कांग्रेसले भन्यो : गृहमन्त्री गुरुङमाथि छानबिन हुनुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको व्यापारीहरुसँगको सम्बन्ध र लघुबीमामा रहेको सेयर स्वामित्वको विषयमा छानबिन हुनुपर्ने माग राखेको छ । कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेको हो। ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वार जारी विज्ञप्तिमा भनिएको छ । यस्तो छ विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ । पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो । यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ । नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ । यस सन्दर्भमा, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ- गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पु¥याउनेछ। नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहनेछ।
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि सोमबार यहाँ आएका छन् । उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ । आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।