सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन् । त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो सङ्गठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरुले उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए ।
फरमुल्लाहलाई दोहोर्याएर बोल्न दिँदा कांग्रेस बैठकमा होहल्ला
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिँदा होहल्ला भएको छ । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार बिहीबारको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले धारणा राखिसकेपछि मन्सुरलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोल्न अनुमति दिएका थिए । तर मन्सुर बोल्न लाग्दा बैठकमा सदस्यहरूले विरोध स्वरूप होहल्ला गरेका थिए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार मन्सुरले यसअघि नै १९ कात्तिकमा बसेको बैठकमा धारणा प्रस्तुत गरिसकेका थिए । त्यसकारण केही नेताहरूले उनलाई पुनः बोल्न दिने निर्णयको विरोध गरेका हुन् । यसअघि सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित मन्सुर पछिल्लो समय महामन्त्री गगन थापाप्रति धेरै लचिलो बन्दै आएका छन् । प्यानल परिवर्तन गरेकोले फेरि महामन्त्री थापालाई नै समर्थन गर्न लागेको आशंकामा संस्थापन पक्षका नेताहरू नै मन्सुर विरुद्ध होहल्लामा उत्रिएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
३५ उद्योगबाट प्राधिकरणले उठायो करिब २४ करोड बक्यौता
काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीहरुबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिए। मन्त्री घिसिङले उद्योगीहरुबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने, ‘उद्योगहरुलाई विद्युत नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ, उद्योगीहरुका जायज मागलाई सम्बोधन गर्न सँधै तयार नै छौं ।’ प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।
स्वास्थ्यकर्मीमाथि परेको मनोवैज्ञानिक असर र श्रम शोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघको युवा समितिले स्वास्थ्यकर्मीमाथि परेको मनोवैज्ञानिक असर र श्रम शोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको हक हितका लागि क्रियासित संघले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मालाई भेटी ध्यानाकर्षण गराएको हो । स्वास्थ्य क्षेत्रका वर्तमान समस्या तत्काल सम्बोधन नभए अवस्था भयावह हुनसक्ने भन्दै युवा समितिले तत्काल गर्नुपर्ने मागहरू लिखितरूपमा मन्त्रीलाई बुझाएको छ । जहाँ तत्काल जेनजी आन्दोलनको मनोवैज्ञानिक असर तथा श्रम शोषणको अन्त्य गर्नुपर्ने, हाल चलिरहेको नर्सिङ आन्दोलनको सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ । यस्तै समितिले निजी स्वास्थ्य संस्थामा राजनैतिक लगानी र यसको असरबारे ध्यान दिनुपर्ने र करार प्रशासन र दैनिक ज्यालादारी कर्मचारीको माग सम्बोधन गरिनुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो । संघले यो निर्णय तत्काल पुरा नभए आन्दोलन गर्न बाध्य हुने पनि जनाएको छ । समितिले मन्त्रीलाई ७ बुँदे माग सुझाव पनि सँगै बुझाएको छ । संघले आफूहरू राखेका माग मंसिर २७ गतेभित्र पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । यसको सबै जिम्मेवारी मन्त्रालयले लिनुपर्ने समितिले जनाएको छ ।
गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ । देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको हो । १८ वर्षसम्मका बालबालिकालाई लक्षित यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ । साथै, खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ, जसको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ । बैंकका अनुसार ‘अल्फा ग्रो’ खाता बालबालिकामा बचतको बानी विकास गर्ने र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । यस योजनाले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुर्याउने बैंकको विश्वास छ । साथै वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा तथा पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा पाँचौं संस्करणको 'अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप' पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक विजयी भएको भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको बैंकले जनाएको छ । बैंकका अमरसिंह शाखा र पोखरा न्युरोड शाखाले क्रमशः अमरसिंह उच्च मावि र पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन् ।
राष्ट्रिय परिचयपत्र बनेको छ ? अब मतदाता नामावली घरै बसीबसी बन्ने
काठमाडौं । निर्वाचन आयोगले अबदेखि राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गर्न निर्वाचन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । आयोगले (बिहीबार)देखि लागू हुने नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूले अनलाइनमार्फत मात्र फारम भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको हो । यस प्रणालीले नागरिकका लागि सेवा सहज र समय बचत हुने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाअनुसार अनलाइन फारम भरेपछि नागरिकको राष्ट्रिय परिचयपत्रमा रहेका विवरणहरू नाम, जन्ममिति, ठेगाना र नागरिकता सम्बन्धी जानकारी स्वतः मतदाता नामावलीमा समायोजन हुनेछन् । यसकारण अब मतदाता नामावली दर्ताका लागि छुट्टै कागजात बुझाउन वा कार्यालय पुगेर फारम भर्न आवश्यक हुनेछैन । निर्वाचन आयोगका अनुसार यो प्रविधिमैत्री पहलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई दुरुस्त, पारदर्शी र विश्वसनीय बनाउने आयोगले बताएको छ । आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेका अनुसार यसले ग्रामीण भेगका नागरिकलाई समेत अनलाइनबाटै सेवामा पहुँच दिने र कार्यालयमा हुने भीड घटाउने छ । आयोगले राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिले भने पहिलेको जस्तै तरिकाबाट नै दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ । अनलाइन प्रणाली सञ्चालनसँगै आयोगले मतदाता नामावलीमा हुने त्रुटि र दोहोरो दर्ता घट्ने विश्वास व्यक्त गरेको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त
काठमाडौं । सोमानी सेरामिक्सले नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्रान्ड फेसको रूपमा पारस खड्का सोमानी सेरामिक्सका टायल्स, बाथवेयर, एडहेसिभ र वाटरप्रूफिङ लगायतका सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुने कम्पनीले जनाएकाे छ । सहकार्यको प्रसङ्गमा सोमानी सेरामिक्सका सह-अध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'पारस खड्काको लगनशीलता र उत्कृष्टताको यात्रा हाम्रो नवीनता र नेतृत्वका सिद्धान्तसँग मेल खान्छ । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो र पारसको विश्वसनीयता तथा जनसम्पर्कले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ सुदृढ बनाउनेछ ।' त्यसैगरी, सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई 'नेपालमा घर-घरमा चिनिएको नाम' भन्दै प्रशंसा गरे । उनले भने, 'पारस केवल खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, आफ्नो इमानदारी र सकारात्मक प्रभावका कारण पनि सबै पुस्तामा लोकप्रिय छन् । युवादेखि परिवारसम्म सबैमा उनी मनपर्ने व्यक्तित्व हुन्, जसले सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछन् ।' पारस खड्काले पनि सोमानीसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, 'मैले जस्तै उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्रान्डसँग काम गर्न पाउनु गर्वको कुरा हो । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको प्रतीक हो, र मैले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको छु।' कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ ।