धरानको वीपी प्रतिष्ठानमा जेठ ८ बाट साताको दुई दिन विदा हुने
काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सातामा दुई दिन विदा लागू गर्ने भएको छ । सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गरेर शनिबार र आइतबार दिने व्यवस्था लागू गरेको हो । प्रतिष्ठानले शुक्रबार भने पूरा दिन बिरामीलाई सेवा दिने जनाइएको छ । यसअघि शुक्रबार आधा दिन मात्र अस्पतालले सेवा सुचारु हुने गरेको थियो । नेपाल सरकारले चैत्र २२ गते राजपत्रमा प्रकाशित बमोजिम प्रत्येक साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागु गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी परिपत्रको आधारमा प्रतिष्ठानले जेठ ८ गते देखि लागु हुने गरी हरेक साताको शनिबार र आइतबार (साताको दुई दिन) अस्पताल तर्फको अन्तरङ्ग सेवा र आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरु बन्द रहने वीपी प्रतिष्ठानले देखाएको छ ।
मन्त्री मेहताले वीर अस्पतालबाट थालिन् सरसफाइ अभियान
काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु गरेको छ । सप्ताहको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालबाट औपचारिक शुभारम्भ गरेकी छन् । सोमबार बिहान वीर अस्पताल परिसरमा पुगेकी मन्त्री मेहताले कुचो लिएर सरसफाइ गर्दै अभियान सुरु गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २८ गतेदेखि ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ सुरु हुने जनाएको थियो । अब आजदेखि जेठ १ गतेसम्म संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकायमा सरसफाइ अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत कार्यालय परिसरको नियमित सरसफाइ, शौचालय स्तरोन्नति, फोहोर वर्गीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिइएको छ। अस्पतालजस्ता बढी सेवाग्राही आउने स्थानमा महिला तथा अपाङ्गतामैत्री शौचालय, हात धुने स्थानमा साबुनको व्यवस्था र ढल निकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ। यस्तै प्रत्येक निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने र मासिक स्व–मूल्यांकन प्रणाली लागू गरिने व्यवस्था पनि गरिएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रालयका अधिकारी तथा अस्पतालका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलमा उपचार सेवा लिँदा अस्पतालले तोकेको विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । उक्त छुट नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने जनाइएको छ । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा बि एण्ड बि हस्पिटलका तर्फबाट प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिमार्फत छिटो, छरितो तथा गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको पनि जनाएको छ ।