विकासन्युज

तनहुँ हुलाक कार्यालयको सक्रियता कायमै, तीन महिनामै हजारौं चिठी र लाखौं राजस्व

दमौली । जिल्ला हुलाक कार्यालय, तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा चार हजार ५९८ चिठीपत्र वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोज मसान्तसम्म उक्त चिठीपत्र वितरण गरेको हो ।  साउनमा एक हजार ८६८, भदौमा एक हजार ६९७ र असोजमा एक हजार ३३ चिठीपत्र वितरण गरिएको निमित्त हुलाक अधिकृत सुशील अर्यालले जानकारी दिए ।  साउनमा २० साधारण चिठीपत्र, ६३७ रजिष्ट्री चिठीपत्र, २३ पुलिन्दा, अन्य हुलाकमा स्वदेशी ४५ र विदेशी ५२, अन्य हुलाकमा रजिष्ट्री स्वदेशी ८६५ र विदेशी ३८, साना प्याकेज ११, समाचार पत्रिका १२२, बुकपोष्ट १०, इएमएस ३७ र पार्सल आठ वितरण गरिएको उनले बताए । यस्तै, भदौमा २३ साधारण चिठीपत्र, ५५१ रजिष्ट्री चिठीपत्र, एक पुलिन्दा, अन्य हुलाकमा स्वदेशी ४१ र विदेशी ५३, अन्य हुलाकमा रजिष्ट्री स्वदेशी ७६१ तथा विदेशी १३, रजिष्ट्री पुलिन्दा सात, साना प्याकेज एक, समाचार पत्रिका ८१, बुकपोष्ट १२८, इएमएस ३३ र पार्सल चार वितरण गरिएको छ ।  असोजमा ३३ साधारण चिठीपत्र, ३२९ रजिष्ट्री चिठीपत्र, चार पुलिन्दा, अन्य हुलाकमा स्वदेशी १७ र विदेशी ४७, अन्य हुलाकमा रजिष्ट्री स्वदेशी ४६९ र विदेशी १३, साना प्याकेज दुई, समाचार पत्रिका ६५, बुकपोष्ट १८, इएमएस २५ र पार्सल ११ वटा वितरण गरिएको छ । अर्यालका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ५ लाख ३२ हजार ७२५ राजस्व सङ्कलन भएको छ । हुलाक सेवा शुल्कतर्फ ४ लाख ९८ हजार ६१५, अन्य राजस्वतर्फ ४ हजार ७५०, भन्सार महसुल आयाततर्फ २७ हजार ४४० सङ्कलन भएको छ ।  नेपाल सरकारको एक स्थानीय तहः एक हुलाक कार्यालयको अवधारणाबमोजिम जिल्लाका १० स्थानीय तहभित्र नौ वटा स्थानीय हुलाक कार्यालयको स्थापना र पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।  हुलाक कार्यालयले रजिष्ट्री, दु्रत, साधारण चिठीपत्र, पार्सल, दर्ता, चलान र डेलिभरी, राहदानी ढुवानी, पत्रपत्रिका दर्ता तथा नवीकरण, जिल्लामा सञ्चालित स्थानीय केबल प्रदायको इजाजत नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने, ५०० वाटसम्मका एफएम रेडियोको इजाजत नवीकरण गर्ने, सेवाग्राहीको आवश्यकतामा आधारित भएर पोष्टबक्स सेवा उपलब्ध गराउने, राष्ट्रिय सूचना आयोगको प्रत्यायोजित अधिकारअन्तर्गत रहेर सूचनाको हकको कार्यान्वयनको अवस्थामा सम्बन्धमा कार्य गर्ने, सेवाग्राहीको मागबमोजिम टिकट बिक्रीवितरण गर्ने कार्य गर्दै आइरहेको छ ।   

सेयर बजारमा ४ अर्ब ९० करोडको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २३ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २१ करोड ८९ करोड, राधी विद्युत कम्पनीको २१ करोड ६९ लाख र शिवम् सिमेन्टको २१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रोको ९.९९ प्रतिशत, माबुलिङ इनर्जी र सागर डिस्टीलरीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेका छन् ।

