नवआयुक्त सैनिक अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन- अनुशासन र कर्तव्यमा कहिल्यै सम्झौता नगर्नू
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास उनले व्यक्त गरे । सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरे । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा एक सय ८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
शुक्रबार मध्यरातदेखि संघीय संसद् अधिवेशन अन्त्य हुने
काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी पत्रअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्य गरिएको हो । यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु सत्र औपचारिक रूपमा समाप्त हुने भएको छ ।
भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल तथा चार विदेशी नागरिकसमेतलाई विशेष अदालतमा अभियोगपत्रसहित पेश गरेको हो । मुद्दामा अख्तियारले कुल ७ करोड ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ । अनुसन्धानका क्रममा महरा समूहको चिनियाँ नागरिकहरूसँगको सम्बन्ध र भेपमार्फत हुने सुन तस्करीमा संलग्नता खुलेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको अख्तियारको दाबी छ । मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।