बक्सिङ खेलाडी घिमिरेले जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम
काठमाडौं । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए । जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । यसैगरी, एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् । उनले भने, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ । ” सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो । रासस
नेपाली फुटबल टोली म्यान्मातर्फ प्रस्थान
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटबल टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा समूह ‘बी’ मा परेको नेपालले आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा ‘होम’ खेलअन्तर्गत कुवेत विरुद्वको पहिलो खेल खेल्दैछ । त्यसैको तयारीस्वरूप नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको चार खेलमा तीन अङ्क जोडेको छ । सहभागी नेपाली टोलीको गोलकिपरमा विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यसैगरी, मिडफिल्डरमा, रवी पासवान, अन्जन बिष्ट, मिक्चेन तामाङ, सुनिल बाल, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र सुवास गुरुङ छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र अभिषेक रिजाल छन् । रासस
नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडाैं । नेपाल राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल छनाेट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ कप्तानका रूपमा मल्ललाई छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने । पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए । यू १९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् । क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।