सिटिजन्स बैंकले ल्यायो क्यूआर मर्चेन्ट लोन, ५ लाखसम्म ऋण लिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरूलाई आधुनिक र सहज बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यका साथ नयाँ डिजिटल ऋण योजना 'सिटिजन्स क्यूआर मर्चेन्ट लोन' सार्वजनिक गरेको छ । बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि ल्याइिएको यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ । यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा प्रदान गरिनेछ । सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्टको रूपमा कारोबार गरेको हुनुपर्नेछ । योग्य ग्राहकहरूले आफ्नो ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ, जसको भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ । सिटिजन्स बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ । बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले 'क्यूआर मर्चेन्ट लोन' योजना बैंकको डिजिटल वित्तीय सेवामा एउटा कोसेढुङ्गा सावित भएको बताउँदै यसले ग्राहक र बैंकबीचको सम्बन्ध अझ सहज र गतिशील बनाउने विश्वास व्यक्त गरे ।

महालक्ष्मी बैंकका ग्राहकलाई सिदार्थ हस्पिटालिटीसहित विभिन्न सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका सेवामा छुटको सुविधा प्रदान गर्न सिदार्थ हस्पिटालिटीसहित विभिन्न संस्थासँग सम्झौता गरेको छ । बैंकले ग्राहकमैत्री योजना विस्तार गर्दै साझेदारीका माध्यमबाट ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यका साथ यो सहकार्य अघि बढाएको हो । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू सम्बन्धित संस्थाबाट सेवा लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार तिनकुनेलगायतका सबै आउटलेटमा रहेको सिदार्थ हस्पिटालिटीमा आवास सेवामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । त्यस्तै, तनहुँको बन्दीपुर माउण्टेन रिसोर्ट र बन्दीपुर बजार घरमा खाना तथा आवासमा ७ प्रतिशत छुट, सामाखुशीस्थित स्माइल ३६० डेन्टल क्लिनिकमा दन्त सेवामा २० प्रतिशत छुट, र ललितपुरको टुटेपानीमा रहेको लन्जेभिटी हेल्थ होममा अकुपञ्चर, पञ्चकर्म, प्याथोलोजी र चिकित्सक परामर्श सेवामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ । बैंकले यो सहकार्यबाट आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा सुलभ र किफायती बनाउने विश्वास व्यक्त गरेको छ । साथै, बैंकले हालै आफ्ना क्रेडिट कार्ड वाहकका लागि नयाँ टुर प्याकेज योजना सुरु गरेको छ, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत खरिद गरिएका टुर प्याकेजको मूल्य बराबरको रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार यस्ता सहकार्य र योजना विस्तारले ग्राहक सन्तुष्टि र डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्रीको आश्वासनपछि सेबोनका कर्मचारीहरू काममा फर्किए

