्युतका प्रोजेक्ट लिएर काम गरिरहेको छ ? नयाँ परियोजनाको काम अगाडि बढाउने सोचमा तपाईंहरु हो ? अहिले साहस ऊर्जाले एउटा मात्र जलविद्युत आयोजनाको प्रोजेक्ट लिएर काम गरिरहेको छ । हामीले सोलुखुम्बुमा ८६ मेगावाट सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाएका छौं । अन्तिम चरणमा रहेको यो आयोजना काम सकेर नयाँ आयोजनाको काम थाल्ने छौं । हामी नयाँ परियोजनाको काम गर्ने तयारीमा छौं तर हामीले बाहिर यो परियोजना गर्ने भनेर घोषणा गरेका छैनौं । अहिले २/३ वटा ठाउँमा जलविद्युतका प्रोजेक्टको बारेमा अध्ययन गरिरहेका छौं । त्योमध्ये कुन परियोजना अगाडि बढाउने त्यसको बारेमा निकट भविष्यमा जानकारी गराउने छौं । सम्भवतः हामी डेढ २ सय मेगावाटको परियोजना अगाडि बढाउँछौं । सोलुखोला जलविद्युत आयोजना निर्माणका के के काम बाँकी छन् ? कहिले सम्पन्न गर्ने लक्ष्य छ ? यो आयोजना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । सिभिल संरचनाको काम लगभग ९९ प्रतिशत सम्पन्न भइ सकिएको छ । मेसिनहरू पनि जडान भइसकेको छ । प्रसारण लाइनको एउटा टावर बन्न बाँकी छ । त्यसको पनि फाउन्डेसन भइ सकेको छ । सो टावरको काम अबको २ हप्तामा बनि सक्छ । त्यो समयसम्म पावर हवासको परीक्षण गर्ने छौं । यसमा विशेष गरी ४ वटा काम हुन्छन् । जस्तो सिभिल इन्जिनियरिङ, हाइड्रो मेकानिकल, इलेक्ट्रिक माइक्रोस्कोप (इएम) र प्रसारण लाइनको काम । सो काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले हामी परीक्षणको चरणमा छौं । भएका परीक्षण अहिलेसम्म सफलता पूर्वक सम्पन्न भएको छ । टनेलमा पानी हालेर परीक्षण गरी सक्यौं । त्यसपछि हामी मेसिनमा पानी हानेर घुमाउँछौं । केही समस्या आएन भने एक महिना भित्र सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको काम सम्पन्न गर्नेछौं । र, बिजुली उत्पादनको काम सुरु हुने छ । उक्त आयोजना सुरु भएदेखि अहिलेसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अहिले यस आयोजनाको काम लगानीकर्ताबाट थोरै-थोरै पुँजी उठाएर सुरु गरेका छौं । यस परियोजना अन्य आयोजनाहरू भन्दा अलिक फरक पनि छ । सोलुखोला जलविद्युत आयोजनामा निजी क्षेत्रले स्वदेशी लगानीमा बनाएको सबैभन्दा ठुलो परियोजना हो । हाम्रो कम्पनी संस्थापक सेयरधनीको हिसाबले पनि सबैभन्दा ठूलो कम्पनी हो । साहस ऊर्जाले आगामी दिनमा के कस्ता परियोजनाहरू बनाउने सोच बनाएको छ ? कसरी अगाडि बढ्दैछ ? हामीले जलविद्युतका यीभन्दा ठूला क्षमताका आयोजनाहरू गर्ने सोच बनाइ रहेका छौं । जलविद्युतको क्षेत्रमा यस कम्पनी अगाडि बढ्छ । विभिन्न ठाउँमा नयाँ परियोजना सुरु गर्नको लागि पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा अध्ययन अनुसन्धान गरी रहेका छौं । त्यसमध्ये कुन चाहिँ सजिलो हुन्छ, प्राविधिक र पुँजी दुवैले उपयुक्त हुन्छ, त्यही आयोजनाको काम अगाडि बढाउने हो । अहिले नै फाइनल भएको छैन । त्यसैले यही गर्दैछौं भनेर भन्न सक्ने अवस्था छैन । नयाँ आयोजनाहरूको लागि पुँजी कसरी जुटाउँदै हुनुहुन्छ ? नयाँ आयोजनाको काम अगाडि बढाउनको लागि अवश्य पुँजी आवश्यकता हुन्छ । त्यो कति क्षमताको परियोजना हो ? त्यो अनुसारका पनि पुँजीको आँकलन गर्न सकिन्छ । नयाँ आयोजनामा पुँजी जुटाउनको लागि साहस ऊर्जामा हकप्रद सेयर दिन्छौं । त्यो कम्पनीको आईपीओ पनि आउँछ । नयाँ प्रमोटरहरुलाई पनि लगानी गर्ने अवसर दिन्छौं । विदेशी लगानी भित्र्याउने सोच धेरै नेपाली व्यवसायीले बनाउँछन् तर सफल भइरहेका छैनन् । यसमा यहाँहरुको योजना के छ ? हामी अहिले नै विदेशी लगानी भित्र्याउने सोचमा छैनौं । स्वदेशी लगानीबाट आयोजनाको काम हुन सक्छ भने विदेशी लगानी आवश्यक छैन । पाँच सय मेगावाटसम्मको जलविद्युत आयोजनाको काम अगाडि बढाउनका लागि स्वदेशी लगानी पर्याप्त छ । स्वदेशमा नै कन्स्ट्रक्सन, म्यानपावर, ठेक्दार पर्याप्त छन् भने विदेश जानु पर्ने आवश्यकता नै देख्दिन । स्वदेशी लगानीले पुगेन भने मात्रै विदेशी लगानी भित्र्याउने छौं । ठूला आयोजनाका काम गर्नुपर्याे भने विदेशी लगानी पनि भित्र्याउनु पर्ला । भविष्यमा आवश्यकता पर्यो भने जानकारी दिएर मात्रै भित्र्याउने छौं । अब तपाईंहरुको प्राथमिकता आफै परियोजना विकास, लगानी र निर्माणका काम मात्र गर्ने कि अरूले लगानी गरेको परियोजना निर्माणमा ठेक्का लिएर पनि काम गर्ने ? हामी विशुद्ध विकासकर्ता मात्र हौं । मैले सुनेको छु अन्य कम्पनीहरू आफै विकासकर्ता, ठेकेदार लगायत भएर काम गरेको । तर, हामी त्यसरी अगाडि बढ्दैनौं । साहस ऊर्जा भोलिका दिनमा पनि ठेक्काको काम गर्दैन । विद्युतको उत्पादन बढ्दो छ । योअनुसार बजार विस्तार नहोला, बिक्रीको समस्या होला भन्ने चिन्ता लगानीकर्तामा बढेको हो ? यो चिन्ता लगानीकर्तामा बढ्नु स्वभाविक हो । केही हुन्छ कि भनेर चिन्ता उहाँहरूमा बढी हाल्छ । नेपाल सरकारले पनि विद्युत उत्पादनसँगै यही खपत हुने ठाउँ विकास गरे अझ राम्रो हुन्थ्यो । उद्योगको