नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित
काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए । लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
साफ च्याम्पियनसिपको टिकट एन्फा आफैँले बिक्री गर्ने, रङ्गशालाभित्र यस्ता वस्तु लान निषेध
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उक्त खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेट बाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ । टिकट बिहान ८ देखि वितरण हुनेछ । एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआइपी प्याराफिटतर्फ रु एक हजार टिकट दर तोकिएको छ । त्यसैगरी एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता पनि रद्द भएको जानकारी दिएको छ । फाइन खेलमा एन्फाले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको छ । त्यसैगरी अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको छ ।
एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई
काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चारवटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै, मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे । व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै, प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दी पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे । विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले प्रतियोगिताकाे लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ । प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे । प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्म्याट थियो । एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख रुपैयाँ बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ । यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज् बाई फ्लाई दुवई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रुपमा रहेका थिए ।