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यविधिमा सहमति प्रदान गर्ने र अन्य मागमा प्रतिवद्धता जनाएपछि कर्मचारीहरू काममा फर्किएका छन् । डेढ महिनादेखि आन्दोलनरत कर्मचारीहरूलाई शनिबार अर्थमन्त्रालयमा बोलाएर कर्मचारी कल्याण कोष कार्यविधि र सुरक्षण कोषमा सहमति प्रदान गर्ने प्रतिवद्धता जनाएपछि कर्मचारीहरू आइतबारदेखि काममा फर्किएका हुन् । गत असोज २ गते अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । कोष खारेज गर्ने मन्त्रालयको निर्देशन विरुद्ध कर्मचारीहरू डेढ महिनादेखि काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।  एक हप्ताभित्र धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषमा सहमति प्रदान गर्ने र कर्मचारीहरूले खाइ पाई आएको सेवा सुविधामा कटौती नहुने अर्थमन्त्री खनालको आश्वासनपछि कर्मचारीहरू काममा फर्किएको धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष राजकुमार पण्डितले जानकारी दिए । ‘अर्थमन्त्रीज्यूसँग हिजो भेट भएको हो । समय दिनुहोस्, सहजीकरण गर्छाैं, तपाईहरुले खाइ पाई आएको सेवा सुविधामा १ पैसा पनि नोक्सान हुँदैन । कोषहरूमा सहमति प्रदान गर्छाै भन्नु भएको छ,’ उनले भने ।  साथै, कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषलाई सहमति प्रदान गर्न अर्थमन्त्री खनालले सहसचिव द्वय उत्तर खत्री र महेश आचार्यलाई निर्देशन समेत दिएको पण्डितको दाबी छ ।  ‘उहाँ (सहसचिव खत्री र आचार्य) हरूले हामीलाई आज बोलाउनु भएको थियो । महेश सर काम विशेषले आउनु भएन । उत्तर सरले मन्त्रीज्यूले भनेअनुसार समयावधिभित्रै सहमति प्रदान गर्छाैं भन्नु भएको छ । हामीले एक हप्ताको समय दिएका छौं,’ पण्डितले भने । साथै, सञ्चालक विनोद कुमार भट्टराईको संयोजकत्वमा आनन्दराज शर्मा वाग्ले र कर्मचारीका तर्फबाट २ जना सदस्य रहने गरी समिति गठन गरेको थियो । गत असोज २६ गते बसेको धितोपत्र बोर्ड बैठकले अध्ययन समिति गठन गरेको भएपनि कर्मचारीहरू समितिमा बस्न तयार भएका थिएनन् । तर, अर्थमन्त्री खनालको आश्वासनपछि भने कर्मचारीहरूको तर्फबाट २ जना प्रतिनिधि सदस्यका रुपमा रहने छन् ।  अब समितिले एउटा प्रतिवेदन तयार पारेर बोर्डमा पेस गर्नेछ । समितिले तयार पार्ने प्रतिवेदनमा अर्थमन्त्रालयबाट सहमति लिने विषय उल्लेख गरिनेछ । अबको एक हप्ताभित्र कार्यविधिमा अर्थमन्त्रालयले सहमति प्रदान गरेन भने फेरि आन्दोलनमा फर्किने कर्मचारीहरूले चेतावनी दिएका छन् ।  अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । साथै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने र कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नु पूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रालयको राजस्व सचिवस्तरीय निर्णय गरेर सेबोनलाई पत्राचार गरेको थियो । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने,’ अर्थमन्त्रालयको गत भदौ ३१ गते राजस्व सचिव स्तरीय निर्णयमा भनिएको थियो ।

काठमाडौं महानगरमा फोहोर वस्तु बालेमा १० हजार जरिवाना लाग्ने

काठमाडौं । काठमाडौंं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।  जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने वस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।’  वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ ।  ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा वस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनिन्, ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’  यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।  

एमएडब्लू वृद्धि १४० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशनसहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतीय सवारीसाधन (ईभी) को विकासलाई तीव्र बनाउँदै १३९ भन्दा बढी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी सीसीएसटु फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ । जसले ईभीधनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउने छ । चार्जिङ नेटवर्कले देशका प्रमुख सहरी केन्द्र, क्षेत्रीय सहहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको कम्पनीले जनाएको छ । चार्जिङ स्टेशनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएस‍टु चार्जरहरू छन् । यी स्टेसनहरू पूर्व-पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्रजस्ता स्थानमा राखिएका छन्, जसले चाैबीसै घण्टा र सातै दिन पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्। ग्राहकहरूले एमएडब्ल्यू स्पिड चार्जर एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेशन सजिलै पत्ता लगाउन सक्छन् । एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदीले देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरूमार्फत नेपालको ईभी विकासमा योगदान दिन पाउँदा खुसी व्यक्त गरे ।  

प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न भएको छ । बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) सन्तोष प्रसाईंले  प्रोभियन्स क्लब हासिल गरेका अभिकर्ताहरूलाई बधाई दिए ।  साथै बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदानसमेत गरिएको थियो ।