क्लासिक भ्यू रिसोर्टको व्यवस्थापनको जिम्मा सोल्टी होटल्सले लियो

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो ।  होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट  कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन् ।  सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौं उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उनले भने, 'नेपालको एकमात्र स्वदेशी अन्तरराष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ । ‘द सोल्टी रिसोर्ट’ शिवपुरीको सञ्चालनसँगै सोल्टी होटल्स एण्ड रिसोट्र्सले लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने अर्को महत्वपूर्ण आतिथ्य गन्तव्य थपेको छ । हामीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ‘ब्रान्ड’ र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौँ ।' अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।   यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ  । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडौं उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौंमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ । ‘द सोल्टी रिसोर्ट’ काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज सन्निकट काठमाडौंको शान्त र सौम्य वातावरणमा वन्य जीवन तथा आकर्षक सुन्दर प्राकृतिक सौन्दर्यतासहित मनमोहक काठमाडौं उपत्यकाको अभूतपूर्व स्वर्णिम दृश्यावलोकन तथा रमणीय वन  जङ्गल परिवेशमा अवस्थित रहेको छ ।' निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको  स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौं उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  । साथै ‘द सोल्टी रिसोर्ट’ शिवपुरीले नयाँ गन्तव्यले विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुलाई उजागर गर्ने गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।  यस्ता छन् थप विशेषता  प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'शान्त वातावरणमा ‘द सोल्टी रिसोर्ट’ ले विविध स्वादमा उत्कृष्ट भोजन अनुभव प्रदान गर्दछ ।  अतिथिहरूले ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’ मा विभिन्न परिकारहरूको स्वाद लिन, ‘ऐराक बार’ मा आरामदायी समय बिताउन तथा जङ्गल फायर बिबीक्यु टेरेसमा ‘ग्रिल्ड’ परिकार, बोनफायर र मनमोहक वन दृश्यको आनन्द लिन सक्नेछन् । यस रिसोर्टको प्रमुख विशेषता यसको अनुपम प्राकृतिक वातावरण हो, जहाँ स्वच्छ पहाडी हावा र प्राकृतिक मुहानको पानीको पहुँच उपलब्ध छ । यसले सहर नजिकै भए पनि दुर्लभ रूपमा पाइने पुनःस्थापनात्मक अनुभव प्रदान गर्दछ । साथै, वरपरको क्षेत्रमा वन्यजन्तु चराचुरुङ्गी र पशुपन्छीहरुको अवलोकनको अवसर पनि प्रदान गर्दछ ।' ‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र आकर्षक एम्फिथिएटर रहेका छन् । यी स्थलहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा ‘रिट्रिटहरू’ आयोजना गर्न उपयुक्त छन्, जहाँ प्राकृतिक सौन्दर्य र शीतल पहाडी वातावरणले अनुभवलाई अझ विशेष बनाउने कम्पनीले विश्वास लिएको छ । ‘द सोल्टी रिसोर्ट’ ले स्वास्थ्य, तन्दुरुस्ती र प्राकृतिक अनुभवमा केन्द्रित आतिथ्य सेवा प्रदान गर्दछ । रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना र फिटनेस सेन्टरका साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधिहरूको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रासस

अर्थमन्त्रीले करका दरमा गरेको हेरफेरमा छानबिन गर्नुपर्ने माग, संसदमा विरोध

काठमाडौं । आर्थिक विधेयकमा समावेश करसम्बन्धी प्रावधान तथा पृष्ठ संख्या फरक देखिएको विषय प्रतिनिधिसभामा उठेको छ । प्रमुख प्रतिपक्षी तथा अन्य दलका सांसदहरूले यस विषयमा सरकारसँग स्पष्ट जवाफ माग्दै गम्भीर छानबिनको आवश्यकता औंल्याएका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले संसदमा पेश गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित संस्करणबीच उल्लेखनीय भिन्नता देखिएको बताइन् । उनले विधेयकका केही पृष्ठ हटाइएको र करका दरसम्बन्धी व्यवस्थामा समेत परिवर्तन भएको आरोप लगाउँदै यसबारे सरकारको धारणा मागिन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले करसम्बन्धी संवेदनशील जानकारी कसरी बाहिरियो भन्ने विषयमा प्रश्न उठाए । उनले करका दर परिवर्तनसँग सम्बन्धित सूचना सीमित व्यक्तिलाई मात्र थाहा हुने अवस्था रहे पनि त्यसको प्रभाव बजार र आयात क्षेत्रमा देखिएको भन्दै सम्भावित सूचना चुहावटबारे छानबिन हुनुपर्ने धारणा राखे । संसदमा दर्ता गरिएको आर्थिक विधेयक र पछि अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको संस्करणबीच पृष्ठ संख्यामा अन्तर देखिएको विषय यतिबेला विवादको केन्द्रमा पुगेको छ । संसद्मा पेश गरिएको विधेयक ४६४ पृष्ठको रहेको उल्लेख गरिए पनि वेबसाइटमा उपलब्ध गराइएको प्रतिलिपि ४४८ पृष्ठको रहेको बताइएको छ । यसले विधेयकका केही अंश हटाइएको वा संशोधन गरिएको आशंका उत्पन्न गरेको छ । उनीहरूका अनुसार संसद्को प्रक्रियामा प्रवेश गरिसकेको विधेयकका विषयवस्तु परिवर्तन गर्न चाहेमा सरकारले औपचारिक रूपमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्छ । संसद्को जानकारी वा स्वीकृतिबिना विधेयकको सामग्री परिवर्तन गरिनु प्रक्रियागत रूपमा विवादास्पद हुन सक्ने उनीहरूको भनाइ छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते आर्थिक विधेयक संसद्मा प्रस्तुत गरेका थिए । त्यसयता विधेयकका विभिन्न प्रावधानबारे बहस चलिरहेका बेला पृष्ठ संख्या र करसम्बन्धी व्यवस्थामा देखिएको अन्तरले नयाँ प्रश्न खडा गरेको छ । विपक्षी दलहरूले यस विषयमा सरकारबाट स्पष्ट जवाफ र आवश्यक छानबिनको माग गरेका छन् । 

'करको भार घट्यो, आत्मविश्वास बढ्यो'

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले बजेटलाई परम्परागत रूपमा समर्थन वा विरोधमात्र नगर्ने प्रष्ट पारेका छन् । बजेटले देशमा लगानीको वास्तविक वातावरण सिर्जना गर्‍यो कि गरेन भन्ने कुरा मुख्य भएको उनको भनाइ छ । बजेट वक्तव्यपछि आफ्नो धारणा राख्दै अध्यक्ष श्रेष्ठले आगामी बजेटले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढाउने अपेक्षा गरिएको बताए । नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि कानुनको अभाव भन्दा पनि पुराना र अल्झाउने खालका कानुनहरू मुख्य समस्या रहेको अध्यक्ष श्रेष्ठले औंल्याए।  ‘पुराना अल्झाउने कानुनले निजी क्षेत्रमा समस्या निम्त्याइरहेको छ,’ उनले भने, ‘तर यस पटकको बजेटमार्फत विभिन्न अनावश्यक निकायहरूको खारेजी र मर्जर गर्ने घोषणा हुनु सकारात्मक छ । यसबाट हामीले राम्रो अपेक्षा राखेका छौं ।’ नेपालमा वैदेशिक लगानी भित्र्याउने सवालमा उनले कानुनी जटिलता सुधार्नुपर्नेमा जोड दिए । विदेशी पुँजी कानुनभन्दा पनि ‘विश्वास’ मा बग्ने भएकाले नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा स्थापित गर्न उचित वातावरण बनाउनु जरुरी रहेको उनको तर्क थियो । यद्यपि ऊर्जा क्षेत्रका लागि भने बजेट सकारात्मक रहेको उनले बताए । बजेटले ऊर्जा उत्पादनसँगै यसको निर्यातमा विशेष जोड दिएकोमा उनले खुसी व्यक्त गरे । बजेटले शेयर बजारका लागि गरेको व्यवस्थाको स्वागत गर्दै अध्यक्ष श्रेष्ठले पूँजीगत लाभकरको अन्तिम व्यवस्थाले पुँजी बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। तर, कर नीतिका सम्बन्धमा भने उनले मिश्रित प्रतिक्रिया दिएका छन् । केही वस्तुहरूमा करका दरहरू खारेज गरिए तापनि समग्रमा करको वास्तविक भार नघटेको उनको दाबी छ ।  अझै पनि केही निश्चित क्षेत्रहरूमा करको भार यथावतै रहेकाले यसले उद्योगी व्यवसायीलाई सजिलो नबनाउने उनले उल्लेख गरे ।