सरकारलाई कांग्रेसको प्रश्न– ‘के गरिबको भान्सामै कर लगाउने हो ?’
काठमाडौं । नेपालको सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लगाउने सरकारको पछिल्लो कदमप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले यसलाई ‘जनविरोधी, अव्यवहारिक र असंवेदनशील’ कदमको संज्ञा दिँदै तत्काल निर्णय सच्याउन माग गरेको छ । वर्तमान आर्थिक संकटका बीच जनतामाथि थप बोझ थपिएको भन्दै कांग्रेसले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । खुला सीमाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तोमा ल्याएर जीवन निर्वाह गर्दै आएको यथार्थलाई सरकारले कुल्चिएको कांग्रेसको ठहर छ । विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान र निम्न आय भएका परिवारहरू यस निर्णयबाट प्रत्यक्ष मारमा परेका छन् । ‘डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ जस्तो उच्चस्तरमा पुगेको बेला २००/३०० रुपैयाँको सानो खरिदमा पनि अतिरिक्त शुल्क लगाउनु भनेको गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम हो,’ विज्ञप्तिमा भनिएको छ । राज्यले राजस्व वृद्धिको नाममा गरिबको भान्सामै कर लगाउन मिल्छ ? भन्दै कांग्रेसले सरकारको यस विभेदकारी नीतिमाथि केही गम्भीर प्रश्नहरू समेत उठाएको छ । १०० रुपैयाँमा भन्सार लिने निर्णय तत्काल फिर्ता लिनु पर्ने वा व्यक्तिगत प्रयोगका लागि व्यवहारिक सीमा निर्धारण गर्नुपर्ने कांग्रेसको माग रहेको छ । त्यस्तै, खाद्यान्न, तेल, साबुन र लत्ताकपडा जस्ता वस्तुको भन्सार दर घटाउनु पर्ने वा अस्थायी छुट दिनुपर्ने कांग्रेसले उल्लेख गरेको छ । मधेश प्रदेशका लागि कृषि, सिँचाइ र साना उद्योगमा लक्षित राहत र सब्सिडी लागू गर्नुपर्ने, इन्धन आयातमा लाग्ने विभिन्न करहरू घटाई मूल्य नियन्त्रण गर्न र गरिबमुखी ‘क्रस-सब्सिडी’ नीति अवलम्बन गर्नुपर्ने, इन्धनको मूल्य निर्धारण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने पनि कांग्रेसको माग छ ।
रास्वपाको प्रवास विभाग प्रमुख बने दीपक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए । अर्याल सभामुख बनेपछि बोहरालाई सो जिम्मेवारी दिइएको हो ।
घण्टीको नयाँ अभियान : सांसदविहीन क्षेत्रमा समानुपातिकको ‘कमान्ड’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् । यसअघि विभागको प्रमुखको जिम्मेवारीमा डीपी अर्याल रहेका थिए । उनी सभामुखमा निर्वाचित भएपछि यो पद खाली रहेको थियो । त्यसैगरी, रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।