विकासन्युज

रवि र छविको मुद्दा वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल (छविराज) जोशीको मुद्दा बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको हो । बिहीबारका लागि तोकिएको पेशी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको उच्च अदालतले जनाएको छ । यसअघि कात्तिक २० गते सोही अदालतले मुद्दासम्बन्धी प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो । गत हप्ता पनि उक्त मुद्दाको सुनुवाइ न्यायाधीश आचार्य र अर्यालको इजलासमै भएको थियो ।  

कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित हुने, महाधिवेशनको किचलोले असन्तुष्टि बढ्दै

काठमाडौं । गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि केही दिनका लागि स्थगन हुने भएको छ । बिहीवार (आज)को बैठकमा दुई सहमहामन्त्री, दुई महामन्त्री र एक उपसभापतिले मात्र धारणा राखेपछि कम्तीमा दुई दिनका लागि बैठक स्थगित गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको मिति निर्धारण गर्ने उद्देश्यले असोज २८ बाट बैठक सुरु गरेको थियो । तर, करिब एक महिना बितिसक्दा पनि नेतृत्वले ठोस निर्णय लिन नसक्दा बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी नेतृत्वबीच महाधिवेशनको मिति र स्वरूपका विषयमा फरक मत रहँदा बैठक लामो समयदेखि निष्कर्षमा पुग्न सकेको छैन । केही नेताहरूले मंसिरको अन्त्यतिर वा पुषको सुरुवातमै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने अर्को पक्षले संगठन विस्तार, क्रियाशील सदस्यता अद्यावधिक र आन्तरिक एकता सुदृढीकरणका कारण समय थपिनुपर्ने बताउँदै आएको छ । यसबीचमा सभापति शेरबहादुर देउवाको अनुपस्थितिले पनि बैठकको निर्णय प्रक्रियामा ढिलाइ भएको देखिन्छ । देउवा कात्र्तिक ११ गते उपचारका लागि सिङ्गापुर गएका थिए । प्रस्थानअघि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । खड्काले असोज २८ गतेदेखि कार्यवाहकको भूमिकामा बैठक सञ्चालन गरिरहेका छन् । कार्यवाहक सभापति खड्काको संयोजनमा बैठक सञ्चालन भइरहे पनि महत्वपूर्ण निर्णयहरू देउवा फर्किएपछि मात्र टुंगो लाग्ने कांग्रेस उच्च स्रोतले जनाएको छ । ‘सभापति फर्किएपछि मात्र महाधिवेशनको मिति, नीति–कार्यक्रम र संगठनात्मक निर्णयहरू गरिने तयारी छ,’ स्रोतले भन्यो । देउवा सिङ्गापुरमा उपचार सकेर कार्त्तिक २८ गते भोलि शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको बुझिएको छ । उनी फर्किएलगत्तै बैठक पुनः सुरु गरी बाँकी कार्यसूचीका विषयमा निर्णय गरिने बताइएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सबै केन्द्रीय सदस्यलाई १० मिनेटको बोल्ने समय दिइएको छ । ‘सबै सदस्यले आफ्नो धारणा राखेपछि मात्र पार्टी निर्णयमा पुग्ने परिपाटी भएकाले बैठक लामो देखिएको हो,’ पौडेलले भने । हालसम्म अधिकांश केन्द्रीय सदस्यले आफ्नो विचार राखिसकेका छन् । बिहीवारको बैठकमा दुई सहमहामन्त्री, दुई महामन्त्री र एक उपसभापतिले बोलेपछि छलफल समाप्त हुने र बाँकी नेताहरूको धारणा र निर्णय लेखनका लागि बैठकलाई दुई दिनका लागि स्थगित गर्न लागिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको उच्च स्रोतका अनुसार सभापति देउवा फर्किएपछि मात्रै बैठकले महाधिवेशनको मिति र अन्य रणनीतिक निर्णयहरू टुंग्याउँनेछ । देउवा फर्किएलगत्तै बैठकमार्फत बाँकी विषयहरूमा छलफल गरी अन्तिम मिति प्रस्ताव गर्ने तयारी भइरहेको बताइएको छ । तर, केही नेताहरूले बैठक बारम्बार स्थगित हुनु र निर्णय टारिनु नेतृत्वको निर्णय क्षमताको कमजोरीको संकेत भएको बताएका छन् । उनीहरूका अनुसार कांग्रेसले आफ्नो आन्तरिक प्रक्रिया छिटो टुंग्याउन सकेन भने संगठनगत गतिहिनता अझ गहिरिने जोखिम छ। कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठक स्थगित हुनु र देउवा फर्किनुबीच प्रत्यक्ष सम्बन्ध छैन । ‘देउवा फर्किने र बैठक स्थगन हुने संयोग मात्रै हो,’ उनले भने, ‘विगतदेखि नै बैठकमा सबै सदस्यको धारणा सुनेपछि निर्णय लेख्न केही दिनको अन्तराल राख्ने परम्परा रहँदै आएको छ ।’ महरका भनाइमा पार्टीले निर्णय लेखन, प्रस्ताव संशोधन र सहमति जुटाउने प्रक्रियामा पनि समय लाग्ने भएकाले बैठक स्थगित हुने सामान्य अभ्यास हो । स्रोतका अनुसार सभापति देउवाले आफ्नो उपचारबाट फर्किएलगत्तै शीर्ष नेताहरूसँग सघन परामर्श गरी बैठकलाई अन्तिम चरणमा लैजाने तयारी गरेका छन् । नेपाली कांग्रेसको बैठकले अहिलेसम्म ठोस निर्णय लिन नसके पनि पार्टी नेतृत्वले आगामी दुई–तीन दिनभित्र महाधिवेशनको मिति निर्धारण र अन्य विषयहरूमा सहमति जुटाउने संकेत गरेको छ । पार्टीभित्रको सहमति, सभापति देउवाको स्वास्थ्य र फर्किएपछिको पहलले अब बैठक कुन दिशातर्फ जान्छ भन्ने कुराले कांग्रेसको आगामी राजनीतिक मार्गचित्र निर्धारण गर्ने देखिएको छ ।

