वर्षा बाधक बनेको खेलमा नेपालमाथि यूएईको जित, भोलि दोस्रो भिडन्त
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि- ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा (सोमबार) आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग(यो । युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए । अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए । यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो । यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ । अब भोलि नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ ।
खजुरा बन्दै फुटबलको केन्द्र, गाउँमै हजारौँ दर्शक
राँझा । पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला बाँकको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । खजुरा क्षेत्रमा आयोजना हुने सानादेखि ठूला सबै फुटबल प्रतियोगितामा स्थानीय दर्शकको उल्लेख्य सहभागिता देखिन्छ । यहाँका गाउँमा हुने फुटबल प्रतियोगिता हेर्न टाढाटाढाबाट स्थानीय खेल मैदानसम्म पुग्ने गरेका छन् । अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले यहाँ हुने फुटबलमा खेलाडी र दर्शकको सहभागिताले खेलप्रति आकर्षण बढ्दै गएको देखाउने बताए । 'नेपालगञ्ज रङ्गशालामा हुने फुटबल प्रतियोगितामा दर्शक सङ्ख्या न्यून हुँदा खजुरा क्षेत्रमा भने यो सङ्ख्या बढ्दै गएको छ', उनले भो, 'खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादनको उर्वर क्षेत्र हो, यहाँ फुटबलप्रति स्थानीयको छुट्टै खालको लगाव छ ।' खजुरा गाउँपालिकामा नियमितजसो ठूलासाना धनराशिका फुटबल प्रतियोगिता आयोजना भइरहने जनाउँदै शाहीले यसले खेलाडी र फुटबलप्रेमीलाई उत्साहित बनाएको धारणा राखे । खजुरा गाउँपालिका-४, डीगाउँमा करिब रु ६० लाखको खर्चमा एन्टी एरिना प्रथम खजुरा गोल्डकप सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेतालाई रु सात लाख र द्वितीयलाई रु चार लाख नगद पुरस्कार प्रदान गरिने आयोजक न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए । 'पहिलो पटक गाउँमा गोल्डकप आयोजना गर्दैछौँ, सबैको साथ र सहयोग प्राप्त भएको छ', उनले भने, 'करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने हाम्रो अनुमान छ ।' एन्टी एरिना प्रथम खजुरा गोल्डकपमा यस क्षेत्रका साथै नेपालगञ्ज र कोहलपुरबाट समेत दर्शक सहभागी हुने गरेका खत्रीले बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै फुटबल खेलको विकास हुने बताउँदै गोल्डकपलाई आगामी वर्षदेखि पालिकाको वार्षिक बजेटमा राखेर निरन्तरता दिने जानकारी दिए । रासस
अब टी-२० दीपेन्द्र र ओडिआई रोहितले सम्हाल्ने, को-को परे टिममा ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा सिरिज खेल्ने खेलाडीको नाम घाेषणा गरेकाे छ । क्यानले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ भने टी-२० का लागि दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टीम घोषणा गरेको छ । आईसीसी विश्वकप लिग २ मा रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । खेलका लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएका छन् । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ । यस्तै, यूएईसँगको दुई खेलको टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ । यो सिरिजलाई कप्तान रोहित परेका छैनन् । दीपेन्द्रले याे खेलकाे नेतृत्व गर्नेछन् । सो खेलका लागि दीपेन्द्रसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउँद, हेमन्त धामी, साहव आलम र शेर मल्ल परेका छन् । खेलको रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र रसिद खान परेका छन् । नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी-२० सिरिज खेल्दैछ । उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ । क्यानले अब एक दिवसिय र टी-२० काे छुट्टै टिम बनाएर खेलाउने तयारी गरेको बुझिन्छ ।