विकासन्युज

एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्‍याउने काम गर्छ ।

प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समिति गठन

काठमाडौं । नेकपा माओवादीबाट विभाजित जनार्दन शर्मा समूहले प्रगतिशील राष्ट्रिय अभियानले आफ्नो केन्द्रीय संयोजन समिति घोषणा गरेको छ । समितिमा विभिन्न पेशा, क्षेत्र र समुदायका ३१ जना व्यक्तिहरू समावेश गरिएको अभियानले जनाएको छ । लक्ष्मण पन्तले जानकारी गराएअनुसार घोषित समितिको सूचीमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बु, सफलता राई, पुजन सिंह, अर्चनन्द यादव, लक्ष्मण गुरुङ, प्रकाशचन्द्र पाण्डे, राजु ओझा मगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञवल्लभ शर्मा लगायतलाई समेटिएको छ ।  यस्तै, किरातीको टिममा क्षितिज सापकोटा, बाबुराम नेपाली, किसन कुमार विक, सलीम पुन, गेहेन्द्र ढकाल, नारायणी शर्मा, झिमबहादुर मल्ल, गौखबहादुर केसी रहेका छन् ।  प्रगतिशील अभियानमा जितल कुमारी, वैरागी देवकोटा, जन्मदेव जैसी, टेकनार भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डाक्टर अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् । अभियानले मुलुकमा प्रगतिशील विचार, समावेशी विकास र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउने लक्ष्य लिएको जनाएको छ । नवगठित समितिले संगठन विस्तार, कार्यक्रम व्यवस्थापन तथा आगामी राष्ट्रिय अभियानका योजना तयार गर्ने जिम्मेवारी पाएको छ ।  नेकपा माओवादीबाट पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, विदेश विभाग प्रमुख ओम शर्मा र अर्का नेता लक्ष्मण पन्तले एकता प्रक्रियामा नगई विद्रोह गरेका थिए । यस समितिमा ती नेताहको नाम देखिएको छैन । समितिका सदस्यहरू देशका विभिन्न भूगोल र सामाजिक पृष्ठभूमिबाट आएका छन् । अभियानका अनुसार यो संयोजनले नयाँ नेतृत्व र साझा प्रगतिशील धारलाई सशक्त रूपमा अभिव्यक्त गर्ने अपेक्षा गरिएको छ ।

भयरहित वातावरण सृजना गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर भयरहित वातावरण सृजना गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनपछिका घटनामा लुटिएका हतियार र भागेका कैदीका कारण देशमा भय उत्पन्न भएको निष्कर्ष निकाल्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले समितिलाई आगामी निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । समितिले फागुन २१ गतेकालागि तोकिएको निर्वाचनलाई लक्षित गरी देशभर सुरक्षाको व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन प्रहरीको मनोबल उच्च राख्दै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्न र हतियार लुट्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । समितिले निर्वाचन सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउन र सार्वजनिक विश्वास कायम राख्न सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।  

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९५ अंकले घटेर २५४३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२९ कम्पनीको ७४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टीलरीको १३ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १२ करोड ७० लाख, युनियन हाइड्रोको १२ करोड ४२ लाख  र साहस ऊर्जाको १२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी र बुंगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसैगरी बन्दिपुर केबलकार र  रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । बिहीबारको कारोबारमा समूहगत सूचकमा बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशतले बढेका छन् । अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशतले घटेका छन् ।   

कांग्रेस सभापति देउवा भोलि स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार सकेर भोलि (शुक्रबार) नेपाल फर्किने भएका छन् ।  उनी कार्त्तिक ११ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । देउवाको अनुपस्थितिले पछिल्ला दिनमा पार्टीको केन्द्रीय समिति बैठकमा निर्णय प्रक्रियामै ढिलाइ भएको देखिएको छ ।  उनी स्वदेश फर्किएलगत्तै पार्टीको १५ औ महाधिवेशन लगायतका बाँकी कार्यसूचीका विषयमा निर्णय लिइने कांग्रेस स्रोतले जनाएको छ । सभापति देउवा १७ दिनको विदेश बसाइपछि स्वदेश फर्किन लागेका हुन् । सिंगापुरको क्विन एलिजाबेथ अस्पतालमा देउवा र उनकी पत्नी आरजु देउवाको स्वास्थ्य उपचार गरिएको देउवा निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित हुने, महाधिवेशनको किचलोले असन्तुष्टि बढ्दै

‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका रुपमा उनले अथ्र्याएका छन्  । भारतले दीर्घकालिन रुपमा आफूलाई चाहिने बिजुली व्यवस्थापन गर्न लागेको बताउँदै उनले नेपालले पनि बिजुली उत्पादनमा अब अलमल गर्न नहुने बताए । कार्कीकाअनुसार भारतलाई नेपालको बिजुली चाहिन्छ भन्ने बुझाइ बनेको छ । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ र त्यो नेपालबाट नै ल्याउनुपर्छ भन्ने अवस्था भारतले देखेको छ । नत्र भने उसले यति ठूलो लगानी गरेर ट्रान्समिशन लाइन बनाउनुपर्ने कुनै कारण नरहेको कार्कीको बुझाइ छ । कार्कीकाअनुसार भारत बिजुली खरिदका लागि पूर्वतयारी गरिरहेको छ । तर नेपालले विद्युत उत्पादन बढाउन सकेको छैन् । अब भारत बिजुली खरिदमा तयार हुँदै गर्दा नेपाल बिजुली उत्पादनका हिसावले तयार भएर सोही अनुसारको वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।  राजधानीमा आयोजित एक कार्यक्रममा इप्पान अध्यक्ष कार्की भने–‘नेपाल सरकारले भारत सरकारसँग ट्रासमिसन लाइन बनाउने कुरा आयो । मलाइ के लाग्छ भने भारत सरकारलाई कहिन कहिँ नेपालको बिजुली चाहिन्छ है भनेर किन्न तयार हुन खोजेको देखियो । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ, र त्यो नेपालबाट नै आयात गर्नुपर्छ भन्ने भारतलाई परेको छ । तर त्यो सँगसँगै हामी नेपाली बिजुली उत्पादनका लागि तयार छौं छैनौँ, त्यसले अर्थराख्छ । त्यो तयार हुनुका लागि हामीले पनि त्यही अनुसारको तयारी गरेर बिजुली उत्पादन सुरु गर्नुपर्ने हो ।’ कार्कीले एमसीसी परियोजनाको प्रशारण लाइन र अन्य ट्रान्समिशन लाइनहरू निर्माणको चरणमा छन् । यी सञ्जालहरू बनेपछि अझ बढी बिजुलीको माग बढ्नेछ । कार्कीका अनुसार अब सरकारले जलविद्युत्को क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ होइन भने उर्जा उत्पादकलाई सरकारले भारत र बंगलादेशलाई बिजुली चाहियो भने उनीहरूले आफैं लगानी गरेर बनाएर लैजाने बताइदिनुपर्छ ।  कार्कीकाअनुसार नेपालले प्रसारणमा प्रगति गरेपनि विद्युत् उत्पादन नबढाए भविष्यमा ठूलो अवसर गुमाउने जोखिम छ । हाल नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत भारतमा निर्यात अनुमति पाएको छ ।  नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई भारतीय पक्षले नविकरण गरिदिएको छ । विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विक्री गरिरहेको छ ।  भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ । अघिल्लो साता भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको थियो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात करिव एक वर्षका लागि नवीकरण स्वीकृति भएसँगै  आगामी दिनमा समेत भारतमा बिजुली विक्री गर्न सहज भएको छ । त्यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिव १८० विद्युत विक्री भइरहेको छ ।   

विद्युत महसुल विवाद : सबै उद्योगले पहिलो किस्ता तिरेसँगै जोडियो लाइन, कसले कति तिरे बक्यौता ?

