उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । वर्तमान संसद्‌की सबैभन्दा कान्छी सदस्य रुबीकुमारीले २५ वर्षकै उमेरमा नेपालकै कम उमेरको उपसभामुख बनेर नयाँ इतिहास रचेकी छिन् । उनलाई श्रम संस्कृति पार्टीले मधेसी महिला कोटाबाट समानुपातिक सांसद बनाएको थियो ।

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ । उनीहरूलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष मन्त्रीका लागि सिफारिस गरेका हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यसूची तय गरिएको छ । गौरीकुमारीले महोत्तरी- ४ र रामजीले सप्तरी- २ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए । बिहीबार प्रधानमन्त्री बालेन्द्र साहले श्रममन्त्री दीपक साहलाई पदमुक्त गरेका थिए भने उद्योग मन्त्रालय आफैले सम्हाल्दै आएका थिए ।  यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।

रास्वपाको समर्थन रूबीकुमारी ठाकुरलाई, उपसभामुख निर्वाचनमा मतदान गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने प्रस्ताव पारित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)लाई उपसभामुखमा समर्थन गर्ने चर्चा चलेपनि श्रम संस्कृति पार्टीलाई समर्थन गरेको हो ।   राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।