महिला यु-१९ विश्वकप क्रिकेट छनोट : नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइलैन्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । बुधबारदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३ः१५ मा हुनेछ । युनाइटेड अरब इमिरेट्स ९युएई० मा आजदेखि सुरु भएको उक्त प्रतियोगिता यही कात्तिक २८ गतेसम्म चल्ने छ । प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक २२ गते कुवेतसँग खेल्ने छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहेका छन् ।
नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले चार लाख ५८ हजार रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार रुपैयाँ, व्यक्तिगत विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार रुपैयाँ पाउनेछन् । विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले ३० हजार रुपैयाँ पाउँने छ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् । नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उनले बताए । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् । क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताए । प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ । रासस
विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग नेपाल पराजित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको २८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए । त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो । अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग-२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।