विकास, विस्तारमा पनि जोड दिनु पर्याे । सरकारले पनि कसरी बढी मात्रामा विद्युत खपत हुन्छ, त्यता तिर लाग्नु पर्याे । त्यही किसिमका नीति नियम बनाउनु पनि आवश्यक देखिन्छ । आवश्यक मात्र विद्युत खपत भइ हाल्छ । घरमा बत्ती बलेकै छ, अब लोडसेडिङ मुक्त भयो भनेर हामी बसेका छौं । त्यो मात्र हैन । जाडोका समयमा हिटर, गर्मीको समयमा एसी चलाउने हरेक इलेक्ट्रिक सामान प्रयोग गर्दा पनि विद्युत् धान्न सक्ने क्षमता चाहिन्छ । उत्पादन अनुसारका विद्युत् खपत नेपालमा नै भयो भने अझ राम्रो हुनेछ । भारत र बंगलादेश बजार नेपाली विद्युतको लागि कत्तिको विश्वासिलो र दीगो बजार हुन् ? अहिले उत्पादन भइ खपत नभएको बिजुली भारतमा निर्यात हुँदै आएको छ । हामीलाई बढी भएको बिजुली निर्यात नै गर्नुपर्छ । जस्तो की सुन पसलेले सुन बेचर मात्र धनी हुने हैन । उसले गहना बनाएर पनि बेच्नु पर्याे । त्यसो भयो भने म्यानपावर बढी हुन्छ, रोजगारी सिर्जना हुन्छ । बिजुली उत्पादन गरेर बेच्नुभन्दा यही खपत गर्याे भने अझ राम्रो हुन्थ्यो । त्यसको लागि ठुलादेखि साना उद्योगको कलकारखानाको स्थापना भई सञ्चालनमा आउनु पर्याे । अहिलेको लागि भारत र बंगलादेश बजार नै नेपाली विद्युतको लागि विश्वासिलो र दीगो बजार रूपमा रहेको छ । अरू ठाउँ छैन । निकट भविष्यको थप योजनाहरु के छन् ? हाम्रो धेरै ठुलो योजना छैन । जलविद्युतका ठुला परियोजना अगाडि बढाउने हो । हात हालेको प्रोजेक्ट राम्रोसँग गर्ने र लगानीकर्तालाई उच्च प्रतिफल दिने हो । लगानीकर्ताको लगानीको सुरक्षा गर्ने हो । १० वर्षअघि जलविद्युत क्षेत्रप्रति नेपाली लगानीकर्ताको सोच र अहिलेको सोचमा कति फरक आएको छ ? अहिले सबैभन्दा ठूलो विषय ऊर्जा रहेछ । ऊर्जामा पनि हाइड्रोपावर नेपालमा रहेछ, हाइड्रोपावरको विकल्प छैन रहेछ भनेर धेरैले बुझेका छन् । त्यसैले पहिलाको तुलनामा अहिले यस क्षेत्रमा पनि आकर्षण बढेको देख्छु । तपाईं जलविद्युत उत्पादनको क्षेत्रमा कसरी आईपुग्नु भयो ? केले तपाईलाई आकर्षित गर्यो ? उत्पादन मूलक क्षेत्रमा जानुपर्छ भनेर म यस क्षेत्रमा लागेको हुँ । जलविद्युतको क्षेत्रमा म लागेको ११ वर्ष भयो । सुरुमा मैले गुल्मीमा ५ मेगावाटको हुग्दी जलविद्युत आयोजनामा काम गरेको थिए । उक्त आयोजनाको निर्माण अवधि ३६ महिना तोकेका थियौं । तर १७ महिनामा सबै काम सक्यौं । कतिपय प्रोजेक्ट बजेट भित्र पनि बनेका छैनन् । अनुमानित बजेटभन्दा पनि केही कममा नै उक्त आयोजनाको काम सम्पन्न गर्यौं । बैंकको ऋण पनि लिनु परेन । त्यसबाट केही कुरा सिक्यौं र अरू ठूलो प्रोजेक्ट गर्न सकिन्छ भनेर सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनामा लागेको हौं । हामी पहिला ५ मेगावाटको प्रोजेक्ट गर्दा २५ मेगावाट भन्दामाथि नेपालमा विद्युत् खरिद सम्झौता (पीपीए) थिएन । एक सय मेगावाटसम्मको पीपीए गर्नको लागि मुख्य कार्यविधि बनाउनु पर्याे । त्यो कार्यविधि बनाउँदा यही ८६ मेगावाटको आयोजनाको मुख्य भूमिका छ । यसको नै पहिलो पीपीए भयो । हामीलाई अरू साथीहरूले पनि सहयोग गर्नु भयो । अहिले एक सय मेगावाटसम्म पीपीए हुन्छ भने त्योभन्दा माथि नेगोशेसनमा गई रहेको छ । हाइड्रोपावरको विकासमा देखिएका समस्या तथा यस क्षेत्रमा सरकारले गर्न नसकेका काम केके छन् ? समस्या हजारौं छन् । समस्याका बीचमा निजी क्षेत्रले यो लेबलसम्म काम गर्न सफल भएको छ । निजी क्षेत्रबाट यतिको प्रयास भएको थिएन भने नेपालमा ऊर्जा संकट जुन अवस्थामा थियो त्योभन्दा काहालि लाग्दो स्थितिमा पुग्थ्यो । आज लोडसेडिङबाट राहात पाएका छौं । ऊर्जाको लागि निकै ठुलो सम्भावना बोकेको ठाउँ पनि नेपाल हो । चाहने हो भने ठूला ठूला आयोजनाको काम अगाडि बढाउन सकिन्छ । अहिले स–साना मेगावाटका आयोजना मात्र अगाडि बढेका छन् । मलाई लाग्छ कर्णालीमा १०/१२ हजारको एउटै प्रोजेक्ट बन्छ ।
एनआईबिएल ग्रोथ फण्डले बिजनेस ग्रोथ हेरेर लगानी गर्छ, लगानीकर्तालाई डबल फिर्ता दिन्छ : डीसीईओ थापा
एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । लगानीकर्ताहरुले यो फण्डमा छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल एस क्यापिटलले ल्याउन लागेको ग्रोथ फण्ड कस्तो हो, के छ योजना, लगानीकर्तालाई कति प्रतिफल दिने लक्ष्य राखेको छ ? यिनै विषयमा केन्द्रित भएर एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापासँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । एनआईबिएल ग्रोथ फण्ड ल्याउँदै हुनुहुन्छ । यो कस्तो प्रकारको फण्ड हो ? एनआईबिएल ग्रोथ फण्ड बन्दमूखी प्रकारको फण्ड हो । यसकोआकार १ अर्ब ६० करोड रुपैयाँको हो । ओभर सब्स्क्राइब भयो भने वा बढी आवेदन पर्याे भने २५ प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । ओभर सब्स्क्राइब्ड भयो भने २ अर्बसम्मको आकार हुन सक्छ । यसैले यसलाई हालसम्म कै ठूलो योजना भनिएको हो । एनआईबिएल ग्रोथ फण्ड अन्य फण्डको नेचरमा कुनै फरक छैन । एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ (परिपक्व), एनआईबिएल प्रगति फण्ड (अर्काे वर्ष परिपक्व हुने), एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्ड निष्काशन गरिसकेको छ । ग्रोथ फण्डले मुख्य लगानी इक्विटीमा गर्ने हो । ग्रोथ फण्ड भएकाले पनि यसको ग्रोथ गर्नुपर्छ । फण्डको डिभिडेण्ड पे आउट पनि बजारको माग अनुसार नै वितरण गर्ने हो । ग्रोथ फण्डमा धेरै लाभांश वितरण नगर्ने निती लिएको हुन्छ । लगानीकर्ताहरुले ऋणपत्र, मुद्दती निक्षेपमा लगानीमा रकम होल्ड गरिरहेका हुन्छन् । एनआईबिएल ग्रोथ फण्डका विशेषता के-के हुन् ? एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुन्छ । ग्रोथ फण्ड भएको हुँदा सकेसम्म इक्विटीहरु छनोट गर्दा दीर्घकालमा राम्रो ग्रोथ गर्न सक्ने कम्पनी, रेभिन्यू गर्न सक्ने, बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको छ । जसले गर्दा अल्पकालमा कम पर्फमेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने यो फण्डको उद्देश्य हुन्छ । ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ । एभरेजिङ गर्नुपर्याे भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ । सेयर बजार घटेर तल्लो तहमा पुगेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम देखिन्छ । लगानीकर्ताको मनोबल पनि घट्दो छ, यो बेला फण्ड बिक्री हुन सक्छ अहिले बजारमा लो लागेको छ । लो लागेको लामो समय भइसकेको छ । बजार वियरिस ट्रेण्डिङमा छ । कम्पनीहरुको सेयर मूल्य दयनीय छ । बैंकहरुको सेयर मूल्य डेढदुई सयको हाराहारीमा झरेको छ । बीमा लगायत अन्य सेक्टरको पनि धेरै कम मूल्यमा कारोबार भइरहेको छ । सेयर बजारको स्थिति हेर्ने हो भने म्युचुअल फण्ड किन्ने अवसर उपयुक्त समय हो । किनभने बजारको सुन्दरता भनेको हाई पछि लो आउनु र लो पछि हाई हुनु हो । अहिले हेर्दा यहि नै उपयुक्त समय हो । लगानी सुरु गर्नका लागि ज्यादै नै उपयुक्त समय छ । ठूलो फण्ड भएको हुनाले फर्दर बजार घटेपनि एभरेज गर्दै किन्न सक्ने यो फण्डको क्षमता हुन्छ । भोलिका दिनमा बढ्यो भने फाइदा लिन अवश्य नै सकिन्छ । यो फण्डबाट छानि छानि सेयर किन्ने मौका हुन्छ । मज्जाले विश्लेषण गरेर हरेक सेक्टरको कुन राम्रो सेयर हो, कति मूल्यमा किन्ने हो र अझै नेगोसेसन गरेरै किन्न सक्ने क्षमता छ । अर्काे साइटमा हेर्दा लगानीकर्तामा नैराश्यता छ । सेयर बजार घटेर मात्रै होइन समग्र आर्थिक अवस्थाले गर्दा निराशजनक स्थिति देखिन्छ । अलिकति फण्ड उठाउन गाह्रो हुन्छ की भन्ने लागेको छ । तर, आईपीओको ट्रेण्ड हेर्ने हो भने १२/१३ लाखभन्दा बढी नै आवेदन परेको छ । फण्डमा यति धेरै आउँदैन तरपनि अहिले फण्ड जारी गर्दा विदेशमा पनि रिचआउट गर्ने कोशिस भइरहेको छ । सर्वसाधारणमा सहभागिता कसरी बढाउने भनेर जोड दिइरहेको छौं । साथै, सर्वसाधारणलाई म्युचुअल फण्ड कस्तो लगानीको माध्यम हो भनेर बुझाउन सचेतनामुलक काम पनि भइरहेको छ । बजारको यस्तो स्थिति भएपनि सर्वसाधारणको सहभागीता उल्लेख्य हुन्छ भन्ने अपेक्षा छ । कतिपय संस्थाहरुसँग कुरा पनि भइसकेको छ । संस्थाहरुले दीर्घकाल फण्ड हो भनेर बुझेका छन् । लगानी गर्न राम्रो मौका भएकाले फण्ड बिक्री हुन्छ । म्युचुअल फण्डको सेयर मूल्य घटेको बेला असर गर्छ की ? यसले पनि प्रभाव पार्छ । यसले सर्टटर्म ट्रेडरलाई प्रभाव पार्ने हो । जसले लङ्टर्म होल्ड गर्छु भनेर मनस्थिति बनाएर खरिद गर्नुभएको हुन्छ उहाँहरुलाई यसले ठूलो असर पार्दैन । बजारमा रिफ्लेक्ट हुन्छ । मेरो लगानीको मूल्य घट्छ की वा वर्थ नै घट्छ की भन्ने महशुस हुन्छ । तर, बजार यहाँभन्दा धेरै तल झर्ने ठाउँ छैन । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अर्थतन्त्र सुधारोन्मुख छ । विस्तारै सुधार हुँदै जाँदा सेयर बजार पनि सुधार हुँदै जाने देखिन्छ । जसलाई तत्काल पैसा चाहिएको छ उसलाई मात्रै सेयर मूल्यले असर गर्ने हो । दीर्घकाल लगानी गर्नेलाई केही फरक पर्दैन । कसैले बढेको बेला म्युचुअल फण्ड खरिद गर्ने भन्नुहुन्छ भने कसैले घटेको बेला । यसले लगानीकर्तामा दुविधा पार्दैन ? म्युचुअल फण्ड दीर्घकाल इन्स्ट्रुमेन्ट हो । म्युचुअल फण्ड खरिद गर्न सधैं उपयुक्त समय हो । घटेको बेला पनि किन्ने हो । बढेको बेला पनि किन्दा उपयुक्त हुन्छ । म्युचुअल फण्ड खरिद गरेर दीर्घकालका लागि होल्ड गर्याे भने जहिले पनि किन्दा पनि हुन्छ । घटेको बेला होस् वा बढेको होस् । किनभने म्युचुअल फण्डले आ-आफ्नो रणनीति बनाएको हुन्छ । जहिले पनि बजार घट्दा म्युचुअल फण्ड बजारभन्दा कम घट्छ । बढ्दा खेरि पनि बजारभन्दा कम बढ्छ । म्युचुअल फण्ड जोखिम कम गर्ने किसिमको लगानी हो । बैंकको मुद्दती निक्षेपमा जोखिम हुँदैन । त्यसमा पनि अलिअलि रिस्क त हुन्छ । कुनै-कुनै बैंक डुबेको देखिएकै छ । तर, सामान्यतया बैंकहरुको मुद्दतीमा जोखिम हुँदैन । सर्टेन ब्याजदर पाइन्छ, त्यो फिक्स हो । जस्तो, अहिले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर पाइन्छ । जस्तोसुकै संकट आएपनि १२ प्रतिशत नै पाइने हो । घटेर १० प्रतिशत वा बढेको बेला १५ प्रतिशत पनि पाइँदैन । बचतबाट माथि उक्लिएर लगानी गर्ने हो भने सबैभन्दा पहिलो खुड्किलो म्युचुअल फण्ड हो । ३२ सय अंकमाथि गएको बजार अहिले १८ सय अंकको हाराहारीमा छ । झण्डै १४ सय त गुमाइसकेको छ । लगानीकर्ताले ४० प्रतिशत लगानी गुमाइसकेका छन् । तर म्युचुअल फण्ड धेरै घटेको छैन । १०/१५ प्रतिशत मात्रै घटेको छ । योभन्दा धेरै घटेको छैन । म्युचुअल फण्डमा लगानी गर्दा केही हदसम्म जोखिम कम हुन्छ । त्यसैले म्युचुअल फण्डले बजारको घटबढलाई व्यवस्थापन गरेर कसरी जोखिम गरेर रिटर्न बढी जेनेरेट गर्ने हो । म्युचुअल फण्ड दीर्घकालका लागि जहिले किने पनि राम्रो हो तर सर्टटर्म ट्रेड गर्ने हो भने बियरिस बजारमा गाह्रो हुन्छ । म्युचुअल फण्ड किन्ने नै हो भने लो लागेको बेला हो । अहिले किन्नुभयो भने घट्ने ठाउँ छैन, अब बढ्ने हो । पुरानो म्युचुअल फण्ड वा आईपीओ नै किने पनि अहिलेको समय उचित हो । अहिले किन्दा सस्तो मूल्यमा सेयर पाइन्छ । एनआईबिएल ग्रोथ फण्डले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ । हरेक सेक्टरमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ । बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो । नाम नै ग्रोथ फण्ड भएकाले विजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ । फण्डले कमाएको नाफाबाट इकाईधनीहरुलाई कतिसम्म प्रतिफल दिन सक्छ ? हरेक वर्ष प्रतिफल दिने प्रक्षेपण छ । फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ । मुद्दती निक्षेपको हाराहारीमा रिटर्न (१२÷१५ प्रतिशत) रिटर्न दिने प्रक्षेपण गरिएको छ । कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन् । सकेसम्म ग्रोथ मै न्याभ बढाएर एकैचोटी दिने प्रक्षेपण छ । न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ । शतप्रतिशत रिटर्न अन्तिममा दिने हाम्रो प्रक्षेपण हो । १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव छ ? यसअघिका म्युचुअल फण्डबाट राम्रो अनुभव छ । एनआईबिएल एस क्यापिटलले पहिलोपटक एनआईबिएल समृद्धि वान फण्ड जारी गरेको थियो । ७ वर्षे अवधिमा एभरेज वार्षिक १८ प्रतिशत प्रतिफल दिन सफल भएका छौं । यसले राम्रो अनुभव भएको छ । एनआईबिएल प्रगति फण्डका इकाईधनीहरुलाई भने सुरुका वर्षहरुमा प्रतिफल दिन सकिएन । तर, पछिल्लो समय भने इकाईधनीहरुलाई राम्रो प्रतिफल बाँडको छौं । ओपन इण्डेड सहभागीता फण्डका इकाईधनीहरुलाई ३ वर्षमा ६४ प्रतिशत रिटर्न दिइसकेका छौं । एफडीलाई बिड गर्ने हाम्रो सिद्धान्त हो । अहिलेका जस्तो खराब समय आएन भने एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई एभरेजमा १५/२० प्रतिशत रिटर्न दिन सकिन्छ । म्युचुअल फण्डको लाभांशदर घटेको छ, कुनै वर्ष ह्वात्तै लाभांश बढाउने कुनै वर्ष स्वाट्टै किन घटाउनु हुन्छ ? म्युचुअल फण्डको लाभांश दर घटेको छ । डिभिडेण्ड पोलीसी (लाभांश नीति) मेन्टेन गर्ने अभ्यास छैन । भएको बेला झ्याप्पै दिने नहुँदा चुप लागेर बस्ने प्रवृत्ति छ । हरेक वर्ष यति डिभिडेण्ड मेन्टेन गर्छु भन्ने परिपाटि छैन । म्युचुअल फण्डको लाभांश दर एउटै रेसियोमा देखिँदैन । बजारमा हेर्ने हो भने कुनै वर्ष ५० प्रतिशत दिएको छ भने कुनै वर्ष ५/७ प्रतिशतमा पनि झरेका छन् । म्युचुअल फण्डले ठ्याक्कै डिभिडेण्ड पोलीसी फ्लो गर्न सकेका छैनन् । एनआईबिएलले जारी गरेका फण्डको पनि एकनाश छैन । कुनै-कुनै स्थापित कम्पनीले फ्लो गरेको भएपनि अन्य सेक्टरमा नी डिभिडेण्ड पोलीसी पर्पल्ली फ्लो गरेको देखिँदैन । म्युचुअल फण्डमा एकनाश दिन पनि गाह्रो हुन्छ । म्युचुअल फण्डको लगानी बजारमा हुन्छ । बजार राम्रो भएको बेलामा डिभिडेण्ड दिनुपर्छ भन्ने हुन्छ । फण्डको नाफा आफैसँग राखिराख्यो भने बजार घटेको बेला डबल असर पार्ने होकी भन्ने हुन्छ । म्युचुअल फण्डहरुले डिभिडेण्ड पोलिसी अनुसार मेन्टेन गर्ने की नगर्ने विषयमा बहस हुन जरुरी छ । नेपाली बजारमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्न आवश्यक छ । स्थिर अर्थतन्त्रमा स्थिर लाभांश स्वभाविक हो । नेपालमा फ्लेक्च्युसन धेरै हुने भएकाले स्थिर राख्न गाह्रो भएको हुन सक्छ । म्युचुअल फण्डको प्रकृतिमा पनि भर पर्छ । लाभांशमा ग्रोथ फण्डको प्रकृति फरक हुन्छ । ब्यालेन्सड फण्ड र इनकम फण्डको सिद्धान्त एउटा रेञ्जमा दिनु पर्छ भन्ने हुन्छ । तर, ग्रोथ फण्डको अन्तर्राष्ट्रिय अभ्यास डिभिडेण्ड नै नदिने हुन्छ । ग्रोथ फण्डले भ्याल्यू बढाएर अन्तिममा एकैचोटी दिने अभ्यास छ । एनआईबिएल ग्रोथ फण्ड ४ दिनमा सबै बिक्री होला ? कस्तो प्रतिक्रिया आएको छ ? ४ दिनमा बिक्री गर्ने कोशिस गर्ने हो । गाह्रो पनि हुन सक्छ । अहिलेसम्म प्रतिक्रिया राम्रो आएको छ । हाम्रो फण्ड नआएको धेरै ग्याप भएको छ । जसले गर्दा त्यति धेरै गाह्रो हुँदैन की भन्ने छ । इकाईधनीहरुले ४ दिनमा नै सबै फण्ड खरिद