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ ।      दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो ।      नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने वहानामा ठगी धन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ । यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट गर्दै पोर्चुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ ।  

वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण एकै पटक, समय र खर्च दुवै बचत

काठमाडौं । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।      अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा  श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्।      उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् । 'पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ', उनले भनिन्, 'कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।'      उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताइन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।       विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ ।      'सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ', उनले भनिन्, 'तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।'      उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ । रासस

अल्टिच्यूड एयरले एक वर्षमा गर्याे ५६ करोड रुपैयाँको व्यापार

काठमाडौं । अल्टिच्यूड एयर प्रालिले एक वर्षमा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । हेलिकप्टर सेवा प्रदान गर्दै आएको कम्पनीले सन् २०२५ मा ५६ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले यसअघि सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । सन् २०१५ अगस्टमा स्थापित अल्टिट्यूड एयरले अक्टोबर २०१६ बाट व्यावसायिक रुपमा उडान सुरु गरेको थियो ।  कम्पनीका अनुसार सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।  एयरबस हेलिकप्टमार्फत कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, मेडेभ्याक उडान, तीर्थयात्रा उडान, फिल्मांकन उडान, चेसिङ उडान जस्ता विभिन्न हेलिकप्टर सेवा दिइरहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड ७ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ६३ करोड १ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । कम्पनीले यसअघि ५१ करोड ५१ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको थियो ।  तर, कम्पनीले दीर्घकालिन ऋण भने घटाएको छ । यसअघि ३३ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको कम्पनीले घटाएर २२ करोड ५ लाख रुपैयाँमा झारेको छ ।  केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन ऋणका लागि डबल बि प्लस र दीर्घकालीन ऋणका लागि एफोर प्लस रेटिङ प्रदान गरेको छ ।  गत कात्तिक १२ गते कम्पनीको हेलिकप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको थियो । हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको कम्पनीले जनाएको थियो ।  कम्पनीको कार्यकारी अध्यक्ष निमा नुरु शेर्पा रहेकी छिन् । शेर्पासँग पर्यटन/साहसिक पर्यटन व्यवसायमा तीन दशक भन्दा बढीको अनुभव छ । उनले नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ ।

सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित

काठमाडौं । अमेरिकी सरकारको शटडाउन समाप्त हुने अपेक्षाका बीच बुधबार सुनको मूल्य २ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २०० डलर नाघेको छ । डलरको मूल्यमा आएको गिरावटले सुनको चमक थप बढाएको हो । अमेरिकामा ४३ दिनसम्म चलेको इतिहासकै लामो शटडाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फन्डिङ बिलमा हस्ताक्षर गरेपछि समाप्त भएको हो । यससँगै रोकिएका आर्थिक तथ्यांकहरू सार्वजनिक हुने अपेक्षा बढेको छ, जसले डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावनालाई पनि बल दिएको छ । टीडी सेक्युरिटीजका कमोडिटी रणनीतिक प्रमुख बार्ट मेलकका अनुसार, ‘सरकारी शटडाउन अन्त्यपछि व्यापारीहरूले लामो पोजिसन बढाउने र छोटा पोजिसन बन्द गर्ने सम्भावना छ ।’ ४२ दिन लामो शटडाउनले प्रमुख सरकारी तथ्यांक प्रकाशनमा रोक लगाएको थियो, जसका कारण नीतिनिर्माताहरू र बजारहरू निजी क्षेत्रका डाटामाथि निर्भर हुन बाध्य भएका थिए । सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्य पनि बढेको छ । चाँदी ४।६ प्रतिशत बढेर प्रतिऔंस ५३.५८ डलर पुगेको छ । प्लाटिनम २ प्रतिशतले उकालो भरेर प्रतिऔंस १ हजार ६१६.८० डलर र प्यालाडियम २.५ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ४८०.५८ डलरमा कारोबार भएको छ । नेपाली बजारमा बिहीबार एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

तोलामा साढे २ लाख नाघ्यो सुनको मूल्य

काठमाडौं । एक तोला सुनको मूल्य बिहीबार पाँच हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० रुपैयाँले बढेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो । बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । वार्षिक साधारण सभाको मिति र बुक क्लोज हुने मिति भने हालसम्म तोकिएको छैन ।