विकासन्युज

नेपाली सडकका लागि उत्तम इलेक्ट्रिक एसयुभी हुन्डाईको क्रेटा

काठमाडौं । अहिले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति चासो र भरोसा दिनप्रतिदिन बढिरहेको छ । यतिबेला बजारमा उपलब्ध विभिन्न ईभीहरूमध्ये हुन्डाई क्रेटा इभी नेपाली ग्राहकहरूबीच सबैभन्दा विश्वसनीय र व्यावहारिक विकल्पका रूपमा उदाउँदै गएको छ।  यसको डिजाइनदेखि प्रदर्शन, सुरक्षा र सेवा सबै पक्षले नेपाली भौगोलिक अवस्था तथा प्रयोगशैलीलाई ध्यानमा राखेर तयार गरिएको देखिन्छ । ह्युन्डाई क्रेटा इभीले २०० मिमि ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले गर्दा नेपालका असमान, खाल्डाखुल्डी र पहाडी सडकमा सहजै ड्राइभ गर्न सकिन्छ । ४२।२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किमिसम्मको ड्राइभिङ रेन्ज दिन्छ, जुन काठमाडौं–पोखरा मात्र होइन, देशका अधिकांश सहर तथा ग्रामीण मार्गहरूका लागि पनि पर्याप्त छ । क्रेटा इभीमा समावेश गरिएको रेजेनरेटिभ ब्रेकिङ प्याडल शिफ्टर यसको सबैभन्दा प्रमुख विशेषतिमध्ये एक हो । यो सुविधा विशेषगरी नेपालजस्तो पहाडी देशका लागि निकै उत्तम हुन्छ । यसबाहेक यो प्रणालीले ब्याट्री चार्ज पुनः प्राप्त गर्ने कार्यसमेत गर्ने हुँदा लामो यात्रामा ऊर्जा–दक्षता अझै बढ्छ । ह्युन्डाई नेपालले देशभर विस्तारित सेवा केन्द्र, दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेनुइन पाट्र्सको सहज उपलब्धता र अत्याधुनिक मेन्टेनेन्स सुविधाहरूको मार्फत ग्राहकलाई अतिरिक्त भरोसा दिएको छ । इलेक्ट्रिक सवारीसँग सम्बन्धित सम्भावित प्राविधिक आवश्यकताहरूलाई हेर्दा यस्तो विश्वसनीय र छरितो सेवा सञ्जाल उपभोक्ताका लागि ठूलो लाभ मानिन्छ । ह्युन्डाई क्रेटा इभी नेपालमा उपलब्ध इलेक्ट्रिक गाडीहरूमध्ये सबैभन्दा सन्तुलित, सुरक्षित र प्रयोगमैत्री विकल्पका रूपमा स्थापित हुँदैछ ।

दिपल एस ०५ विर्तामोडमा सार्वजनिक

वीरगञ्ज । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ईभी एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ ।  बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले दिपल एस ०५ सार्वजनिक गरेका हुन् ।  नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै विक्री भइसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।  दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा आराम दिन्छ ।  साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।  १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । यसैबीच विर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ शनिबारबाट तीन दिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।  कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।  यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् ।  

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस १६.२७ रुपैयाँ

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो ।  यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६  करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ । 

एनएलजीको भुक्तानी ३७.९४ करोड रुपैयाँ, बीमा शुल्क आर्जन १७.५७ करोड

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १० करोड १० लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिले गर्दा कम्पनीको नाफामा नकारात्मक असर परेको जनाएको छ । गत आवको असोजमा कम्पनीले ४ करोड ८९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५१ लाख १९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ९४ लाख ३५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १० करोड ४९ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  चालु आवको असोजसम्ममा कम्पनीले ३९ करोड ४० लाख ८८ हजार रुपैयाँ कुल आम्दानी गरी ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि गत वर्ष कम्पनीले ३१ करोड १४ लाख ३६ हजार रुपैयाँ कुल आम्दानी गरी २३ करोड ८४ लाख ५५ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा २७ करोड १९ लाख १६ हजार रुपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड २७ लाख २५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ५७ लाख ३९ हजार रुपैयाँ सञ्चिति छ भने जगेडा कोष १५ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १५.७६ रुपैयाँ ऋणात्मक छ । 

बोटलर्स नेपालका २ कम्पनीको नाफामा उछाल, बालाजुको २८१.२० र तराईको २३४.७५ प्रतिशत बढ्यो

काठमाडौं । बोटलर्स नेपालका २ कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा उल्लेख्य नाफा बढाएका छन् । बोटलर्स नेपाल बालाजु र तराईको व्यापारमा बढोत्तरी भएसँगै नाफा पनि उल्लेख्य बढेको हो । बोटलर्स नेपाल बालाजुको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २८१.२० प्रतिशत बढेर ३२ करोड १६ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड ४३ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ११ लाख ८० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २४ लाख ६४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ६९ करोड ९९ लाख रुपैयाँ, सञ्चालन नाफा ४१ करोड १८ लाख ६४ हजार रुपैयाँ र कुल नाफा १ अर्ब १५ करोड ६८ लाख १२ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी, १७ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा र ७८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ ।  यस्तै, यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ बिक्री लागत, ५७ करोड ९९ लाख रुपैयाँ बिक्री वितरण खर्च र १७ करोड १९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०५ गुणा रहेको छ ।  बोटलर्स नेपाल तराइको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २३४.७५ प्रतिशत बढेर २७ करोड ३८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड १८ लाख ७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६१ करोड ४८ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ८७ लाख २८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ७८ लाख ८७ हजार रुपैयाँ, सञ्चालन नाफा ३७ करोड ६९ लाख १६ हजार रुपैयाँ र कुल नाफा ९२ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले १ करोड ९८ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी, १४ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा र ५४ करोड ८४ लाख २ हजार रुपैयाँ कुल नाफा गरेको छ ।  यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ बिक्री लागत, ४३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बिक्री वितरण खर्च र ११ करोड ८१ लाख ४४ हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६८ करोड ६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८ गुणा रहेको छ । 

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता, कडाइका साथ लागू गर्न निर्देशन

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ ।  परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुंगा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउन सक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे ।  स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई कडाइका साथ लागू गर्न आह्वान उनले आग्रह गरे ।  परिमार्जित कोडमा ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ । माटोको वर्गीकरणमा सुधार गर्दै काठमाडौं उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ । नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दवाव र माटोको दवाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ । संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने वनाइएको छ । अग्ला भवनहरूको स्थायित्वको लागि सफ्ट स्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ । यसबाट भवन निर्माणमा हुने खर्च कटौती हुनेछ ।  पेशागत डिजाइनर,स्ट्रक्चरल इन्जिनियरर्स एसोसिएसन (सिनेप), पेशागत समाज, विश्वविद्यालयका  प्राज्ञहरुलगायतका सरोकारवालासँग छलफल तथा अन्तक्रिया गरी प्राप्त सुझावलाई समेटेर नयाँ कोड तयार गरिएको हो ।  भवन संहितालाई समय सापेक्ष प्रयोगकर्तालाई सहज र सरल हुने गरी प्रयोग गर्न सक्ने बनाउन विभिन्न देशले प्रयोगमा ल्याएका कोडको व्यवस्थालाई समेत अध्ययन गरी आन्तरिक तथा बाह्य विशेषज्ञहरू समक्ष छलफल गराई प्राविधिक रुपमा परिमार्जन गरिएको छ ।  पुरानो कोडमा केही अन्तर्राष्ट्रिय मापदण्डहरू अपुग भएका कारण डिजाइनमा प्राविधिक कठिनाइ देखिएको थियो । परिमार्जित कोडले भवन भूकम्पमा कम क्षति हुने, मानव जीवनको सुरक्षा बढ्ने, डिजाइन र निर्माणमा एकरूपता र पारदर्शिता कायम हुने, स्थानीय तहका भवन स्वीकृति प्रक्रियामा वैज्ञानिक मूल्याङ्कन गर्न सजिलो हुने, दीर्घकालीन लागत घट्ने, मर्मत सम्भार सरल हुने, इन्जिनियर र डिजाइनरका लागि स्पष्ट दिशानिर्देश गर्ने छ ।

३ महिनामा नेपाल लाइफको नाफा २१ करोड ५५ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ४.९४ प्रतिशत बढेर २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चाल आवको पहिलो त्रैमासमा कम्पनीको खुद आर्जित बीमा शुल्क १३.१८ प्रतिशत बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  असोज मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १५ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.१५ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ र कुल खर्च ४.३० प्रतिशत बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ गरेको छ ।  असोजसम्म कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ, महाविपत्ति कोष १.४७ प्रतिशत बढेर १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १२.३५ प्रतिशत बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटी ६.३२ प्रतिशत घटेर ७० करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा घटेर ९.५५ रुपैयाँमा सीमित भएको छ । असोजसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७७.९९ गुणा रहेको छ । 

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिनेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।