गर्नुहुन्छ भन्ने अपेक्षा छ । यसअघिका फण्डबाट पनि उहाँहरु उत्साहित हुनु भएको छ । यसअघिका म्युचुअल फण्डको अवस्था के छ ? सबै फण्डको राम्रो छ । विभिन्न कारणले समृद्धि मुचुअल फण्ड २ मा राम्रो गर्न सकिएन । त्यो फण्ड बजार माथि जाने बेला ल्याएका थियौं । हामीले खरिद गर्दा गर्दै बजार घट्यो । त्यसमा राम्रो गर्न नसकेर लाभांश पनि दिन सकिएको छैन । हुन त २ वर्ष मात्र भयो । बजार घटेदेखि नै स्टक अकुमेलेट भइरहेको छ । अब बजार बढेपछि उक्त फण्डका इकाईधनीहरुलाई राम्रो लाभांश दिन्छौं । ग्रोथ फण्डका इकाईधनीहरुलाई कति प्रतिशत सन्तुष्टि बनाउनु हुन्छ ? इकाईधनीहरुलाई शतप्रतिशत सन्तुष्ट बनाउने प्रयास हामी गर्छाैं । विगतका फण्डहरुमा त्यो गरेर पनि देखाउन सफल भएका छौं । हामीसँग स्थापित टिम छ । हाम्रोमा मुभमेन्ट पनि त्यति धेरै छैन । फण्ड स्पोन्सरका रुपमा प्यारेन्ट कम्पनी एनआईबिएल पनि छ । पर्फमिङ फण्डको हिसावमा शतप्रतिशत नै सन्तुष्ट बनाउने लक्ष्य छ । म्युचुअल फण्डमा आईपीओमा जस्तो आकर्षण हुँदैन नि, किन ? नेपाल मात्रै यस्तो देश हो, जहाँ १ सय रुपैयाँ वा पार भ्यालुमा आईपीओ पाइन्छ । अन्य मुलुकमा हेर्ने हो भने आईपीओको मूल्य १० रुपैयाँ भइसकेको छ । अझै कुनै देशमा १ रुपैयाँ भइसकेको छ । कतिपय देशमा सेयर स्प्लिट पनि भएका छन् । अमेरिकातिर सेन्टमा आईपीओ पाइन्छ । पार भ्यालु वा जतिको त्यतिमा इस्यू हुने नेपालमा मात्रै हो । यसकारण १ सय रुपैयाँ सूचीकृत हुँदा जस्तो कम्पनी पनि २र३ सय रुपैयाँ हुन्छ । त्यो आकर्षण छ । आईपीओ पर्याे भने २/३ गुणा त फाइदा हुन्छ भन्ने हिसावले आकर्षण बढेको हो । यदि भोलिका दिनमा प्रिमियम मूल्यमा इस्यू भयो आकर्षण घट्छ । १ सय रुपैयाँमा पाइने भएर आकर्षण बढेको हो । म्युचुअल फण्डलाई त्यो सुविधा छैन । म्युचुअल फण्ड त फ्रेस हो । कसैले कम्पनी स्थापना गर्याे भने आईपीओ जारी गर्नका लागि ३ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा समय खर्च भएको छ, लगानी बढेको छ, कामहरु धेरै भएर एउटा भ्यालु आइसकेको हुन्छ । त्यो भ्यालु कम्पनीले १ सय रुपैयाँमा दिएको हुन्छ । यसकारण मात्रै त्यसको आकर्षण बढेको हो । भोलिका दिनमा १५० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने हो भने आकर्षण अटोमेटिक घट्छ । म्युचुअल फण्डको भविष्य कस्तो छ ? म्युचुअल फण्ड अझै आउँछन् । म्युचुअल फण्ड सुरु भएको १० वर्ष पुरा भयो । म आफै नेपाल धितोपत्र बोर्ड छोडेर सिद्धार्थमा जाँदा इन्भेष्टमेन्ट ग्रोथ स्किम वान भनेर पहिलो फण्ड ल्याएको थिए । म्युचुअल फण्डको इण्डष्ट्रि ११ औं वर्षमा प्रवेश भएको छ । ११ वर्षमा म्युचुअल फण्ड के हो, कस्तो लगानी हो भन्ने सचेतना सर्वसाधारणमा पुगेको छ । हाल म्युचुअल फण्डमा २८/३० अर्ब लगानी छ । पहिलो म्युचुअल फण्ड ल्याउँदा ५० करोड आकार थियो । बजारमा म्युचुअल फण्डको पुगेको छ । १० वर्षअघि म्युचुअल फण्डका बारेमा कर कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समितिलाई पनि थाहा थिएन । प्रोभिजनको व्यवस्था थिएन । हामीले सबै ठाउँमा गएर लबिङ गर्याै । बीमा समितिमा म आफैले प्रस्तुती गरेको थिए । राष्ट्र बैंक, कर लगायतसँग पनि धेरै बहस भयो । अहिले एउटा फेजमा म्युचुअल फण्ड आइपुगेको छ । अहिले ओपन इण्डेड म्युचुअल फण्ड पनि आइसकेको छ । हामीले नै पहिलो पटक ल्याएको हो । त्यो पनि २० करोडबाट सुरु गरेको हो । अहिले १ अर्ब पुगेको छ । त्यसलाई बढाएर २ अर्ब पुर्याउने योजना छ । लगानीकर्तामा फण्डका बारेमा ज्ञान बढ्दै गएकाले म्युचुअल फण्डको आकार अझै बढ्छ । अझै पनि गर्व गर्न लायकको आकारमा पुगेको छैन । ४/५ वर्ष अघिको तथ्याङ हेरेको थिए, भारतमा म्युचुअल फण्डको आकारा १० लाख करोड थियो । तर, नेपालमा ३० अर्ब मात्रै छ । हाम्रो जस्तो देशमा अझै पनि म्युचुअल फण्डको स्कोप छ । म्युचुअल फण्डमा सहुलियतको व्यवस्था हुनु पर्छ । भारतमा म्युचुअल फण्डमा कर योग्य आयबाट घटाउन पाउने सुविधा छ । नेपालमा त्यो सुविधा छैन । त्यो लबिङ गरेको थुप्रै वर्ष भइसक्यो । क्लोजिङमा त्यो व्यवस्था नभएपनि ओपनिङमा दिनुपर्छ भनेर माग गरेको वर्षाै भइसक्यो अहिलेसम्म हुन सकेको छैन । लाइफ इन्स्योरेन्सको प्रिमियम, कर्मचारी सञ्चाय कोष र नागरिक लगानी कोषलाई छुट दिन्छ । म्युचुअल फण्डमा छुटको व्यवस्था गर्याे भने इण्डष्ट्रि अझै ठूलो हुन्थ्यो । नियामकले पनि विस्तार गर्ने उद्देश्यले सोचेको छैन । इण्डष्ट्रि ठूलो होस् भन्दा पनि अल्झाइराख्ने प्रवृत्ति नियामक निकायको छ । यस्तो मनस्थिति हटेर सहजीकरण गर्याे भने मुचुअल फण्डको विकास हुन्छ ।
अहिले साना ऋणीको डिफल्ट बढी छ, भविष्यमा ठूलाको बढ्न सक्छ : सुमन शर्मा
सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत-सनराईज बैंक लिमिटेड पटक पटक अर्थतन्त्र संकटमा पर्दा पनि बैंकहरुको अवस्था विगत २ दशकमा राम्रो देखिन्थ्यो । तसर्थ लगानीकर्तादेखि जागिर खानेहरु सबैको पहिलो छनौटको क्षेत्रमा बैंकिङ क्षेत्र रह्यो । तर पछिल्लो समय बैंकिङ क्षेत्र तनावमा छ । कर्मचारी पनि तनावमा देखिन्छन् भने सेयरधनीको हात पनि खाली हुन थालेको छ । यसपालिको आर्थिक संकटले बैंकहरुलाई पनि नराम्ररी सताएको छ । त्यतिमात्र होइन, ऋणीहरु सडकमा ओर्लेर बैंकर्सको आलोचना गरिरहेका छन् । किन यस्तो अवस्था आयो र अबको विकास कसरी होला ? प्रस्तुत छ यहि विषयमा केन्द्रित भएर सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यस पटक । सनराईज बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने निणर्य गर्यो, किन त्यस्तो भयो ? पहिला बैंकमा पुँजी धेरै, बिजनेश थोरै थियो । अहिले पुँजी र बिजनेशको सन्तुलन मिलेको छ । माघ २०७७ देखि पुस २०७८ सम्मको अवधिमा हामीले करिब ४० प्रतिशतले बिजनेश ग्रोथ गर्यौ । त्यसको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको पहिलो त्रैमासमा तुलनामा ५४ प्रतिशतले व्याज आम्दानी बढेको छ । गत वर्ष हामीले २२ प्रतिशतले निक्षेप बढायौं, जबकी बैंकहरुको निक्षेप औसत ग्रोथ ८ प्रतिशतभन्दा कम छ । सो कारणले गत वर्ष बैंकको कुल व्याज आम्दानी उच्चदरले बढेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा डिफल्ट बढेकोले, इन्ट्रेस्ट सस्पेन्स तथा एनबीए (नन बैंकिङ एसेट) बढेको छ । त्यसको नकारात्मक असर वितरणयोग्य नाफामा परेको छ । सनराईज बैंकको मात्र डिफल्ट बढेको होइन । सबै बैंकको बढेको छ । किनकी अर्थतन्त्र संकटमा छ । कर्जा असुलीमा ठूलो समस्या छ । व्यापारीहरुले बिजनेस ३०/४० प्रतिशत घटेको बेलामा बैंकको कर्जा डिफिल्ट हुनु स्वाभाविक हो । गत वर्षकै कुरा गर्ने हो भने इन्ट्रेस्ट सस्पेन्ड पनि बढ्यो । कर्जा डिफल्ट पनि बढ्यो । लोन लस प्रोभिजन पनि बढ्यो । र, हामी जस्तो सानो बैंकको डिबेन्चर रिटेन्सन रिर्जभ ठूलो भयो । गत वर्ष ७५ करोड रुपैयाँ डिबेञ्चर रिडेम्सन रिर्जभमा राखेका छौं । यो रकम अन्तिममा सेयरधनीकै हो । डिबेञ्चरको अवधि सकिएपछि त्यो सेयरधनीले बोनस सेयरमा पाउनेछन् । गत वर्षको नाफाबाट सेयरधनीले जम्मा २ प्रतिशत मात्र लाभांश पाउने अवस्था रह्यो । त्यो कारणले हामीले लाभांश नबाँड्ने निणर्य गरेका हौं । वाह्य वातावरण राम्रो हुने वित्तिकै बैंकको अवस्थामा धेरै सुधार आउनेछ । बैंकिङ क्षेत्रमा यति ठूलो समस्या कसरी आयो ? कोरोना महामारी, विभिन्न देशमा कोरोनाका कारणले भएका लकडाउन, इन्धनको मूल्यवृद्धि लगायतको समस्याले विश्वभर मूल्य वृद्धि भयो । त्यसमाथि रसिया युक्रेन युद्धले विश्वभर नै बस्तु तथा सेवाको मूल्य ह्वात्तै बढ्यो । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि पर्यो । बैदेशिक व्यापार घाटा बढ्यो । विदेशी मुद्रा संचिति घट्यो । डलर विदेशमा धेरै गएपछि नेपालको बैकिङ क्षेत्रमा तरलता कमी भयो । बैंकहरुले निक्षेपको व्याज बढाए । निक्षेपको व्याज बढेको कारण बेसरेट बढ्यो । त्यसपछि कर्जाको व्याज पनि बढ्न थाल्यो । ८ प्रतिशतमा गएको होमलोनको व्याज १२ प्रतिशत पुग्यो । ९ प्रतिशतमा गएको बिजनेश लोनको व्याज १३/१४ प्रतिशत पुग्यो । कर्जाको व्याज ५० प्रतिशतसम्म बढ्दा ऋणीको आम्दानी सोही अनुसार बढेन । बरु कोरोना महामारीकै कारण कति ऋणि बेरोजगार भए होलान् । कतिको बिजनेश ठप्प भयो होला । यहि बेला नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयमा दिएको कर्जा सुविधाहरु हटायो । सबै किसिमले ऋणीहरुलाई नराम्ररी असर गर्यो र ऋण तिर्ने क्षमतामा ह्रास हुन गयो । मूल्यवृद्धिसँगै उपभोगमा गिरावट आएको छ । बजारमा मन्दी छाएको छ । बस्तु तथा सेवा बिक्री ज्यादै कम भएको छ । त्यसैले बैंकको कर्जा असुली पनि हुन सकिरहेको छैन । बैंकहरुको खराब कर्जा बढेको छ । कर्जा असुलीको सूचना, सम्पत्ति लिलामीको सूचना धेरै नै बढेको छ । सबै बैंकमा यो समस्या हुनुपर्छ । चालु आर्थिक वर्षको अन्त्य कस्तो होला ? सीडी रेसियो टाइट नै भैराख्यो, ऋणीहरुको नगद प्रवाह रोकियो र बैंकहरुले व्याज असुल गर्न थप कर्जा दिन्छन् भने बैंकहरुको डिफल्ट पक्कै पनि बढ्छ । पहिलो त्रैमासमा जे अवस्था देखियो चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि खास सुधार हुने सम्भावना धेरै कम छ । पहिलो त्रैमासमा कर्जा डिफल्ट भएको छ र यो समस्या क्षणिक होइन भने दोस्रो वा तेस्रो त्रैमासमा उसले भुक्तानी गर्छ भनेर विश्वास गर्न गाह्रो छ । किनकी बैंकको कर्जा किस्ता नियमित गर्न व्यवसायीले अधिकतम प्रयास गरेका हुन्छन् । जसको कर्जा डिफल्ट हुन्छ, उ संकटमा परिसकेको हुन्छ । पहिलो त्रैमासमा संकटमा परेको ऋणिले दोस्रो वा तेस्रो त्रैमासमा किस्ता तिर्छन भन्ने सम्भावना कम हुन्छ । यदि बैंकले कर्जा मिलाउन ऋणीलाई थप कर्जा दिन्छ भने त्यसको असर पछि वृहत भएर आउँछ र सो कार्य गर्नु हुँदैन । अहिले घर जग्गाको किनबेच पनि ज्यादै कम भएकोले ऋणीले धितो बेचेर पनि बैंकको कर्जा तिर्न कठिन छ । अहिले पनि केही बैंकहरुले राम्रो गरेका छन् । देशको अर्थतन्त्र संकटमा छ । गत एक आर्थिक वर्षमा २८० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति घट्यो । त्यसले अर्थतन्त्रमा बहुआयामिक असर गर्यो । बाध्य भएर सरकारले विभिन्न वस्तु आयातमा रोक लगायो । राष्ट्र बैंकले विभिन्न वस्तुको आयातलाई निरुत्साहित गर्यो । सरकारको राजश्व समेत घट्दो ट्रेण्डमा गयो । उद्योग वाणिज्य महासंघ लगायत व्यवसायिक संघ संस्थाहरु सडकमा ओर्लेर आन्दोलन गर्ने अवस्था आयो । यस्तो अवस्थामा पनि बैंकहरुले राम्रो नतिजा ल्याउँछन् भने त्यस बैंकको धेरै नै तारिफ गर्नुपर्छ । थोरै बैंकले राम्रो नतिजा ल्याए पनि धेरै बैंकहरुको नतिजा पहिला भन्दा बिग्रिएको नै छ । कर्जा डिफल्ट व्यवसायिकबाट बढी छ कि व्यक्तिगतबाट बढी ? दुबैतिरबाट छ । व्यवसायिक क्षेत्रमध्ये पनि कुन क्षेत्रबाट बढी डिफल्ट आएको छ ? समग्रमा साना ऋणी समस्यामा छन् । एसएमई र रिटेलको क्षेत्रबाट कर्जा उठ्न सकेको छैन । कर्पोरेट लोनभन्दा एसएमई लोन सुरक्षित भन्दै बैंकहरुले गएको दशकमा साना व्यवसायीहरुलाई प्राथमिकताका साथ कर्जा प्रवाह गरेका थिए । के अहिले त्यहि साना कर्जा बढी जोखिमपूर्ण भएका हुन् ? स्वाभाविक रुपमा साना व्यवसायी कमजोर हुन्छन् । किनकी उनीहरुसँग एउटा मात्र व्यवसाय हुन्छ । त्यो संकटमा पर्दा उनीहरुसँग विकल्प हुँदैन । कर्पोरेट हाउसका ४/५ वटा यूनिट हुन्छन् । १/२ वटा यूनिट घाटामा जाँदै गर्दा अर्को १/२ वटा यूनिटले राम्रो नाफा गरिरहेको हुन्छ । यसका साथै पहिला कमाएको संचित नाफा पनि ऋणि कम्पनीसँग हुन्छ । त्यसकारण कर्जा तिर्ने क्षमताको हिसावले साना व्यवसायीसँग भन्दा ठूला व्यवसायीसँग नै बढी क्षमता हुन्छ । तर आर्थिक संकट लम्बिदै गयो भने ठूलो व्यवसायी पनि संकटमा पर्छन् । त्यतिबेला बैंकहरुले लागि साना ऋणीभन्दा ठूला ऋणी जोखिमपूणर् हुन्छन् । किनकी साना ऋणीसँग बैंकले जग्गा धितो पनि लिएको हुन्छ । कर्जा उठेन भने जग्गा धितो बेचेर पनि आफ्ना लगानी केही हदसम्म उठाउँछ । तर ठूला ऋणीले पर्याप्त धितो राखेका हुँदैन् । उनीहरुको कर्जा डिफल्ट भयो भने जग्गा धितो बेचेर धेरै कर्जा असुल नहुने सम्भावना बढी हुन्छ । व्यक्तिगत कर्जाको कुरा गर्नु हुन्छ भने कर्मचारीको तलब १० प्रतिशत बढेको होला । तर घर कर्जा वा गाडी कर्जाको व्याज ५० प्रतिशतसम्म बढेको छ भने उसले कहाँबाट पैसा ल्याएर कर्जा तिर्ने भन्ने समस्या हुन्छ । अहिले डिफल्ट भएका कर्जा भविष्यमा असुली हुने सम्भावना कति हुन्छ ? उनीहरुको धितोले धान्छ कि धान्दैन ? मैले बैंकमा काम गर्न थालेको २५ वर्ष भयो । यस अवधिमा सन् २०११ ताका केही जग्गाको मूल्य केही घट्यो । अघिपछि कहिल्यै जग्गाको मूल्य घटेन, बढ्यो मात्र । कुनै वर्ष दोब्बर मूल्य वृद्धि पनि भएको छ । जग्गाको मूल्य कहिल्यै घट्दैन भन्ने मनोविज्ञान समाजमा स्थापित भएको छ । बैंकहरुले पनि जग्गा धितो राखेर नै कर्जा लगानी गरेका छन् । ठूला ऋणी डिफल्ट भए भने बैंकलाई बढी जोखिम हुन्छ । साना ऋणीको कर्जा अहिले डिफल्ट भए पनि केही जाग्गा धितो हुन्छ । तर अहिले जोखिम के छ भने ऋणको व्याज उच्च छ । यो अवस्था लामो समय रह्यो भने घर जग्गाको मूल्य पनि घट्न सक्छ । अहिले बैंकहरुले धेरै जग्गा लिलामीमा राखेका छन् तर जग्गा बिक्री भएका छैनन् । दुई वर्षअघि ५० लाखको जग्गा अहिले एक करोड मूल्य पर्ने भएको हो फेरी ५० लाखमा झरि हाल्छ नि भन्ने मनोविज्ञान पनि पाइन्छ । त्यस्तै भयो उच्च मूल्य भएको बेला जग्गाधितोको आधारमा कर्जा प्रवाह भएको छ भने ती कर्जा बढी जोखिममा पर्छ । पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । विदेशी मुद्रा संचितिमा सुधार छ । विप्रेषण आयमा सुधार छ । पर्यटन क्षेत्रमा उत्साह बढ्दै गएको छ । सरकारले आयातमा गरिएको प्रतिवन्ध पनि खुलाएको छ । बैंकहरुमा तरलता पनि केही सहज भएको देखिन्छ । यी तथ्यहरुले आगामी दिनमा सुधारको संकेत गर्दैनन् ? चिसो बढेको कारण भाइरल भयो, ज्वरो आएको हो भने छिटो निको हुन्छ । तर अल्सर भएको कारण ज्वरो आएको छ भने निको हुन कठिन पनि हुन्छ, बढी समय पनि लाग्छ । व्यवसायिक समूदायको कुरा सुन्दा अहिले अर्थतन्त्रमा सामान्य ज्वरो मात्र आएको छैन । यसको उपचार लामो विधिबाट हुनुपर्छ । सरकारको आर्थिक नीति र मौद्रिक नीतिको तहबाट समस्याको समाधान खोजिनुपर्छ । मौद्रिक नीतिले समस्या सम्बोधन गर्न प्रयास गरेको छ तर आर्थिक नीतिले समस्याको समाधान खोजेको छैन । अहिले निक्षेपको व्याज बढेको छ । मानिसहरु उपभोगमा भन्दा बचतमा आकर्षित भएका छन् । व्याज बढेकोले कर्जाको माग छैन । पहिलो ७/८ प्रतिशत व्याजमा कर्जा पाइन्थ्यो भने अहिले १४/१५ प्रतिशत पर्छ, त्यो पनि पाइँदैन । कर्जा प्रवाह नहुँदा लगानी बढ्दैन, नयाँ रोजगारी सिर्जना हुँदैन । लगानी बढाउने, रोजगारी सिर्जना र माग वृद्धि गर्ने गरी नीतिगत रुपमा काम गर्न जरुरी छ । चालु पुँजी कर्जा सम्बन्धि कर्जाविधिको ऋणीहरुले खुबै विरोध गरेका छन् । बैंकहरुको नजरमा यो कार्यविधि राम्रो हो कि खराब ? बैंकहरुबीचको प्रतिस्पर्धा र केही उद्योगी व्यवसायीहरुको