विश्वकप क्रिकेट लिग–२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ ।         नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् । 

अब झापामा राति पनि अन्तर्राष्ट्रिय खेल, फ्लडलाइटका लागि साढे ३ करोड बजेट

काठमाडौं । झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ साल यता दुइवटा अन्तर्राष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् । फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्कर प्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णु कुमार नेम्वाङले हस्ताक्षर गरेका छन् । खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । ‘खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो,’ नगर प्रमुख पोखरेलले भने, ‘यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।’ पछिल्लो समय भद्रपुरमा अन्तर्राष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युतको मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ । फ्लडलाइट प्रणाली जडान कार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

नेपाली महिला फुटबल टोलीका तीन खेलाडी एसटीसी राइड र एसटीसी इनर्जीको ब्रान्ड एम्बेस्डर

काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका प्रसिद्ध ब्याट्री ब्रान्डहरू एसटीसी राइड तथा एसटीसी एनर्जीले नेपाली खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन उत्कृष्ट खेलाडीहरूलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीलाई एसटीसी इनर्जी इन्डस्ट्रिजले ब्रान्ड एम्बेस्डर बनाएको हो । सम्झौताअनुसार राष्ट्रिय टोलीकी प्रख्यात फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन्।  त्यस्तै, राष्ट्रिय टोलीसँग आबद्ध अनुभवी खेलाडी मनमाया दमाईलाई एसटीसी‍ इनर्जीको ब्रान्ड एम्बेस्डरको रूपमा अनुबन्ध गरिएको छ । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका यी तीनै खेलाडीहरूले आफ्नो अनुभव, ऊर्जावान प्रतिभा र समर्पणका माध्यमबाट नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।   नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय श्री एसटीसी ग्रुपले विगत लामो समयदेखि गुणस्तरीय र भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख उत्पादनहरू ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी पूर्ण रूपमा आधुनिक प्रविधिमा आधारित ‘मेड इन नेपाल’ ब्याट्री ब्रान्डहरू हुन् । नेपाली सडक, यहाँको मौसम र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु र भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन् ।  विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा यो ब्रान्ड निकै लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक एवं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए ।