सेयर घट्दा पनि बढ्यो कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको थियो । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोको भएको छ । युनियनको २३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड ३१ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोको १० प्रतिशत र उपकार लघुवित्तको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशतले बढेको छ । अन्य समूह १.२० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।
केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान आयात र बिक्री गर्न अदालतले रोक्यो
काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । 'नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु,' अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयसँगै, अदालतको अघिल्लो आदेश उल्लङ्घन गरी नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा परेको छ । गत २०८२ साउन १५ गते पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर उक्त आदेशलाई बेवास्ता गर्दै केवाइसी गाडीको नाम फेरेर ‘नियोसियारस्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो । अदालतको आदेश छलेर गरिएको यो कदमले व्यवसायिक जगतमा ठूलो विवाद खडा गरेको थियो । यो विवादमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूद्वारा नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिएको खुलासा भएको थियो । अचम्मको कुरा के भने, दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेका छन्, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै उही मोडेलका गाडी नयाँ नाममा भित्र्याउने प्रयास गरेका थिए । भन्सार विभागका कर्मचारीहरूले समेत यस विषयमा बेवास्ता गरेको आरोप लाग्दै आएको थियो । यसरी कानुनी आदेशको उल्लङ्घन गरी गरिएको आयातले गाडी खरिदकर्ताहरू भविष्यमा समस्या र कानुनी जोखिममा पर्ने समेत अवस्था देखिएको थियो । केवाइसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको थियो । सीजी मोटर्सले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै सार्वजनिक यातायातमा स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो । तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक विक्रेता अधिकार कब्जा गर्न विभिन्न खेल र विवाद उत्पन्न भएका थिए । केवाइसीको उत्पादक कम्पनी चोंगकुइंग चाइना ले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ । नेपाल उद्योग परिसंघका एक पदाधिकारीका अनुसार, 'अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।' अदालतको ताजा आदेशपछि नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास तत्कालै रोकिएको छ ।
चौधरी ग्रुपले नवलपरासीमा स्न्याक्स उद्योग स्थापना गर्दै, ५० करोडको लगानी
काठमाडौं । देशमा राजनीतिक अन्यौल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपीरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्रयाएको छ । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो । बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिती थियो । हालैको जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो । उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका वावजुद सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमि नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए । उक्त घटनाको करिव डेढ महिना वितिरहदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्रयाएको हो । बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् । यस प्लान्टमा पहिलो चरणमा करिव ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी श्रृजना हुनेछ । शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, 'नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ । यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिवद्धतालाई व्यवहारमा पुनः पुष्टि गर्दछ ।' निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रवन्ध निर्देशक चौधरीले व्यक्त गरे । उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू श्रृजना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पुर्याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे । उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ । तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् ।' अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।
प्रधानमन्त्री कार्कीको आह्वानमा आज राजनीतिक दल र जेनजी समूहका प्रतिनिधि सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पहिलोपटक त्रिपक्षीय छलफल हुने भएको छ । यसमा सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिहरूको सहभागिता रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित हुने छन् । राजनीतिक दलबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत बैठकमा सहभागी हुनेछन् । नेकपा एमालेका प्रवक्ता राजेन्द्र गौतमका अनुसार महासचिव शकंर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको नेतृत्व गर्दै वार्तामा सहभागीता जनाउने छन् । नेकपा माओवादी केन्द्र बाट वर्षमान पुन र माधव सापकोटा छलफलमा सहभागी हुने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुने रहने छ । जेनजी समूहबाट इण्डिजिनिस जेनजी कलेक्टिभ, हाउ टु देश विकास, र जेनजी मुभमेन्ट एलाइन्सका १४ जना प्रतिनिधि सहभागी हुनेछन् । छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चरणबद्ध रूपमा सबै सरोकारवाला पक्षहरूसँग वार्ता गर्दै आएको छ । यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री कार्कीले सरकार र राजनीतिक दलबीच छलफल गरिसकेकी थिइन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी समूहसँग पनि छलफल भइसकेको छ ।
