टेनिस च्याम्पियनसीपमा कमल थापाले जिते दोहोरो उपाधि
कास्की । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि प्राप्त गरेका हुन् । त्यसैगरी, थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो । च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् । ३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् । च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिएका छन् । विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए। रासस
फुटबलमा राष्ट्रसेवक टोली विजयी
सुर्खेत । चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ । आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गरेका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीको टोली ३–७ गोल हानेर विजयी भएको थियो । जनप्रतिनिधि टोली भने ३ गोलमै सीमित भएको थियो । त्यसैबीच, कुर्ची दौड प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । संविधान दिवसको अवसरमा कर्णालीका ७९ स्थानीय तहमा पनि घैँटोफोड, रस्सी तानातान, कपर्दी, भलिबल, बाघचाल, बुद्धिचाल, ब्याडमिन्टनजस्ता विभिन्न खेल आयोजना गरेर खुशी मनाइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताएकी हुन् । “दिवसको पूर्वसन्ध्यामा आज प्रदेशभरि हरेकको घरआँगनमा दिपावली गरिएको छ”, मन्त्री केसीले भने, “यसले नेपाली जनताको त्याग, साहस र बलिदानको उपलब्धिस्वरुप प्राप्त भएको नेपालको संविधान २०७२, को महत्व र खुशीलाई दर्शाएको छ ।” भोलि बिहान ७ः०० बजे प्रदेशभरि एकैचोटी सांस्कृतिक झाँकीसहित र्याली गर्नुका साथै विविध कार्यक्रम गरेर संविधान दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको उनले बताए । रासस
ईपीएल भारतीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानलहरुलाई पनि लिगबारे अधिकार प्रदान गर्न सक्नेछ । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने र नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बताए । नेपाली क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडिया डी स्पोर्ट्सको प्रयोग गरिएको हो । यसअघि ईपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपिवान एचडीले गरेको थियो । चौथो संस्करणको ईपीएल आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने छ ।एभरेष्ट प्रिमियर लिगको ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।