विकासन्युज

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

झापा । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । बुधबार प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य बुधबार एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमनका दरले खरिदबिक्री भइरहेको उनले जानकारी दिए । यस वर्ष अलैँचीको भाउ मंगलबार सबैभन्दा उच्चबिन्दुमा पुगेको थियो । उनका अनुसार मङ्गलबार जेजे अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा बुधबार प्रतिमन दुई हजार रुपैयाँका दरले मूल्यमा गिरावट आएको छ । 'अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो', उनले भने, 'अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ ।'  अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् । अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकरभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।  चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । रासस  

प्रतिनिधि सभा विघटनमाथि सुनुवाइ सुरू, सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि बहस प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूमा सर्वोच्च अदालतले आजदेखि औपचारिक सुनुवाइ सुरू गरेको छ । अदालतको एनेक्स भवनमा विशेष तयारीसहित संवैधानिक इजलास गठन गरी सुनुवाइ अघि बढाइएको हो । यस विषयमा दायर भएका १६ वटा रिटहरूलाई एउटै मुद्दाका रूपमा संयुक्त सुनुवाइमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ । संविधानको गम्भीर व्याख्या–व्यवहारसँग जोडिएको यो मुद्दा हालको राजनीतिक दिशालाई नै प्रभावित गर्नसक्ने भएकाले देशको ध्यान सर्वोच्चमा केन्द्रित भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । रिट निवेदक पक्षबाट आजको दिन अधिवक्ता प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका छन् । प्रारम्भिक बहसपछि सरकारी पक्ष र अन्य रिट निवेदकका तर्फबाट पनि क्रमशः बहस चल्नेछ । यो मुद्दाको फैसलाले आगामी राजनीतिक स्थायित्व र सत्ता–संरचनामा निर्णायक प्रभाव पार्ने अनुमान विधि विज्ञहरूले गरेका छन् । 

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौं । वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।     उनले भने, 'एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ । अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ । विभाग बाहिरबाट आवेदन दिनेको हकमा समस्या भइरहेको हो ।'      त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको विभागले जनाएको छ । एफपिआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेका जनाउँदै सूचना अधिकारी ढकालले केही दिनमा समस्या समाधान हुने बताए ।      'वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’ को समयसीमा सकिएर समस्या देखिएको थियो । मङ्गलबार सर्भर बन्द हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू पनि मर्कामा परेका थिए । यो समस्या भने सोहीदिन समाधान भएको छ', उनले भने । रासस

एनएमएबि बैंकको सेवा शुक्रबार ८ बजेदेखि शनिबार ४ बजेसम्म अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कार्ड सिस्टम मर्मत सम्भार गर्नुपर्ने भएकाले कार्ड सेवा अवरुद्ध हुने भएको हो । बैंकले प्रयोग गरिरहेको कार्ड सिस्टमको मेन्टेनेन्स (मर्मत सम्भार) सम्बन्धी कार्य गर्नका लागि कात्तिक १४ गते शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।  उक्त अवधिमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, पीओएस तथा ईकमर्स सेवाहरू अवरुद्ध हुने बैंकले जनाएको छ । यस अवधिमा मोबाइल बैंकिङ जस्ता वैकल्पिक भुक्तानी विधिहरू प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।  

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँ बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए । 'वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।' जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा २६ अर्ब ५८ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन् । जबकि गत आवको तीन महिनाको सोही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १७ अर्ब ७५ करोड रुपैयाँ बढीले निर्यात भएको हो ।  

सयपत्री हाइड्रोले चुक्ता गर्यो बैंकको ५० प्रतिशत ऋण, सेयर धितो फुकुवाका लागि अघि बढ्यो प्रक्रिया

काठमाडौं । सयपत्री हाइड्रोपावरले बैंकको ५० प्रतिशत ऋण चुक्ता गरेको छ । दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले बैंकबाट लिएको सहवित्तीयकरण कर्जाको ५० प्रतिशत भन्दा बढी रकम भुक्तानी भइसकेको सञ्चालक गोपाल प्रसाद निउरेले जानकारी दिए । साथै, ऋण कर्जाको ५० प्रतिशत रकम भुक्तानी भइसकेको हुँदा सह-वित्तीयकरण बैंकहरूमा धितो बन्धक रहेको सेयरधनीहरू र पदाधिकारीहरुको ५० प्रतिशत सेयर फुकुवा गर्ने प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण ऋण कर्जा लिँदा नेपाल बैंक र ग्लोबल आइएमई बैंकमा सबै सेयरधनी र पदाधिकारिहरुको सेयर धितो राखिएको थियो । बन्धक राखिएको सेयर धितो फुकुवाका लागि सह-वित्तीयकरण अगुवा बैंक नेपाल बैंकलाई अनुरोध गरिने उनको भनाइ छ ।  साथै, कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले बन्धक रहेको सेयर धितो फुकुवाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न लेखा अधिकृत कृष्ण चालिसेलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन  गर्ने निर्णय गरिएको सञ्चालक निउरेले जानकारी दिए ।  ५० जना भन्दा बढी संस्थापक सेयरधनी रहेको कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि विसं २१०५ जेठ १ गतेसम्म बाँकी छ । जलविद्युत आयोजनाको कुल लागत ५३ करोड ४५ लाख ८ हजार रुपैयाँ थियो भने उत्पादन क्षमता २.५ मेगावाट रहेको छ । दरमखोला आयोजनाको सम्पूर्ण संरचना बाग्लुङको ताराखोला गाउँंपालिका-२ र ३ मा रहेको छ । 

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ बैशाख ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।  यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

सुनको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौं । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार रुपैयाँ घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । हिजो मंगलबार प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार पुनः तोलामा सात सय घटेर दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा किनबेच भएको चाँदी आज बढेर दुई हजार ९६५ रुपैयाँ पुगेको हो । अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।