अधिवक्ता भट्टराईको भावुक निवेदन : अदालतले दुई वचन देओस्, संविधान नटुटोस, देश नडगमगाओस्
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा बुधबार वरिष्ठ अधिवक्ता टिकराम भट्टराईले संविधान र लोकतन्त्रको रक्षा गर्न अदालत समक्ष भावनात्मक तर दृढ माग राखेका छन् । संवैधानिक इजलासमा बहस गर्दै उनले संविधानमा थप क्षति नहोस् भन्ने उद्देश्यले दुईवटा स्पेसिफिक अन्तरिम आदेश जारी गर्न आग्रह गरेका छन् । उनका अनुसार अदालतले अब दुई कुरा सुनिश्चित गर्न जरुरी छ । पहिलो, संविधान विपरीतका कुनै पनि कामकारबाही नगर्नू, नगराउनू भन्ने आदेश दिन भट्टराईले बेन्च समक्ष आग्रह गरेका छन् । त्यस्तै, अन्तरिम सरकारले दिर्घकालीन असर पार्ने कुनै पनि निर्णय वा गतिविधि नगर्नू, नगराउनू भन्ने आदेश आजको आवश्यकतामा भट्टराईले अदालत समक्ष माग गरेका छन् । भट्टराईले अदालतलाई सम्बोधन गर्दै भने, 'बुधबार अदालत मौन रह्यो भने, संविधानको मर्ममा चोट पुग्नेछ । अदालत संविधानको अभिभावक हो, त्यसैले यसले तुरुन्तै रोकथामका कदम चाल्नुपर्छ ।'
गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ
काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा भएको विद्युत ट्रान्सफर्मर चोरी प्रकरणमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका सहोदर दाइ विष्णु पोखरेल पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणमा करारका कर्मचारी समेत रहेका विष्णु हाल जिल्ला प्रहरी कार्यालय, गुल्मीको हिरासतमा रहेका छन् । धुर्कोट गाउँपालिकाबाट केही समयको अन्तरालमा तीनवटा ट्रान्सफर्मर हराएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूका अनुसार खोजीका क्रममा ती ट्रान्सफर्मर स्थानीय कबाडी व्यवसायीहरूबाट बरामद भएका थिए । प्रहरीले अनुसन्धानका क्रममा तीन जना भारतीय कबाडी व्यवसायीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूले ट्रान्सफर्मर विष्णु पोखरेलले बेचेको बताएका थिए । सोही आधारमा पोखरेललाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकहरू बिकेस, पवन र अनिल कुमार रहेको जिल्ला प्रहरीको मुद्दा शाखाले जानकारी दिएको छ । विष्णु भुसाल र मधु नेपालीलाई पनि प्रहरीले पक्रिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सारुले जानकारी दिए ।
नेपाल र भारतको संयुक्त लगानीमा दुई नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने
नयाँ दिल्ली । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भि) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ । कार्यक्रममा मन्त्री घिसिङले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्धिपक्षीय एवम् क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरे । उनले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्टिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए । भारतीय विद्युतमन्त्री खट्ठरले थप दुईवटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल—भारतबीचको विद्युत विनिमयलाई सारभूत रुपमा थप सुदृढ हुनुकासाथै क्षेत्री ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्नेहुँदा यसले दुवै देशको आर्थिक वृद्धिमा योगदार पुर्याउने उल्लेख गरे । मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरुमा स्वपूँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । कार्यक्रममा मन्त्री घिसिङले दुईवटा थप अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताए । दुईवटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भूभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ । दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ । लम्की बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भूभागमा निर्माण हुनेछ । नेपाल भारत संयुक्त प्राविधिक टोलीले सन् २०१९मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार इनरुवा पूर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ (भारु) लाग्ने अनुमान गरिएको छ । त्यस्तै लम्की बरेली प्रसारण लाइनको नेपालमा प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमश २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ । नेपाल र भारतबीचको विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन संयोजन एवम् सञ्चालन संयोजन सम्बन्धी सम्झौताको प्रावधनबमोजिम दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ फेब्रुवरी २०२५मा भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले प्रसारण लाइन निर्माण तथा सञ्चालन र लगानी मोडालिटीमा सहमति गरेको थियो । त्यसपछि प्राधिकरण र बावर ग्रिडबीच विभिन्न चरणमा भएका छलफलपछि २२ अप्रिल २०२५मा प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी संस्थापना गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । दुवै लाइनको निर्माण सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल र भारतबीच व्यापारका लागि हाल ४०० केभीको ढल्केबर–मुजफ्फपुर पहिलो क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा छ । बुटवल-गोखरपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । नेपालको चमेलियादेखि भारतको उत्तराखण्डस्थित जैलिजिवीसम्म २२० केभी प्रसारण लाइन निर्माण गर्न दुई देशबीच सहमति जुटिसकेको छ । त्यस्तै, भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यसँग जोडिएका १३२, ३३ र ११ केभीका प्रसारण लाइन पनि रहेका छन् । प्राधिकरणले हाल ४०० र १३२ केभी प्रसारण लाइन संरचना प्रयोग गरी भारत एवम् बंगलादेशतर्फ दैनिक रुपमा एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको छ । मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो । विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।