काठमाडौं । करिब सात वर्षदेखि अल्झिएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल बक्यौता विवाद अन्ततः सेलाएको छ । २२ वटा उद्योगले नेपाल विद्युत प्राधिकरणले तोकेको जम्मा बक्यौता रकमको २८ किस्तामध्ये पहिलो किस्ता तिरेसँगै बक्यौता विवाद सेलाएको हो । प्राधिकरणका अनुसार २२ उद्योगले पहिलो किस्तावापत १८ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई बुझाएसँगै लाइन काटिएका सबै उद्योगमा बिजुलीको लाइन जोडिएको  छ।  प्राधिकरणले तोकेको समयसीमाभित्र पहिलो किस्ता भुक्तानी गरेपछि ती उद्योगमा विद्युत् सेवा पुनः सञ्चालन भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार कुल २५ वटा उद्योगहरूलाई बक्यौता भुक्तानीका लागि ताकेता गरिएकोमा २२ वटा उद्योगले बुधबार (हिजो (बेलुका) सम्म) पहिलो किस्ताबापतको रकम तिरेका हुन् । बाँकी तीनवटा उद्योगहरू भने बन्द अवस्थामा रहेका खबर प्राधिकरणमा आएको ढकालले बताए ।  बन्द उद्योगहरूमा एभरेस्ट पेपर मिल, बुटवल सिमेन्ट र निगाले सिमेन्ट रहेका छन् ।  एभरेस्ट पेपर मिल र बुटवल सिमेन्टको लाइन बक्यौताकै कारण पहिले नै काटिएको प्राधिकरणले जनाएको छ । निगाले सिमेन्टको हकमा भने ट्रान्सफर्मर बिग्रिएको र लामो समयदेखि मर्मत नगरी चल्न नसकेकोले विद्युत् आपूर्ति बन्द भएको हो । यी तीन उद्योग अब स्थायी रूपमा बन्द हुने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।  यसैगरी बक्यौता तिरेका यी २२ वटा उद्योगले अब बाँकी रकम किस्ताबन्दीमा तिर्नुपर्ने प्रवक्ता ढकालले जानकारी दिए । प्राधिकरणले उनीहरूका लागि नयाँ भुक्तानी योजना ल्याएको छ । जसअनुसार बाँकी २८ किस्ता आगामी २८ महिनाभित्र मासिक रूपमा भुक्तानी गर्नुपर्नेछ । यसले उद्योगहरूलाई एकैपटक ठूलो रकम तिर्नुपर्ने भारबाट केही राहत मिलेको छ । प्राधिकरणका अनुसार यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । जसमा हालसम्म जम्मा ३५ उद्योगले २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ तिरेका छन् ।  ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो । प्रवक्ता राजन ढकालले भने,‘यो विवाद तत्कालका लागि समाधान भएपनि यसको अन्तिम निरूपण भने भएको छैन । उद्योगीहरूले लाइन जोडिएपछि अब विद्युत् नियमन आयोग वा अन्य अदालतमा जान सक्ने बाटो खुला भएको छ । यदि कुनै उद्योगको कुरा मिलेको छैन । चित्त बुझेको छैन भने न्याय खोज्न जान सक्नुहुन्छ ।’ केही उद्योगहरुले प्राधिकरणमा पहिलो किस्ता बुझाएर विद्युत् नियमन आयोगमा पुगेको र प्राधिकरणले यसलाई सकारात्मक रूपमा लिएको समेत जनाएको छ ।  प्राधिकरणले गत कात्तिक ४ र ७ गते बक्यौता नतिर्ने २२ उद्योगको बिजुली काटेपछि उद्योग क्षेत्र तरंगित भएको थियो । त्यतिबेला उद्योगीहरू बक्यौता रकम प्राधिकरणको लाइन काटेसँगै उद्योगमा ठूलो प्रभाव देखियो । बिजुली आपूर्ति बन्द भएको केही दिनमै दुई उद्योगले किस्ता बुझाए । जेनजी आन्दोलनपछि बनेको सरकारमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशन कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेपछि बक्यौता रकम उठाउने निर्णय गरेका थिए  । सरकार र उद्योगीबीच आरोप प्रत्यारोपपश्चात नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विद्युत महसुल विवाद समाधानका लागि सक्रिय भूमिका खेले । उनले लामो समयदेखिको विवाद समाधान गर्नुपर्ने अडानसहित सबै पक्षसँग छलफल गरेर समाधानको बाटो खोलिदिएका थिए ।  जसमा प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री घिसिङलगायत सरकारका मन्त्रीहरू तथा महासंघका अध्यक्ष ढकालबीच कात्तिक १७ गते भएको सहमति बमोजिम  डेडिकेटेड एवं  ट्रंक लाइन’ विवादमा रहेका उद्योगीले धरौटीबापत रकम बुझाएका हुन् । कात्तिक १७ गते सरकार र महासंघबीच डेडिकेटेड तथा ट्रंक लाइन विवादमा मध्यमार्गी समाधान प्रस्ताव गरिएको थियो । प्राधिकरणले दाबी गरेअनुसार विवादित बक्यौताको २८ किस्ताको एक किस्ता बराबर रकमलाई धरौटीका रूपमा बुझाएपछि काटिएको बिजुलीको लाइन तत्कालै जोडिने, त्यसपछि उद्योगीहरू प्रशासनिक पुनरावलोकनमा समेत जान पाउने र अन्य कानुनी उपचार पनि खोज्न सक्ने गरी सहमति भएको थियो । कुन उद्योगले कति बुझाए रकम ?