उच्च महत्वकांक्षाको कारणले चालु पुँजी कर्जा प्रवाह र उपयोग दुबैमा बेथितिहरु भेटिन्छन् । सबैले गलत काम गरेका थिएनन्, तर केहीले कर्जाको गलत प्रयोग गरको पाइएको छ । त्यसलाई रोक्न जरुरी थियो । राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर नयाँ कार्यविधि जारी गरेको छ । वर्किङ क्यापिटल गाइडलाइन्सप्रति बैंकहरुको धेरै गुनासो छैन । किनकी बैंकमा काम गर्ने कर्मचारीहरु पारदर्शिता चाहान्छन् र सुरक्षित कारोबार चाहान्छन् । त्यसकारण समग्रमा बैंकर्सहरुले वर्किङ क्यापिटल गाइडलाइन्सलाई ठिकै मानेका छन् । केही केही सुधार जरुरी छ । जुन विषयमा बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका पनि छन् । व्यवसायीहरुले त चालु पुँजी कर्जा कार्यविधि २ वर्षको लागि स्थगित गर्न माग गरेका छन् नि ? समस्या पालेर राख्नु हुँदैन । कसैले यो नियम २ वर्षअघि आउनु पर्दथ्यो पनि भन्न सक्छन् । कसैले २ वर्षपछि लागू गरेको भए हुन्थ्यो पनि भन्नसक्छन, जतिबेला देशमा धेरै लिक्विडिटी थियो । समयबारे विवाद जायज होइन । समस्या छ, सुधार पनि आवश्यक छ भन्ने सबैको बुझाई हो भने समस्या घटाउँदै जाने बाटो नै उपयुक्त हो । केही बुँदामा परिमार्जन आवश्यक छ, राष्ट्र बैंकले पनि संशोधनको संकेत गरेको छ । बैंकर्सहरु प्रति बिजनेशम्यानहरु निकै आक्रोशित देखिन्छन् । बैंकर्स र बिजनेशम्यानबीच यो तहको तिक्तता किन आयो ? बैंकहरु हेभिली रेगुलेटेड छन् । हामीहरु राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर काम गरिरहेका छौं । हामी पब्लिक फोरममा जे पायो त्यो बोल्दैनौं । तरलता छैन, बैंकले कर्जा दिएनन् भनेर गाली गरिन्छ । व्याजदर वृद्धि भयो, बैंकर्सको आलोचना भयो । आयात बढ्यो, बैंकर्सलाई गाली गरेका छन् । तरलता अभाव हुनुमा पनि बैंकर्स दोषी छैनन्, व्याजदर बढ्नुमा पनि बैंकर्स दोषी छैनन्, आयात बढ्नुमा पनि बैंकर्स दोषी छैनन् । यो सब माग र आपूर्तिको परिणाम हो । माटोको मोल र हिराको मोल किन फरक छ ? जुन वस्तु सजिलै पाइन्छ, माग थोरै छ, त्यो सस्तो हुन्छ । जुन वस्तु बिरलै पाइन्छ, माग धेरै छ, त्यो महँगो हुन्छ । यो त बजारको नियम हो । बैंकहरुले निक्षेपको व्याज योभन्दा बढ्नु राम्रो होइन भनेर अडान नलिएको भए अहिले के हालत हुन्थ्यो ? निक्षेपको व्याज १५ प्रतिशत नाघ्थ्यो होला, कर्जाको व्याज १८ प्रतिशत नाघ्थ्यो होला । त्यो अवस्था आउन नदिन बैंकर्सले खेलेको भूमिकाबारे न व्यवसायीहरु बोले, न पत्रकारहरुले नै लेखे । बैंकर्सहरु बोल्दैन भनेर उनीहरुमाथि चौतर्फी आक्रमण भएको छ । र वाणिज्य बैंकहरुलाई सफ्ट टार्गेटको रुपमा व्यवहार गरिएको छ । हिजो बेसरेट ७ प्रतिशत हुँदा बैंकहरुले ९ प्रतिशतमा कर्जा लगानी गरे । अहिले १० प्रतिशत बेसरेट हुँदा कर्जाको व्याज १४ प्रतिशत बनाए भन्ने व्यवसायीको गुनासो छ । यो प्रुडेन्ट बैकिङ भएन नि ? हिजो ७ प्रतिशत बेसरेट हुँदा ९ प्रतिशतमा कर्जा दिन्थ्यौं । अर्को बैंकले ८ प्रतिशत मै कर्जा दिने भयो, कि ८ प्रतिशत बनाउनु पर्यो कि अर्को बैंकमा जान्छौं भनेर वार्गेनिङ गर्थे । बेसरेटभन्दा कम व्याजदरका कर्जा लगे भनेर राष्ट्र बैंकले कतिलाई सचेत पनि गरायो । के त्यतिबेला व्यवसायीले म ९ प्रतिशत व्याजमा कर्जा लिन्छु भनेका थिए ? ? यो सबै डिमाण्ड एण्ड सप्लाईले निर्धारण गर्ने कुरा हुन् । केही बैंकहरुले पुराना ऋणीलाई एक/डेढ प्रतिशत मात्र व्याज बढाएका छन् । कुनै बैंकले पुराना ऋणीलाई ४/५ प्रतिशत नै व्याज बढाईदिएका छन् । यस्तो हुनुमा माग र आपूर्ति असर मात्र नभई व्यवस्थापकीय कौसलता, ऋणीप्रति बैंकर्सको सोचले पनि काम गरेको देखिन्छ नि ? समग्रमा बैंकहरुको स्प्रेडदरको सीमा ४.४ प्रतिशत मात्र हो । कसैलाई बेसरेटमा ५ प्रतिशत प्रिमियम लिएका पनि होलान् र कसैलाई बेसरेट प्लस २ प्रतिशत पनि होला । औषतमा हुने ४.४ प्रतिशतभन्दा माथि कुनै पनि बैंकले लिएका छैनन् । कुनै कर्जामा १७/१८ प्रतिशत व्याज पनि होला । त्यसको जोखिम पनि बढी छ भनेर होला । कसैले अहिले पनि ११/१२ प्रतिशत व्याजमा कर्जा पाएका होलान्, जसको जोखिम कम छ भनेर होला । राष्ट्र बैंकले पर्सनल ओडी, अटो लोन र सेयर लोनमा बढी क्यापिटल चार्ज तोकेकोले पनि यी कर्जाको व्याज महाँगो भएको हो । अन्त्यमा, धेरै बैंकहरु मर्जमा गए । अब त वाणिज्य बैंकमध्ये सबैभन्दा सानो बैंकमा सनराईज बैंक देखिन थाल्यो । मर्जबारे बैंकले के सोचिरहेको छ ? उहाँहरुले लगानीको प्रतिफल रेट र लगानीको सरक्षणलाई प्राथमिकता दिनुहुन्छ जस्तो लाग्छ, बैंकको साइज कत्रो भन्दा पनि । यो सामानय आर्थिक सिद्धान्त हो । यस बैंकले व्यापार निकै बढाएकोले गर्दा देशको आर्थिक अवस्था राम्रो भएमा अर्थात ऋणिको आर्थिक स्थिति सुध्रिएमा यस बैंकको प्रतिफल दिने क्षमता ह्वात्तै बढेको पाउनुहुनेछ । यो बैंक पारदर्शि र सुरक्षित छ । उचित पार्टनर पाएमा हामी मर्जमा जानेछौं । बैंकको साधारणसभा र सञ्चालक समितिले पनि उचित पार्टनर पाए मर्जमा जाने निणर्य गरेको छ ।