कैलाशफाँटमा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताएका छन् । प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताएका छन् । उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताए । व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको जानकारी दिएका छन् । अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताए । रासस

कर्पोरेट क्रिकेट च्याम्पियन बन्न सफल सेञ्चुरी बैंक

काठमाडौं । इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक विरुद्ध सेञ्चुरी बैंकको जित भएको छ । सो जितसंगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधि जितेर ह्याट्रिक गर्न सफल भएको हो । साथै,शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा पनि सेञ्चुरी बैंकले एनआईसी एसिया बैंकलाई पराजित गरी च्याम्पियन बन्न सफल भएको छ ।

खेलमा सहभागिता जनाउन आइपुग्याे अफगानी टोली नेपाल

काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरेका छन् । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगिताकाे हो । एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् । रासस